• शुक्रबार-असार-१३-२०८२

नेपालमा बढ्दो साइबर क्राइम र कानून

 

कम्प्युटरसँग सम्बन्धित र त्यससँग सम्बन्धित उपकरणलाई माध्यम बनाएर कानूनले निषेध गरेको क्रियाकलाप गर्ने कामलाई साइवर क्राइम भनिन्छ (केन्द्रीय अनुसन्धान ब्यूरो) । साइवर क्राइम कम्प्युटर, नेटवर्क र सामाजिक सञ्जाल आदिको प्रयोग गरी गरिने आधुनिक र सामाजिक अपराध हो । यसमा प्राकृतिक व्यक्तिदेखि, संगठित संस्था वा समूहसम्म र क्षेत्रीय, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्जाल बनाएर मानिस र समूह सक्रिय भएका छन् । 


कम्प्युटरका विभिन्न माध्यमको प्रयोग, पासवर्ड ह्याक, क्रेडिट कार्डको अवैध प्रयोग, अवैध मुद्रा र जाली नोटको प्रयोग, कपीराइट, यौन सम्बन्धी अपराध, सफ्टवेयरको अनधिकृत प्रयोग र निगरानीदेखि लिएर ठूला–ठूला अपराधसम्म हुने गरेका छन् । 


सामान्य रूपमा जानेर वा नजानेर पनि सामाजिक सञ्जालको प्रयोगबाट हुने दर्जनौ प्रकारका अपराध यसमा पर्दछन् । जसमा जान–अन्जानमा महिला तथा बालबालिकाहरूको अत्याधिक प्रयोग हुँदै आएको देखिन्छ । विश्वको कुनै एउटा कुनाबाट वा कुनै गोप्य स्थानबाट समेत अन्यत्र वा अरू कसैलाई आर्थिक, सामाजिक, साँस्कृतिकलयायत अन्य हानी, क्षति र नोक्सानी गर्न सकिने भएकोले यस अपराधलाई हाल विश्वमा गम्भीर रूपमा लिइन्छ भने नेपालमा समेत यसको गम्भीरतालाई विचार गरी २०६३ सालमा विद्युतीय कारोबार नियन्त्रण सम्बन्धी विशेष ऐन ल्याइ लागू भइरहेको छ । 


विश्व इतिहासमा साइबर क्राइम
विश्व इतिहास हेर्दा फ्रान्समा कपडा बनाउने कारखानाका मालिक जोसेफ मेरी जेक्वार्डले कपडा बुन्नको लागि स्वचालित कम्प्युटरहरू जडान गरेपछि त्यसबाट आफ्ना रोजगारी गुम्ने डरले उक्त उद्योगका कम्प्युटरहरू अवैध तरिकाले ध्वस्त गरिदिएपछि साइवर क्राइमले सन् १८२० मा अपराधको रूप धारण गरेको हो । त्यसपछि विभिन्न औद्यौगिक मुलुकहरूमा यस सम्बन्धी कानूनहरू ल्याउन थालिएको थियो । जर्मनमा सन् १८७० मा प्रोडक्सन कानून लागू गरेको थियो भने अमेरिकालगायतका देशमा विभिन्न कानूनहरू ल्याइएका थिए । साइवर क्राइमका कारण हाल विश्वमा अर्बांै अर्ब डलरको आर्र्थिक क्षति र नोक्सानी हुँदै आएका छन् । 


सन् २०१४ मा अमेरिकी संघीय अनुसन्धान ब्यूरोमा २ लाख ६९ हजार ४२२ यस सम्बन्धी उजुरी दर्ता भएका थिए । सन् २०१८ मा प्रकाशित म्याफियो नामक संस्थाको प्रतिवेदन अनुसार साइवर क्राइमका कारण विश्वमा यो वर्ष मात्र ६०० मिलियन अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी भएको थियो । ‘साइवर टेरोरिज्जम’को नामले समेत लिइने यस अपराधलाई नियन्त्रण गर्न अमेरिकामा एफ.बि. आइ., सि.आइ.ए. जस्ता सरकारी निकायले करोडौं डलर खर्च गर्ने गरेका छन् । भारतमा भारतीय केन्द्रीय जाँच ब्यूरो तथा ‘रअ’ जस्ता संस्थाहरूले ठूलो धनराशी खर्च गर्दै आएका छन् । नेपालमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलगायतका विभिन्न महाशाखा र शाखाहरूले अनुसन्धान कार्य गर्दै आएका छन् ।


