• बुधबार-असोज-२२-२०८२

संसदीय निर्वाचन तयारी तीव्र : प्रधानमन्त्री र आयोगबीच सुरक्षा र व्यवस्थापनबारे समन्वय बैठक

 

काठमाडौं, असोज २१। आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको निर्वाचन आयोग, नेपालले जनाएको छ। प्रधानमन्त्री सुशिला कार्कीको कार्यालयमा २०८२ असाेज २१ गते  मंगलबार प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच उच्चस्तरीय बैठक बसेर आगामी निर्वाचनका तयारी, सुरक्षाको अवस्था र व्यवस्थापकीय पक्षबारे विस्तृत छलफल भएको आयोगले जनाएको हो।

बैठकमा प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन राज्यका सबै संयन्त्रहरू परिचालन गर्न निर्देशन दिएकी थिइन्। उनले निर्वाचन प्रक्रिया जनताप्रति उत्तरदायी र पारदर्शी बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै मतदाता सूचि, मतदान स्थल, मतपेटिका ढुवानीदेखि मतगणनासम्मका सबै चरणमा निष्पक्षता कायम गर्न आग्रह गरेकी थिइन्।

 

निर्वाचन आयोगका का.बा. प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगले निर्वाचनका सम्पूर्ण प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले आयोगले मतदाता शिक्षा कार्यक्रम, विशेष मतदान केन्द्रको व्यवस्था र सुरक्षासम्बन्धी योजना तयार पारिसकेको बताए।

 

बैठकमा प्रमुख निर्वाचन आयुक्तले निर्वाचनका क्रममा सम्भावित चुनौती र संवेदनशील क्षेत्रहरूको पहिचान गरि सुरक्षाका लागि गृह मन्त्रालय र सुरक्षा निकायहरूसँग सहकार्य भइरहेकाे जानकारी गराए। आयोगका अनुसार विशेष मतदान केन्द्रहरू, दुर्गम क्षेत्र र संवेदनशील जिल्लाहरूमा सुरक्षा सतर्कता बढाउने तयारी गरिएको छ।

 

प्रधानमन्त्री कार्यालयमा आयोजित उक्त बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृह मन्त्री ओमप्रकाश अर्याल, कानून मन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, गृह, रक्षा, र अर्थ मन्त्रालयका सचिवहरू, प्रमुख सुरक्षा निकायका प्रमुखहरू, निर्वाचन आयोगका सचिव महादेव पन्थ, सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भण्डारी लगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस