मुस्ताङ, १ असोज : जोमसोम–कोरला राजमार्ग सडकअन्तर्गत उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । चार्जिङ स्टेसनको आज लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले शुभारम्भ गर्नुभयो ।
अध्यक्ष विष्टले पछिल्लो चार्जिङ स्टेसन सञ्चालनमा आएपछि उपल्लो मुस्ताङ र कोरलानाकासम्म पुग्ने विद्युतीय सवारीसाधनका लागि ठूलो सहयोग मिलेको बताउनुभयो । जोमसोमदेखि माथिल्लो क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन नहुँदा कोरलासम्म जाने यात्रुले जोमसोममै विद्युतीय सवारी छाडेर जानुपर्ने अवस्था थियो ।
चार्जिङ स्टेसन ओमडा एण्ड जेको नेपाल कम्पनीले सञ्चालनमा ल्याएको हो । उक्त कम्पनीका प्राविधिक कृष्ण पोखरेलले चराङमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी क्षमताको प्रसारण लाइन नभएकाले तत्कालका लागि सामान्य चार्जिङ स्टेसन स्थापना गरिएको बताउनुभयो ।
स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफलपछि चार्जिङ स्टेसन स्थापना गरिएको पोखरेलले बताउनुभयो । चार्जिङ स्टेसन स्थापनाले स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै वातावरणमा पनि सहयोग पुग्ने उहाँको विश्वास छ ।
---
प्रतिकृया दिनुहोस