• सोमबार-असोज-२०-२०८२

बाजुराको धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा राखियो देवीको मुर्ति 


बाजुरा । बाजुराको बडीमालिका नगरपालिका ७ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा देवीको मुर्ति राखिएको छ ।


टाइगर हिलका नामले चिनिने बाजुराको धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा बडीमालिका नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग र स्थानीयको सक्रियतामा आइतबार मुर्ति स्थापना गरिएको हो । 
कालाजग्राको थप पर्यटन,प्रबद्र्धन गर्न तथा दर्शन गर्ने दर्शनार्थीलाई पुजाआजा गर्न सजिलो होस् भन्ने उदेश्यका साथ देवीको मुर्ति स्थापना गरिएको बडीमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । उनका अनुसार वडाको करिब ३ लाख ५० हजार रुपैयाँको लागतमा धनगढीबाट मुर्ति खरिद गरिएको हो ।


ढम्कने पदमार्ग हुँदै कालाजग्रासम्म महत्त्वपूर्ण सन्देश लेख्ने कार्य सम्पन्न पश्चात् देवीको मुर्ति स्थापना गरिएको पाध्यायको भनाइ छ । स्थापना गरिएको मुर्ति न्यूनतम ७५ देखि ८० केजीको रहेको छ ।


धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको कालाजग्रामा बडीमालिका ७ नम्बर वडा तथा बडीमालिका नगरपालिकाको समन्वय, सहकार्य तथा सहयोगमा पदमार्ग,(भ्युटावर)पुर्वाधार निर्माण, कालाजग्रा पर्यटन पर्वद्धन, वातावरण संरक्षण, लगायत विभिन्न जानकारी प्रदान गर्ने महत्त्वपूर्ण सन्देश लेख्ने कार्य गरि पर्यटन प्रबद्र्धनमा टेवा पुर्याईएको अध्यक्ष पाध्यायको भनाइ रहेको छ । 


देवीको पुजा हुने धार्मिक तथा पर्यटकीय क्षेत्र कालाजग्रामा


देवीको मुर्ति स्थापनाले कालाजग्राको थप पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बडीमालिका नगरपालिका ७ ढम्कनेका स्थानीय वसन्त रोकायाले बताए ।मुर्ति स्थापना पश्चात दैनिक पुजाआजामा सहज हुने उनको भनाइ छ । धार्मिक स्थलको रुपमा परिचित कालाजग्राको प्रचार,प्रसार तथा पर्यटन प्रबद्र्धन गर्न आवश्यक रहेको रोकायाले बताएका छन् । 


साथै धार्मिक स्थलको त्यसको संरक्षण गर्न हामी सबैको कर्तव्य भएकोले यस्ता धार्मिक स्थलको पर्यटन,प्रबद्र्धन र  संरक्षणमा जोड दिन आवश्यक रहेको कुरामा उनले बताए   । देवीको रुपमा परिचित धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रा समुद्री सतहबाट करिब ३२०० मिटरको उचाइमा अवस्थित रहेको छ । सदरमुकाम मार्तडीबाट २१ किलोमिटर पूर्वोत्तरतर्फ दुईटा पहाडको बीच भाग सिंहको आकृतिमा देखिन्छ । 


मनमोहक आकृति बोकेको कालाजग्रा हिमालको टुप्पो कालाजग्रा देवीको उत्पत्तिस्थल रहेको विश्वासका आधारमा जिल्लावासीले “कालाजग्रा देवी’’ का नामले श्रद्धा भक्तिपूर्वक पुकार्दै पुजा गर्ने गरेका छन्।हरेक बर्ष जनैपुर्णिमामा स्थानीयले त्यहाँ पुजा गर्ने गर्छन्।कालाजग्रा देवीको पुजा गर्दा घरमा सुख,शान्ती हुने,कुनै अनिष्ट,बाधा,अड्चन नआउँने,मनको मनोकाङ्क्षा पूरा हुने,पुत्र नभएकालाई पुत्र लाभ हुने धार्मिक विश्वास रहि आएको छ ।
 

प्रतिकृया दिनुहोस