• सोमबार-जेठ-१४-२०८१

कांग्रेसको गोदावरी कुम्भ मेला, दशा र दिशा ! : ‘दाइ जय नेपाल’को भरमा अब कांग्रेस चल्ला ?

 

ललितपुरको गोदावरीमा भर्खरै महासमिति वैठक सम्पन्न भएको छ । कांग्रेस जनमनबाट निकै टाढा बन्दै गएको भन्दै महासमिति वैठकमा मुलुकभरबाट आएका प्रतिनिधिले गहिरो चिन्ता व्यक्त गरे । नेपाली कांग्रेस आम नेपाली नागरिकको जीवनशैली बन्न नसकेको भनेर आवाज उठाए । लामो राजनीतिक इतिहास भएको पुरानो पार्टी भए पनि कांग्रेस विगत केही समयदेखि अवसरवादी राजनीतिक दलका नेतृत्वको वैशाखी बनेको भनेर बन्द सत्रमा टिकाटिप्पणी र लाञ्छनाहरु चले । 


प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निर्वाचनहरुमा कांग्रेसको लोकप्रिय मत घट्नुको एउटा महत्वपूर्ण कारण कांग्रेसले कांग्रेस बिर्सिएर कम्युनिष्टको वैशाखी बन्नु नै हो भन्ने ठम्याई रह्यो । 
 कुनै बेला क्रान्तिकारी छवि बनाएको कांग्रेसको अब पुरानो साख र पहिचान बाँकी रहेन । कांग्रेसको नीति, विचार र कार्यदिशाहीन जस्तो देखिएको छ । वास्तवमा विचारशून्य बन्दै गएपछि कांग्रेस मात्र नभै जुनसुकै पार्टी अन्ततः विघटनतर्फ जान्छ । त्यो दिगो हुँदैन । समसामयिक नेपाली कांग्रेसभित्र राजनीतिक संस्कार नभएका, स्वार्थ र भ्रष्ट मनोवृत्तिका मानिसको ठूलो समूह केन्द्रीय समितिमा हावी देखिएको छ । 


 कांग्रेस खुम्चिँदै जानुको पछाडि यो एक महत्वपूर्ण कारण हो । कांग्रेसले नीतिमा राष्ट्रियता, लोकतन्त्र र समाजवाद भनेको छ । तर यो कुन चराको नाम हो भनेर जनताले अहिलेसम्म भेउ पाउन सकेका छैनन् । नीति कार्यान्वयन गर्ने र संगठन परिचालन गर्ने भनेको नेतृत्वले हो । 


  ७५ वर्ष लामो इतिहास बोकेको कांग्रेसले २०८० सालमा आइपुग्दा जनआस्था र भरोसा गुमाउने विन्दुमा पुगेको छ । कांग्रेसको वास्तविक चरित्र गुम्ने दिशामा छ । लोभीपापी, भ्रष्ट, स्वार्थीहरुको भिडको जत्थामा मात्र सीमित हुने खतरा छ । पुराना तथा उल्लेख्य संख्यामा नयाँ र युवा नेताले केन्द्रीय समितिमा जाने अवसर त पाएका छन्, तर समयानुकूल पार्टीको संरचनामा परिवर्तन ल्याउन असक्षम भएका छन् । गगन थापा, विश्वप्रका शर्माहरु पार्टीहितभन्दा व्यक्तिवादी गुट चलाउने सोचका कारण पार्टीको पहिचान निरन्तर स्खलित बन्नेक्रम बढिरहेको छ । सत्तास्वार्थले यति नराम्रोसँग गाँजेको छ कि, यस्तो दलदलबाट उठेर बाहिर निस्किने हिम्मत यसले गर्छ भनेर कार्यकर्ता नै पत्याउन तयार छैनन् । 


यतिबेला कांग्रेस कसरी अगाडि बढ्छ र त्यसका लागि कांग्रेसले कस्तो नीति, विचार र कार्यदिशा लिन्छ भनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय तहबाट नियालिरहेको अवस्था छ । तर, महासमिति वैठकले पनि सिंगो देशलाई नयाँ आशा र विश्वास दिने गरी बाटो पहिल्याउन नसकेको भन्दै कांग्रेसभित्रैबाट असन्तुष्टि आएको अवस्था छ । गुट–उपगुटको राजनीतिका कारण पनि यस्तो निरासा बढिरहेको छ । ‘दाइ जय नेपाल’को भरमा अब कांग्रेस चल्दैन । ‘दाइवाद’ हावी रहिरहे काँग्रेसलाई कम्युनिष्ट, रास्वपा, राप्रपा वा अरुले सक्नै पर्दैन आफै सकिन्छ । 


इतिहासको कुनै कालखण्डमा नेताका कारण कांग्रेसमा सादगीपन थियो । अध्ययन, चिन्तन, सशक्त विचार थियो । यतिमात्र नभै संघर्ष र बलिदानको इतिहास थियो । नेतृत्वका कारण पार्टीप्रति आमनागरिकको आशा र भरोसा थियो । जतिबेला कांग्रेस बलियो र लोकप्रिय दुबै थियो । तर, आजको काँग्रेस कठै †? पहिले पञ्चहरुले ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’ भन्थे भने अहिले ‘सबै लोभीपापी कांग्रेस र सबै कांग्रेस लोभीपापी’ भन्ने जस्तो अवस्था सिर्जना भएको छ । 