नेपालको कानूनी व्यवस्था
नेपालमा लामो समयदेखि यस सम्बन्धी अपराध हुने गरेको भएपनि सन् १९९० पछिका दिनमा सूचना तथा सञ्चारको क्षेत्रमा आएको व्यापक विकास र विस्तारको कारण यससँग सम्बन्धित विभिन्न अपराधहरू बढ्दै आएका छन् । विगतमा मुलुकी ऐन तथा अन्य ऐनका विभिन्न दफा लगाएर कानूनी कारवाही हुँदै आएकोमा २०६३ बाट भने विद्युतीय कारोबार नियन्त्रण सम्बन्धी विशेष ऐन नै ल्याई हाल लागू भइरहेको छ । ऐनको दफा ४४ देखि दफा ५८ सम्म विभिन्न प्रकारका कसूरहरूको उल्लेख गरी सो प्रमाणित भएमा कानून अनुसार ५० हजार देखि ५ लाख सम्म जरिवाना तथा ६ महिना देखि ५ वर्ष सम्मका जेल सजायहरू कसूर अपराधको मात्रा हेरी अदालतले तोक्न सक्ने कानूनी प्रावधान राखिएका छन् । यस सम्बन्धि अपराधमा हाल काठमाडौं जिल्ला अदालतमा मुद्दा गर्न सकिन्छ तर उजुरी भने प्रहरी प्रशासनमा पनि गर्न सकिन्छ ।


 मुलुकी अपराध (संहिता) ऐन, २०७४ तथा मुलुकी देवानी (संहिता) ऐन, २०७४ का विभिन्न दफाहरूमा समेत अरूलाई हानी नोक्सानी गरेको पाइएमा विभिन्न प्रकारका कानूनी सजाय हुने व्यवस्था राखिएका छन् । सामान्य अवस्थामा अनुमति नलिई कसैको तस्बिर खिच्नु, सामाजिक सञ्जालमा फोटो राख्नु, गाली वा वेइज्यती हुने गरी अर्काको प्रतिष्ठामा आँच हुनेगरी गरिने कुनैपनि कार्यलाई कानूनले अपराध मानेको अवस्था छ । त्यसैगरी ‘देश अनुसार भेष’ भने जस्तै मुलुक र समाज अनुसार साइबर क्राइम र महिला तथा बालबालिकालाई हेर्ने विभिन्न कानून र प्रथाहरू हुन्छन् भन्ने कुरामा जानकारी र हेक्का नराख्दा नेपाली युवाहरू विदेशका जेलमा पुगेका घटनाहरू सुन्न र पढ्न पाइन्छ । 


जस्तो साउदी अरब र मुस्लिम देशमा महिलाहरूलाई सामान्य छेडछाड पनि अपराध मानिन्छ । युरोप अमेरिकामा बालबालिकालाई सामान्य थप्पड हान्नु वा हप्काउनु पनि अपराध हुन सक्छ त्यस्तै चीन जस्ता केही मुलुकमा सामाजिक सञ्जालमा केही लेख्नु वा यौजजन्य विषय हेर्नु पनि अपराध मानिने भएकोले यस्ता कुरामा समेत सचेत बन्नुपर्ने देखिन्छ ।


साइबर क्राइम र महिला तथा बालबालिका
विश्वमा साइवर क्राइममा महिला तथा बालबालिकाको प्रयोग व्यापक ढङ्गले भइरहेको छ । जानी–जानी, अज्ञानतावस, भूलबस, प्रलोभनमा परी, डर–धम्की वा अन्य कारणबाट यस सम्बन्धि अपराधमा विभिन्न तरिका र प्रयोजन वा माध्यमबाट महिला तथा बालबालिकाहरूको प्रयोग हुने गरेको पाइन्छ । ‘कानूनको अज्ञानता क्षम्य नहुने’ कानूनको विश्वव्यापी मान्यता भएकोले जसरी अपराध हुन गएपनि कानून अनुसार सजाय भोग्नुपर्ने हुन्छ । विश्वमा बालबालिकाको परिभाषामा  फरक–फरक रहेका छन् । नेपालको हालको संहिता कानून, २०७४ ले १८ वर्ष भन्दा कम उमेरकोलाई नाबालख मानेको भएपनि १० वर्ष भन्दा माथिकोलाई अवस्था र कानूनी व्यवस्था अनुसार विभिन्न खालको सजायको व्यवस्था गरेको पाइन्छ । 


