• सोमबार-असोज-१३-२०८२

बाढीपहिरोका कारण देशका विभिन्न छ ठाउँमा राजमार्ग अवरुद्ध

 

काठमाडौँ, १३ असोज : अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न छ ठाउँमा आज पनि राजमार्ग बन्द रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका छ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिनुभयो । 

 

उहाँका अनुसार अहिले बिहान ९ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाएँपालिका-४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका-३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको उहाँले बताउनुभयो । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ । 

 

रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल-चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन । आज रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

 

सिन्धुपाल्चोकको सुनकोशी गाउँपािलका-७ एककिलोमा आइतबारदेखि परेको वर्षसँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ बाह्रकिलोमा आज खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । 

 

प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार परिोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालनमा ल्याइएको छ ।
---

 

प्रतिकृया दिनुहोस