काठमाडौँ, २१ असोजः जीवित देवी कुमारीद्वारा औपचारिक रूपमा सर्वसाधारणलाई आजदेखि दर्शन प्रदान भएको छ । कुमारी आर्यताराले बसन्तपुरस्थित कुमारीघरमा सर्वसाधारणलाई दर्शन दिने कार्यसूचीअनुसार दर्शनको व्यवस्था प्रवन्ध गरिएको कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिनुभयो ।
यस वर्षको दसैँ कोजाग्रत पूर्णिमाका दिन सम्पन्न गरिएपछि कुमारी घरमा नित्य पूजा सञ्चालन गरी कुमारीबाट सर्वसाधारणलाई दर्शनको व्यवस्था गरिएको हो । दर्शनका लागि स्वदेशी भक्तजन तथा विदेशी पर्यटक समेतको सहभागिता थियो । कुमारीबाट आशीर्वाद लिने क्रममा भक्तजनको विशेष घुइँचो लागेको थियो ।
करिब एक साता अगाडि कुमारी घोषित आर्यताराले काठमाडौँमा गरिने विभिन्न जात्रा, पर्व, साँस्कृतिक कार्यक्रममा राजकीय भूमिका निर्वाह गर्नुहुनेछ ।
यही असोज १६ गते विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप कुमारीबाट टीका र जमरा सर्वसाधारणलाई कोजाग्रत पूर्णिमासम्म लगाइएको थियो । कुमारीलाई विशिष्ट शक्ति प्राप्त गर्न नवरात्रिको दिन तलेजु भवानीको दर्शन गराइएको थियो । कुमारीलाई तलेजु भवानीको प्रतीकका रूपमा पूजाआजा गरिन्छ ।
कुमारीको दर्शन गर्नाले भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । हिन्दु र बौद्ध अनुयायीले कुमारीलाई साझा संस्कृतिका रूपमा आस्था प्रकट गर्ने गर्दछन् ।
–––
प्रतिकृया दिनुहोस