१० वर्ष भन्दा मुनिकाले भने जस्तोसुकै अपराध गरेकोमा पनि कुनै सजाय हुँदैन तर त्यस्तो कार्य गर्न प्रेरित गर्ने, लगाउने, उक्साउने वा प्रयोग गर्ने अन्य जोसुकैलाई ऊ आफैले गरे सरहको सजाय हुने कानूनी व्यवस्था रहेको छ । यस दृष्टिकोणबाट हेर्दा साइवर क्राइममा १० वर्ष मुनीको बालबालिकाको प्रयोग जसले गरेको वा लगाएको भएपनि लगाउने व्यक्ति कानूनी दायरामा पर्न सक्दछ । बच्चाले गरेको हो भनेर बालिग वा उमेर पुगेको कुनै व्यक्तिले छुट पाउने अवस्था छैन् । उमेर पुगेकै भएपनि पालगपन, रक्सी खाएको वा वेहोस भएको जस्ता विशेष अवस्थामा भने कानून अनुसार सजायबाट छुट पाउने स्थिति हुन्छ । साइवर क्राइमको चर्चा गर्दा विश्वमा र नेपालमा पनि महिला र बालबालिकाहरू विभिन्न कारणले अपराध गर्न पुग्ने गरेका छन् । 


विशेषगरी स्कूल कलेजको संगत, फिल्ममा भएका दृश्यको प्रभाव, साथीको उक्साहट, ठट्यौलीपन, उत्ताउलोपन वा यति सानो कुरा गर्दा के नै हुन्छ र ? वा मैले गरेको अपराध वा गल्ती कसले पो थाहा पाउँछ र ? भन्ने सोचले यस्ता अपराधहरू हुने गरेका छन् । अर्काेतर्फ अपराधिक मानसिकता वा दुषित मनसाय भएका, अर्काको नोक्सानीमा रमाउने सोच भएका र छिटै धन र भौतिक साधन–स्रोतमा आफ्नो अधिकार जमाउने नियतले यस्ता अपराधमा महिला र बालबालिकाको प्रयोग गर्ने गरिएका छन् । 


 आज हाम्रा सारा क्रियाकलापमा प्रहरी प्रशासनका विभिन्न निकायले कम्प्युटर र सूचनाका विभिन्न माध्यमबाट निरन्तर निगरानी गरिहरेका छन् भन्ने तर्फ नागरिकहरू सचेत बन्नुपर्दछ । अर्काेतर्फ अभिभावक, परिवार, विद्यालय, कलेज, समाज, क्लब लगायतका सामाजिक इकाइहरूले आफ्ना छोराछोरी, महिला तथा बालबालिकाहरूलाई निरन्तर सचेत र खवरादारी गरिरहनुपर्ने अवस्था टडकारो देखिन्छ । बालबालिकाले कम्प्युटरमा होमवर्क मात्र गर्दैनन् अन्य वर्क समेत गरिरहेका हुन्छन् भन्ने तर्फ विशेषगरी सहरिया अभिभावकहरू बढी सचेत देखिनुपर्ने खाँचो देखिन्छ । 


 त्यस्तै राज्यका विभिन्न निकायहरूबाट यस सम्बन्धि शिक्षा, सूचना र जानकारी निरन्तर गराइनै रहनुपर्ने खाँचो आज बढेको देखिन्छ । कसैको लहैलहैमा वा अन्य कारणबाट आफ्नो दृष्टिमा सानो लाग्ने अपराध हुन पुगेमा पनि कानून अनुसार त्यसले गम्भीर परिणाम निम्त्याउन सक्नेतर्फ सबैले सोच्नु पर्ने देखिन्छ । त्यस्तै टिनएजका कतिपय युवाहरू महिलाका यौनजन्य वा अश्लिल फोटाहरू फेसबुक लगायतका सामाजिक सञ्जालमा प्रदर्शन गरिदिने, ‘फेक आइडी’ बनाएर मजाक वा रमाइलोको लागि यस्तो फोटाहरू लोड गर्ने, शेयर गर्ने, अश्लिल कमेन्ट गर्ने आदि गरेका कारण पनि मानिसहरू कानूनको दायरामा पुग्न बाध्य भएका छन् । नेपालमा पनि साइबर सम्बन्धी अपराधले गम्भीर रूप लिँदै जान थालेकोले कानुनी र सामाजिक नियन्त्रण अत्यावश्यक भएको छ ।
 

प्रतिकृया दिनुहोस