काठमाडौँ, २६ भदौ : जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये हालसम्म ९७ नाल हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ ।
यस अवधिमा राजधानीको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका चार जना कैदीबन्दी तथा डोटी सिलगढीस्थित बालसुधार गृहबाट भागेका तीन जना बालबन्दीलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
धादिङको गजुरी कारागारबाट भागेका ३९ जना कैदी र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीलाई पनि सेनाले नियन्त्रणमा छ ।
बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिइएको र त्यसक्रममा एक जना कैदी घाइते भएको पनि सेनाले जानकारी दिएको छ ।
सेनाले काभ्रेपलाञ्चोकको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको आठ वटा सकेट बम सुरक्षित साथ डिस्पोज गरेको जनाएको छ ।
ललितपुरको भैँसेपाटीका स्थानीयले तोडफोडमा परेको त्यहाँको प्रहरी चौकी सरसफइ गरी प्रहरीलाई बस्नका लागि आमन्त्रण गरेको जानकारी दिइएको छ ।---
प्रतिकृया दिनुहोस