• शुक्रबार-बैशाख-२६-२०८२

मन्त्री पौडेल पत्नी र सप्लायर्सबीच साँठगाँठ  : उपकरण खरिद गर्न अस्पतालहरुमा चर्को दबाब

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका अस्पतालहरुमा आवश्यकै नभएका स्वास्थ्य उपकरण खरिदका लागि सप्लायर्सहरुले बजेट निर्माणकै क्रममा चलखेल सुरु गरेका छन् । अर्थमन्त्रालयमा बजेट निर्माणकै क्रममा ब्यापारीहरु चेतन अग्रवाल, शशी श्रीवास्तव र उमेश न्यौपानेहरुले चलखेल गरी आफ्नो कम्पनी अनुकूल हुनेगरी अस्पतालहरुमा स्वास्थ्य उपकरण खरिदका लागि बजेट छुट्ट्याउन स्वास्थ्य मन्त्रीको निजी सचिवालय र परिवारमार्फत् सक्रिय भएर लागेको स्रोत बताउछ । 


मन्त्री प्रदीप पौडेल सप्लायर्ससँग भेट्न डराउने भएकाले सबै ‘डिल’ उनकी पत्नी एन्जिला न्यौपानेमार्फत हुने गरेको आरोप छ । मन्त्रीपत्नी र मन्त्रीका निजी सचिवालयका मानिसहरुलाई प्रभावमा पारी चेतन, शशी र उमेशहरुले विभिन्न अस्पतालहरुमा उपकरण खरिदको बजेट हाल्न लगाइरहेको स्रोत बताउँछ ।   


मन्त्री पौडेलसँग ‘डिल’ नगरी उपकरण सप्लायर्सहरुले उनको परिवार, गगन थापाका मानिसहरु र सचिवालयका कर्मचारीहरुलाई होटल होटलमा भेटेर आफ्नो कम्पनीमार्फत स्वास्थ्य उपकरण खरिद गर्न अस्पतालहरुका प्रमुखहरुलाई आफूहरुले भने बजेट बनाउन जस्तै स्पेक तयार पार्न दबाब दिएको स्रोत बताउँछ । 


स्वास्थ्य उपकरण सेटि¨मा ठेक्का पारेर आपूर्ति गर्ने व्यवसायीहरु चेतन अग्रवाल, शशी श्रीवास्तव र उमेश न्यौपानेका कम्पनीहरुलाई स्पेक लक गरेर ठेक्का दिन मन्त्री पत्नीले दबाब दिएको स्रोत बताउँछ । स्रोतका अनुसार, यी व्यवसायीहरुले स्पेक लक गर्नेदेखि बोलपत्रमा क्राइटेरिया मिलाउनेसम्म शक्ति दवावमा गर्ने गरेको स्रोत बताउछ ।  यिनीहरुले आफ्नो कम्पनीको नाममा स्वास्थ्य उपकरण आपूर्तिको ठेक्का मिलाएबापत कबोल गरेको रकमको २५ प्रतिशत अग्रिम नै दिने गरेको चर्चा मन्त्रालयका कर्मचारीहरुबीचमा चल्ने गरेको छ  ।

 

सामान सप्लाई गरेर भुक्तानी पाएपछि कबोलको बाँकी ७५ प्रतिशत दिनेगरी होटलहरुमा डिल गर्ने गरेको पूर्व मन्त्री मोहन बहादुर बस्नेत निकट मानिसहरु बताउछन् । जुन कुरा चेतन, शशी र उमेशहरु स्वयंले नै मन्त्रीपत्नीमार्फत् ठेक्कामा सेटिङ मिलाउने गरेको भन्दै विशाल पण्डितहरुलाई सुनाउँदै हिंडेको स्रोत बताउछ । स्वास्थ्य मन्त्रालयमा हाल कांग्रेसका महामन्त्री गगन थापाका मानिसहरुको हस्तक्षेपकारी भूमिका रहेको  कर्मचारी स्रोत बताउछ । 


