देवदह (रुपन्देही), २६ भदौ : रुपन्देहीमा आज राति १० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले बताउनुभयो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा २६ (क) बमोजिम आदेश जारी गरिएको उहाँले जानकारी दिनुभयो ।
कर्फ्यु अवधिभर आदेशको उल्लंघन गरी कसैले आवातजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानुनअनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सृर्जना भइ शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी कर्फ्यु आदेश जारी गरिएको प्रजिअ डा पाण्डेले जानकारी दिनुभयो ।
---
प्रतिकृया दिनुहोस