काठमाडौँ, २७ भदौ : पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राख्नुभएको छ । सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रच्नुभएकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी प्रमुख बन्न सफल हुनुभएको हो ।
जेनजी समूहको आन्दोलनको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाङ्क्षाबमोजिम राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो ।
प्रधानमन्त्री कार्कीको जन्म विसं २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उहाँले महेन्द्र मोरङ कलेज विराटनगरबाट विसं २०२८ बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गर्नुभएको छ ।
विसं २०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी अधिवक्ताका रूपमा उहाँले विसं २०३५ चैत्र १६ गतेदेखि कानुन व्यवसाय सुरु गर्नुभएको थियो । उहाँले विसं २०४२ देखि तीन वर्ष महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गर्नुभयो ।
विसं २०४५ देखि २०४७ सालसम्म उहाँले कोशी अञ्चल बारको अध्यक्ष तथा विसं २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बन्नुभयो । विसं २०६१ पुस ५ गते उहाँले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, २०६५ माघ ९ गते उहाँ सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त हुनुभयो । विसं २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्नुभयो ।
संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्याण्डलगायत देशको भ्रमण गरिसक्नुभएकी उहाँ नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा निपुण हुनुहुन्छ । निडर स्वभाव र सरल जीवनशैली उहाँको पहिचान हो । उहाँले प्रधानन्यायाधीशका रूपमा १४ महिना जिम्मेवारी सम्हाल्नुभएको थियो ।
–––
प्रतिकृया दिनुहोस