• सोमबार-असोज-२०-२०८२

बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग


रामेछाप । अविरल वर्षाका कारण काठमाडौं जाने बिपी राजमार्गमा क्षति पुगेर सम्पूर्ण यातायात अवरुद्ध भएपछि रामेछापमा नियमित हवाइसेवा सञ्चालन गर्न माग गरिएको छ ।


जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको आइतबार बसेको बैठकले बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएकाले तत्काल वैकल्पिक व्यवस्था स्वरूप काठमाडौं–मन्थली हवाई उडान दैनिक सञ्चालन गर्न गृह मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विभिन्न एयरलाइन्स कम्पनीहरूलाई अनुरोध गर्ने निर्णय गरेको हो । 


प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले हवाई सेवा सञ्चालन भएमा रामेछापवासी तथा यात्रुहरूलाई काठमाडौं आउजाउमा सहज हुने निष्कर्ष निकालेको छ । अहिले राजमार्ग अवरुद्ध भएपछि रामेछापबाट काठमाडौं जानका लागि दोलखाको चरिकोट हुँदै लामो दूरी पार गर्नुपर्ने बाध्यता बनेको छ ।


बैठकले मन्थली–सिन्धुली जोड्ने खुर्कोट पुलमा निगरानी बढाउन तथा सुरक्षाका दृष्टिले एक पटकमा एक मात्र सवारीसाधन पास हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।


त्यसैगरी, जिल्लाभर लगातार वर्षा भइरहेकाले सर्वसाधारण नागरिकलाई अत्यावश्यक कामबाहेक टाढाको यात्रामा ननिस्कन आग्रह गरिएको छ । विपद् जोखिम बढ्दै गएपछि सडक डिभिजन कार्यालय, स्थानीय तह र पूर्वाधार विकास कार्यालयलाई एक्स्काभेटर, जेसिभी, टिफर र ट्र्याक्टरजस्ता उपकरण तयारी अवस्थामा राख्न पनि निर्णय गरिएको छ ।


बैठकले वर्षासँगै गड्याङगुडुङसहित परिरहेकोले घरबाहिर ननिस्कन र आवश्यक सावधानी अपनाउन पनि नागरिकलाई अनुरोध गरेको छ । विपद्जन्य घटनाबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, विषयगत कार्यालय, राजनीतिक दल, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संघ–संस्था र सञ्चार माध्यमहरूलाई उद्धार, राहत र पुनःस्थापना कार्यमा सक्रिय रहन आह्वान गरिएको छ ।
 

प्रतिकृया दिनुहोस