• शुक्रबार-बैशाख-१४-२०८१

ओलीलाई भेटेपछि प्रचण्ड प्रफुल्ल 

 

काठमाडौं । राष्ट्रियसभामा मनोनित गर्ने १ सिटमा कसलाई पठाउने भन्नेबारे विभिन्न अडकलबाजी भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री युवराज खतिवडा र  नेकपाका प्रचण्डलगायतका नेता उपाध्यक्ष वामदेव गौतमलाई लैजानुपर्ने अडानमा रहेकाले यो पेचिलो बन्ने ठानिएको थियाे ।  अब याे विषय आज २०७७ भदाै १८ गते टुंगिने भएकाे छ । 

 

नेकपा कार्यदलले प्रतिवेदन दिएपछि नजिकिएका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड यही कारण टाढिने आशंका पनि यो बीचमा गरिएका  थिए ।  तर यो विषयलाई समझदारीका आधारमा टुंग्याउन नेकपाका अध्यक्षद्वय सहमत भइसकेको स्रोतले जनाएको छ । 


स्राेतका अनुसार, २०७७ भदाै १७ गते  बुधबार नेकपाका अध्यक्षद्वयबीच सरकारले मनोनित गर्ने राष्ट्रियसभाको रिक्त १ सिटमा कसलाई पठाउने भन्नेबारे छलफल भएको थियो । यसमा धेरै विवाद नगरी सचिवालय बैठकको निर्णयअनुसार गर्न ओली र प्रचण्ड सहमत भएकाे बालुवाटार स्राेतले बतायाे । राष्ट्रियसभाका लागि सम्भव त  अब पार्टीका उपाध्यक्ष  वामदेव गाैतम नै हुनेछन् । 

 

‘ सैद्धान्तिक कुरामा बहस छैन,  हाम्रो लाइन मिलिसकेको छ । त्यसैले प्राविधिक कुरामा अल्झिनु हुँदैन । मिलेर अघि बढ्नुपर्छ,’  ओलीसँगको छलफलका क्रममा प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो । 

 

अध्यक्षद्वयबीच कार्यदलले दिएको प्रतिवेदनबारे सचिवालयमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि लामाे छलफल भएको बताइएको छ । यसमा पनि दुवै अध्यक्ष एकमत भएर अघि बढ्न सहमत भएको बताइन्छ ।  

 

राष्ट्रियसभामा मनोनित गर्ने विषयले नेकपाका अध्यक्षद्वयबीच फेरि दूरी बढ्ने ठानिए पनि ३ घण्टाको बसाइपछि प्रचण्ड प्रफुल्ल भएर निस्किएको बालुवाटार स्रोतले बतायो । 


प्रधानमन्त्रीज्यूसँग ३ घण्टा छलफल गरेर निस्किनुभएका प्रचण्ड निकै प्रफुल्ल हुनुहुन्थ्यो,’ स्रोतले भन्यो । 

प्रतिकृया दिनुहोस