• शुक्रबार-चैत-१६-२०८०

राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर) र प्रअअ केसीबारेकाे समाचार झुठाे हाे-केसी


श्रीमान् सम्पादकज्यू,
साँघु साप्ताहिक,
काठमाण्डौ ।

  उपरोक्त सम्बन्धमा तपाईको प्रकाशन साँघु साप्ताहिक अंक ४ बर्ष ४१, २०८० वैशाख २५ गते सोमबार प्रकाशित छापा र मिति २०८०।०१।२९ गते ११:१७:०० बजे अनलाइन संस्करण saghunews.com मा प्रकाशित गुप्तचरमा छायाँ चिफको फुर्तिफार्ति शिर्षकमा मेरो व्यक्तिगत मानमर्दन र व्यक्तिगत जीवनमा नकारात्मक असर गर्ने गरी प्रकाशन गरिएको उक्त समाचार, समाचारको सत्यता परीक्षण नगरी पत्रकार आचार संहिता, २०७३ को मर्म विपरित भ्रामक, तथ्यहिन, कपोलकल्पित, मिथ्या र अफवाहपूर्ण भएकोले त्यसप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । साथै यस्ता गलत तथ्यहिन र भ्रामक समाचार सम्प्रेषण नगर्न समेत अनुरोध गर्दछु । उक्त समाचारका सम्बन्धमा देहायबमोजिम खण्डन गर्दछु ।

 

१.    तपाईले लेख्नु भएको सरकारी संस्थाले तालिम केन्द्र निर्माण गर्न सरकारबाटै उपयोग (भोगाधिकार) का लागि प्राप्त गरेको ३५ रोपनी जग्गा शिवपुरी राष्ट्रिय निकुञ्जको डाँडामा नभएर काठमाण्डौस्थित साविक गागलफेदी गा.वि.स. हाल कागेश्वरी मनोहरा नगरपालिकामा रहेको छ । समाचारमा उल्लेख भएको डाँडो नभएर उक्त स्थान खाल्डोमा अवस्थित रहेको छ ।


२.    सरकारी स्थामित्वको जमिन सरकारी निकायले उपयोग गर्नु र  राष्ट्रिय सुरक्षा संगठनले आफ्नो क्षमता विकासको लागि तालिम केन्द्र वनाउनु के अपराध हो ? यसबाट राज्यलाई हानी हुन्छ ?


३.    उक्त जग्गा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय, काठमाण्डौका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको समितिले जग्गा उपयोग गर्न सिफारिस गरेको छ । के उक्त समिति विचौलिया हो ?


४.    तपाईले आरोप लगाउनु भएको म प्रमुख अनुसन्धान अधिकृत दिपक के.सी. ले ३० रोपनी मात्र जग्गा भए पुग्छ भनि कहि कतै भनेको छैन । यदि छ  भने उक्त कुराको प्रमाण प्रकाशित गर्नु भए हुन्छ ।


५.    तपाईले लेख्नुभएको मालपोत कार्यालय चावहिलको क्षेत्राधिकार कागेश्वरी मनोहरा नगरपालिका गागलफेदीमा नपर्ने र उक्त कुरा गलत छ ।


६.     तपाईले विभागका हर्ताकर्ता भनि कसलाई लेखेको हो ? उक्त जग्गा राष्ट्रिय अनुसन्धान विभागले रेखाङ्कन नगरेको र उक्त कार्य यस विभागको समेत नभएको । कागेश्वरी मनोहरा नगरपालिका र नापी कार्यालय, साँखुले उक्त जग्गा रेखाङ्कन गरी छुट्याएको हो ।
७.    तपाईले लेख्नु भएको भिरालो जमिन सम्याउने र तारवार गर्ने कार्य भईरहेको भन्ने कुरा गलत छ । अहिले उक्त स्थानमा कुनै पनि कार्य भएको छैन ।


८.    तपाईले लेख्नु भएको डिपिआर प्रयोजनका लागि १ करोड २० लाख रुपैयाँ कही कतै कुनै पनि निकायबाट राष्ट्रिय अनुसन्धान विभागमा निकासा नभएको र उक्त कुरा पूर्ण रुपमा गलत रहेको । यदि निकासा भएको भए सोको प्रमाण प्रस्तुत गर्नु होला ।


९.    तपाईले म दिपक के.सी. लाई माओवादी द्वन्द्धकालमा गुप्तचरमा छिरेको र विभिन्न जिल्लामा सक्रिया रहेको भन्ने कुरा पूर्ण गलत छ । म यस कार्यालयमा संविधान सभाबाट संविधान जारी भएपश्चात लोक सेवा आयोगले लिएको खुला प्रतिस्पर्धाबाट सिफारिस भई नियुक्ति भएको हो ।


१०.    तपाईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  प्रमुख अनुसन्धान अधिकृत दिपक के.सी. ले दैनिक साँझ विहान रिपोर्टिङ गर्न वालुवाटर धाएको भनेर लेखिएको कुरा पूर्ण कपोलकल्पित र भ्रामक छ । आजका मितिसम्म प्रचण्ड प्रधानमन्त्री भएदेखि सार्वजनिक समारोहमा वाहेक अन्य व्यक्तिगत रुपमा कहि कतै भेटेको छैन । यदि भेटेको प्रमाण भए प्रमाण सहित प्रकाशन गर्नुहोल ।


११.    तपाईले प्रकाशन गर्नु भएको जस्तो गुप्तचरको तालिम केन्द्र निर्माणका लागि मैले कहि कतै हालसम्म त्यस्ता योजनाहरु पेश गरेको छैन र हालसम्म यस्ता कुनै पनि योजना नबनेको समेत प्रष्ट गर्न  चाहन्छु । यदि त्यस्ता तालिम केन्द्रका निर्माणका योजनाहरु नेपालको विद्यमान कानून र प्रकृया अनुसार नै बन्लान ।


१२.    तपाईले लगाउनु भएको आरोप भारतीय गुप्तचर संस्था रअ र वेलायती गुप्तचर संस्थासँग कहि कतै पनि आजका मितिसम्म भेटघाट गरेको छैन । यदि त्यस्तो प्रमाण भएमा पेश गर्नुहोला ।


१३.    श्रीमान् मुख्य अनुसन्धान निर्देशक हुतराज थापालाई प्रचण्ड र जनार्दन शर्मासँग भेटाएको भन्ने कुरा पूर्ण गलत छ ।


१४.    राष्ट्रिय अनुसन्धान विभागको बढुवा कार्यमा मैले गलत मनसायले र विधी पद्दति विपरित कार्य गरेको छैन ।


१५.    हाल नया मुख्य अनुसन्धान निर्देशकको नियुक्ति पछीका बढुवा र सरुवा विद्यमान कानून, प्रकृया र पारदर्शीपूर्ण तरिकाले जेष्ठता र कार्यसम्पादनलाई आधार बनाएर मात्र भएको जानकारी गराउँदछु ।

 

माथि मैले उल्लेख गरेको बुँदाहरु नै सत्य भएकोले तपाईले गर्नुभएको प्रकाशन गलत छ र समाचारको कुनै पनि सत्यता नभएकोले उक्त प्रकाशनलाई यथाशक्य छिटो प्रेष काउन्सिल आचार संहिता, २०७३ को दफा ४ (१४) बमोजिम खण्डन प्रकाशन गर्न हुन अनुरोध गर्दछु ।
( दिपक के.सी. )
प्रमुख अनुसन्धान अधिकृत
राष्ट्रिय अनुसन्धान विभाग

 

प्रतिकृया दिनुहोस