ढोरपाटन (बागलुङ), ८ असोज: दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् ।
जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरु दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरि रहेका छन् । बागलुङको निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् ।
गोठालाहरु ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडालगायत क्षेत्रमा पुग्ने गर्छन् । ती क्षेत्रहरु समुन्द्री सतहदेखि तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बेसी क्षेत्रमा गोठालाको चहलपहल बढेको छ । पश्चिम बागलुङका धेरै किसान पशुपालनमा आबद्ध रहेका छन् । चार महिनापछि बेसी झरेका गोठालालाई ठूलो पर्व नै आएको छ ।
महिनौँ परिवारसँग टाढिएका उनीहरु अब आगामी जेठ महिनासम्मसँगै हुने छन् । एकै परिवारले दुई सयदेखि एक हजार बढीसम्म भेडा पाल्दै आएका छन् । गोठालाहरु हप्तौँको यात्रा गरेर बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकी क्षेत्रमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखि नै लेक चढ्न थाल्छन् ।
यतिबेला ढोरपाटन उपत्यका, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायत क्षेत्रमा भेडाको ठूलो बथान भेटिन्छन् । यो समय भेडाबाख्रा बेच्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् । बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्यमुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जाने गर्छन् । दसैँका लागि भेडा च्याङ्ग्रा बेचेर खर्च जोहो गर्छन् ।
निसीखोला गाउँपालिका–६ का कुमानसिंह विश्वकर्माले तीन महिना २३ दिनमा लेकबाट फर्किएको बताउनुभयो । आफ्ना दुई सय बढी भेडा रहेको सुनाउँदै छिटो झर्दा घाँस पु¥याउन समस्या हुने गरेको उहाँको भनाइ छ । चार महिनालाई पुग्ने खर्च पहिले नै लिएर लेक उक्लिएको विश्वकर्माले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रा बाउबाजेले यहीँ पेशा गरे, हामीहरुले यसलाई निरन्तरता दिँदै आयौँ, तर हाम्रो छोरानातीले भेडा गोठाला बन्न चाहेनन्, उनीहरुले पढ्ने लेख्ने भए, विदेश जाने भए, जेठ असारमा लेक उक्लिने र असोजमा बेसी झर्ने त हाम्रो लागि संस्कृति नै भयो, यो साल मात्रै होइन हामीहरु हरेक वर्ष वर्खामा लेक उक्लिने र हिउँद सुरु भयो भने बेसी झर्ने गर्छौँ, घर परिवारसँग महिनौँ दिन टाढा भएर बस्न त मन हुँदैन तर के गर्ने गोठालाको बाध्यता यस्तै छ ।”
वर्खाभरी पोषिलो घाँस खाएर सप्रिएका खसी, बोका र भेडाको मूल्यसमेत राम्रो पर्ने हुँदा एउटै भेडापालक किसानले वार्षिक लाखौँ आम्दानी गर्ने गरेका छन् । बेसी झरिसकेका गोठालालाई बजारमा कुन–कुन खसी, बोका र भेडा लैजाने भनेर छनोट गर्न थालेका छन् । गोठालाहरु भेडा बेच्नका लागि केही बुर्तिवाङ, खर्बाङ, गुल्मीको रिडी, पाल्पा हुँदै बुटवलसम्म पुग्छ भने कोही गलकोट, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने तयारीमा छन् । ढोरपाटन नगरपालिका–९ का तुलबहादुर पुनले लेकमा विस्तारै चिसो बढ्न थालेपछि बेसी झरेको बताउनुभयो ।
आफू असार ३ गते बुकीपाटन उक्लिएको सुनाउँदै चाडबाड मान्नका लागि हरके वर्ष घटस्थापनाका दिन बेसी झर्ने गरेको उहाँको भनाइ छ । “म यसरी लेकबेसी गरेर वस्तुभाउ पाल्न थालेको ४०÷४२ वर्ष भयो, यो अवधिमा कात्तिकसम्म लेकमा बसेको छैन, लेकमा बस्दा धेरै समस्या हुन्छ, अब त विस्तारै जाडो बढ्न थाल्यो, भेडाबाख्रा मर्छन्, दसैँ अल्ली पछाडि हुँदा असोज २०÷२२ तिर झथ्र्यो अहिले त अलि छिटै प¥यो”, उहाँले भन्नुभयो, “असारमा गएपछि म तीज बेला एकपटक घरमा झरेको थिएँ, पटक–पटक आउजाउ गर्ने गाह्रो हुन्छ, नजिक छैन लेक त्यहीँ भएर खर्च पर्च एकै पटक लिएर जाने र दसैँ मनाउन आउने गर्छौँ ।”
लेकबाट वस्तुभाउ बेसी झरेपछि तल्लो क्षेत्रमा चहलपहल बढेको छ । जसले दसैँको माहोल बढाएको छ । निसीखोला–६ का कुलबहादुर घर्तीले डेढ सय भेडा बेसी झारी सकेको सुनाउँदै ५५ वटा गाई अझै लेकमा रहेको बताउनुभयो । गाई लिनका लागि एक जना आफन्तलाई लेक पठाएको उहाँको भनाइ छ । गाई १३ गतेसम्म बेसी झारी सक्ने घर्तीले सुनाउनुभयो ।
प्रतिकृया दिनुहोस