• शनिबार-मङ्सिर-१७-२०७९

बहुगुणी गिठ्ठा–भ्याकुर

 

जर्मनी पुगेर केही दिनअघि मात्र फर्केका एकजना साथीले बडो जिज्ञासु हुँदै भने, ‘जर्मनीमा त एरिएल याम खाइयो । बडो मीठो र स्वस्थकर रहेछ । नेपालमा पाइन्छ कि पाइँदैन हँ ? पत्ता लगाएर बारीतिर रोप्न पाए हुन्थ्यो’ मलाई अचम्म लागेन । र, हामीकहाँ चेपाङले खाने गिठ्ठा नै एरिएल याम हो भनें ।


उनी एकछिन अकमक्क परे । ‘त्यसो भए किन त चेपाङले खान पाउँदैनन् भनिएको त ?’ साथीको प्रश्न स्वाभाविक थियो । कारण, देशभित्रैका वनस्पति, जडीबुटी कति पौष्टिक छन् भन्नेतर्फ वास्ता नै गरिंदैन । बाहिरका कृषि उपज मात्र राम्रो र गुनिलो हुन्छ भन्ठान्छन् ।


संसारमा ६०० किसिमका गिठ्ठा पाइन्छ । पोषण र औषधीय तत्व पाइने भएकाले पश्चिम अफ्रिका, जापान र बेलायतमा यसको प्रयोग बढी हुने गरेको छ ।


गिठ्ठामा कार्बोहाइड्रेट र रेसादार पदार्थ पर्याप्त पाइन्छ । यसको प्रयोगले कब्जियत र कोलेस्टेरोल कम हुन्छ । भिटामिन बी र फोलिक एसिड पनि प्रदान गर्छ । सन्तान विकलाङ्ग हुन नदिन गर्भवतीलाई पर्याप्त फोलिक एसिड आवश्यक पर्छ । यसका साथै गिठ्ठामा म्याग्नेसियम, पोटासियम, लौहतत्व पनि रहेको हुन्छ ।


हामीकहाँ अक्षय तृतीयामा सातु–सर्बत र योमरी पूर्णिमामा योमरी खाए झैं अफ्रिकामा गिठ्ठा खानकै लागि पर्व मनाइन्छ । गिठ्ठालाई पीठो बनाएर केकमा हालेर वा सूप बनाएर खाने चलन छ । जापानमा गिठ्ठाको नुडल पनि बनाइन्छ । चीनमा गिठ्ठाको रसलाई बाहिरी घाउ, पिलो आदिमा लगाइन्छ । गिठ्ठालाई विभिन्न खानेकुरासंग मिसाएर खाँदा स्वाद र पौष्टिक बढ्न जान्छ । व्यावसायिक रूपमा खेती गरी पीठो, नुडल्स, चिप्स आदि उत्पादन पनि गर्न सकिन्छ ।


नेपालमा भने गिठ्ठालाई हेपिएको छ । यसलाई खेती गरेर लोकप्रिय बनाउन सकियो भने यसले खाद्यसुरक्षामा महत्वपूर्ण स्थान खेल्न सक्छ ।


चेपाङ भाषामा ‘ताउसी’ भनिने अमला पनि ‘भिटामिन सी’ ले युक्त फल हो । तर, अमला बेचेर चाउचाउ र बिस्कुट किन्ने प्रवृत्ति बढेको छ । त्रिफला, च्यावनप्रास आदि औषधिमा अमलाको अहम् भूमिका धेरैलाई थाहै छैन ।

प्रतिकृया दिनुहोस