सेटिङ र दवावमा ठेक्का 
 स्वास्थ्य उपकरण सप्लाईमा कतिसम्म भ्रष्टाचार हुन्छ भन्ने कुराको उदाहरण गेटा अस्पतालको स्वास्थ्य उपकरण खरिदलाई लिन सकिन्छ । मन्त्राणीकै दबाब थेग्न नसकेर गेटा अस्पतालका प्रमुख डा. प्रमोद यादवले चेतन अग्रवालको कम्पनीलाई उपकरण खरिदको ठेक्का दिन बाध्य भएको स्रोतको दावी छ । उक्त ठेक्कामा खरिद ऐन नियम नै उल्लंघन गरिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेमा सत्यतथ्य स्पष्ट हुने र गेटा अस्पतालका प्रमुख डा. यादव प्रथम दृष्टिमा नै कारबाहीमा पर्ने दावी स्रोतको रहेको छ । 


त्यसो त भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक उज्ज्वल चालिसे, नारायणी अस्पताल वीरगंजका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासलगायतलाई पनि मन्त्रीपत्नीले फोन गर्दै चेतन, शशी र उमेशको कम्पनीहरुबाट स्वास्थ्य उपकरण खरिद गर्न चर्को दबाब दिने गरेको कर्मचारी स्रोत बताउछ । 


चेतन अग्रवाल र उनका परिवारका सदस्यका नाममा बायोमेड इन्टरनेसनल प्रालि, गर्ग इम्पेक्स, मेडी पोइन्ट इन्टरनेसनल प्रालि, द मेडिकल सोल्युसन, प्रोसिजन मेडिकल प्रालि, डेन्टमार्ट इन्टरनेसनल र सर्जिडेन्ट हाउसलगायतका दर्जन कम्पनी सञ्चालनमा रहेका छन् । चेतन अग्रवालले एकै परिवारका नाममा टेण्डर हालेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकरण आपूर्ति गर्दा अनियमितता गरेका उजुरी अख्तियारमा परेको र अख्तियारले विशेष अदालतमा मुद्दा समेत दायर गरेको थियो ।

 

उपकरण सप्लायर्स प्रेसिजन मेडिकल प्रालि (बायोमेड इन्टरनेश्नल प्रालि)का प्रोपाइटर चेतन अग्रवाल र सर्जिकिम डिस्ट्रिब्यूटर्सका प्रोपाइटर उमेश अग्रवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको र त्यहाँबाट उपकरण सप्लायर्स चेतन अग्रवाललगायत पाँचजनाले सफाई पाएपछि हाल सो मुद्दा सर्बोच्च अदालतमा चलिरहेको छ । तत्कालीन उपकुलपति बलभद्रप्रसाद दाससहित अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हा र रजिष्ट्रार नन्द कुमार थापालाई मात्रै विशेष अदालतले जनही १ वर्ष कैद र २५ हजार जरिवानाको फैसला गर्दै अन्य ५ जनालाई सफाई दिएपछि आयोग पुनरावेदन गर्दै सर्वोच्च अदालतमा पुगेको छ ।


वीपी स्वास्थ्य प्रतिष्ठानले वार्षिक रूपमा १ अर्ब रुपैयाँभन्दा बढीको मेडिकल उपकरण, विभिन्न सामानहरू खरिद गर्दै आएकोमा अग्रवाल दाजुभाइले मात्र ठेक्का पार्दै आएका छन् । मधेस प्रदेशका ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि सेटिङमा उपकरण खरिद गर्दा करिब रु. २० करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको घटना ताजै छ । संघीय सरकार मातहतका अस्पतालहरुमा समेत उपकरण खरिदमा मन्त्रीपत्नी संलग्न भएको आरोप लाग्ने गरेको छ ।

 

शक्ति केन्द्रहरुको दवाले गर्दा अस्पतालहरुमा अनावश्यक र गुणस्तरहीन उपकरण खरिद गरी भ्रष्टाचार गर्ने गिरोह सक्रिय रहेको स्रोत बताउछ । मन्त्रीका आफन्तहरु नै सेटि¨ वाला सप्लायर्सहरुसँग होटल होटलमा भेटेर डिल गर्ने गरेपछि मन परेको मान्छे जेठाजु प¥यो भनेजस्तै मन्त्री पौडेल पनि स्वास्थ्य उपकरण खरिद प्रकरण र विवादमा पर्न थालेका छन् । (साँघु साप्ताहिक, २०८२ वैशाख २२)
 

प्रतिकृया दिनुहोस