रामेछाप । रामेछापको ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवीमा बडादशैँको नौरथा लागेयता फूलपातीको दिन सबैभन्दा बढी दर्शनार्थीको भीड लागेको छ ।
फूलपातीको दिन खाँडादेवी मन्दिरमा पाँच हजार भन्दा बढीले दर्शन गरेको खाँडादेवी विकास कोषका कोषाध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिए । मन्दिरमा पञ्चबली र बलि पूजा पनि ठुलो सङ्ख्यामा भएको छ ।
राँगो, बोको, हाँस, कुखुरा, परेवासहितको ३० भन्दा बढी पञ्चवली फूलपातीको दिन मन्दिरमा चढाइएको बुढाथोकीले बताए । त्यस्तै ६ सय बढी बोका, त्यतिकै सङ्ख्यामा कुखुराको भाले, हाँस लगायतको बली मन्दिरमा चढाइएको छ ।
मन्दिरमा ठुलो सङ्ख्यामा दर्शनार्थीहरु आएपछि दर्शन र बलि पूजाको लागि स्वयंसेवक खटाएर व्यवस्थापन गरिएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिए ।
मन्दिरमा दर्शन गर्न र भाकल पूजा लिएर आउने भक्तजनलाई लाइनमा राखेर सेवा दिएको उनले बताए । ‘लाइनमा बस्नको लागि स्वयंसेवक परिचालन गरेका छौँ, सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ, स्वास्थ्य समस्या आएमा उपचारको लागि स्वास्थ्यको डेस्क तयारी अवस्थामा राखेका छौँ’, उनले भने ।
मन्दिरमा महाअष्टमी र महानवमीमा अझ बढी दर्शनार्थी आउने भएकोले त्यसको लागि आवश्यक तयारी गरिएको उनले बताए । महानवमीको दिन मन्दिरमा सरकारी पूजा हुने भएकोले सो दिन गुठियारहरूका साथै थप स्थानीय पनि जम्मा हुने गर्दछन् ।
मन्दिरमा रामेछाप, सिन्धुली, दोलखा, ओखलढुङ्गा, सर्लाही, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ तथा तराइका विभिन्न जिल्ला र पूर्वको भोजपुरदेखि भारतसम्मका मानिसहरू दर्शनको लागि आउने गर्दछन् ।
यो मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यसले यसको पुरातात्विक महत्त्व झल्काउँछ । त्यसैले पुरातत्त्व विभाग मार्फत पुरातत्त्व नखलबलिने गरी मन्दिरको पुनर्निर्माण तथा मन्दिर परिसरमा संरचना निर्माणको काम भएको छ ।
नेपाल एकीकरण गर्ने क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र सो लडाइँ जित्न खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ ।
युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई बोका पाठी, गणेशलाई हाँस र कुखुराको पोथी बलि दिनु भनी आदेश दिएका र बडादशैँमा सो बलि दिने गरिएको बताइन्छ ।
दरबारबाट दिने पूजा खर्च विसं २००९ बाट दरबारले पठाउन छाडेपछि पुजारीहरूले आफैँले खर्च उठाएर सो पूजा गर्दै आएका थिए । अहिले खाँडादेवी विकास कोषले महानवमी र चैते दशैँमा सरकारी पूजा गर्दै आएको छ ।
२०७० सालमा खाँडादेवी विकास कोष स्थापना भएपछि मन्दिरलाई व्यवस्थित गर्न, नियमित पूजा लगायतका काम कोषले गर्दै आएको छ ।
शिवपुराणको हिमवत खण्डमा उल्लेख भए अनुसार रोशमति (रोशी खोला) र (सुवर्ण कौशिका) सुनकोशी नदीको सङ्गम कुशेश्वरमा देवीले वृतासुरको वध गरी दुर्गा नदीमा खड्ग पखालेर खाँडादेवीमा खड्ग गाडी कालिञ्चोकमा अन्तध्र्यान भएको उल्लेख छ । देवीले गाडेको भनिएको खड्ग अहिले पनि खाँडोदेवीमा छ ।
प्रतिकृया दिनुहोस