वीपी कोइरालाको अवसानपछि नै काँग्रेसले विचार गुमाउन शुरु गरेको हो । कुनै बेला सगरमाथा जत्तिकै उच्च नैतिकवान, विपी कोइरालादेखि, गणेशमान सिंह, महेन्द्रनरायण निधि, कृष्णप्रसाद भट्टराई र सुशील कोइरालासम्म कांग्रेस पार्टीभित्र आकर्षण थियो । अग्रजप्रति आमनागरिक र कार्यकर्तामा विश्वासको वातावरण थियो । गिरिजा प्रसाद कोइरालादेखि शेर वहादुर देउवासम्म आइपुग्दा अहिले झाँगिएको धनवादी र डनवादी प्रवृत्तिले गर्विलो इतिहास धुलिसात पार्दैछ । एउटा लोकतन्त्रको प्रमुख धरोहर दिनानुदिन झन् असक्त र गतिहीन बन्दै गएको छ । कांग्रेससँग नागरिक ओझेलिँदै जाने अवस्था छ । कांग्रेसप्रति पटक्कै आकर्षण देखिँदैन । 


  कांग्रेसका नेता र मन्त्रीहरुमा भ्रष्टीकरणले अड्डा जमाएका कारण पनि अस्तित्वको प्रश्न उठिरहेको छ र तरुणयुवाको कांग्रेसप्रति अरुची पैदा भइरहेको छ । किन ? श्रमिक, किसान, मजदुर र सर्वहारा वर्गको हितमा भन्दा बाहुबली व्यक्तिको ‘आफ्नो हात जगन्नाथ’ भएपछि पछि लागेर झोले बन्नुमा मात्रै युवाहरुको समय खेर जाने अवस्था छ । यति मात्र होइन, विद्यार्थी तथा बौद्धिक वर्ग समेत क्रमशः टाढिएको छ । सीमित ठालु र पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने एउटा समूहका रुपमा काँग्रेसलाई अथ्र्याईंदै छ । व्यक्तिगत फाइदा लिएका सीमित व्यक्तिबाहेक कांग्रेसको वकालत गर्न सितिमिति कोही तयार देखिंदैनन् । कोही कसैलाई राम्रो रुपमा नलिने प्रवृत्तिको विकास भएको छ । 


 हुन पनि एउटा न एउटा आरोप नबोकेको कुनै काँग्रेसी नेता भेट मुस्किल छ । पार्टीका अधिकांश नेता कुनै न कुनै भ्रष्टाचार काण्डमा डुबेकै छन् । यी आरोपको खण्डन गर्ने सामथ्र्य कुनै नेताले राख्दैनन् । इमान्दार र स्वाभिमान नेता चामलमा वियाँ खोजे जसरी नियाल्नुपर्ने स्थिति छ । सत्तालिप्सा, स्वार्थ र भ्रष्ट मनोवृत्तिले कांग्रेस मक्किँदै गएको छ । पार्टीभित्रका लोकप्रिय व्यक्तिलाई सँधै लतारेर जनताबाट तिरस्कृत भएकाहरुलाई च्याप्ने नेताहरुको भ्रष्ट मनोवृत्तिले कांग्रेस कमजोर बनेको बौद्धिक समूहको ठम्याइ रहेको पाइन्छ । एउटा गुटले अर्को गुटका इमान्दार नेता र कार्यकर्तालाई बस्नै नसक्ने अवस्थामा पु¥याइदिएको अवस्था छ । केवल गुटको भएपुग्छ भन्ने भाष्य निर्माण भएको छ । के कांग्रेस पार्टीमा इमान्दार र असल व्यक्तिको कामै सकिएकै हो त अब ?  


 यसै पनि राष्ट्रियसभाको चुनावपछि कांग्रेसमा देशभरि नेता र कार्यकर्ताको मोह भङ्ग भएकै थियो । नेतृत्वले झारा टार्ने नीति अख्तियार गरेपछि २०८० फागुन १० गते सम्पन्न भएको लोकतान्त्रिक भनिने कांग्रेस महासमिति बैठकले पनि उर्जा दिन सकेन । यही कार्यशैलीका कारण काँग्रेसले गर्दा भविष्यमा नेपाली राजनीतिमा नयाँ राजनीतिक दलको उदय हुने मार्गप्रसस्त गरेको छ । 


  विद्वानका अनुसार, राजनीतिक दल सक्षम बन्नका लागि तीनवटा पक्ष सवल हुनुपर्छ–नीति, नेतृत्व र संगठन । तर, अहिले कांग्रेसका यी तीनै खम्बा मक्किएका छन् । कांग्रेसका नेता र मन्त्रीलाई सामन्ती सोच हावी भएका, धनी बन्ने स्वार्थी गिरोहका रुपमा औंला ठड्याउने अवस्था भित्रैबाट सिर्जना भएको छ । यी आरोपलाई खण्डन र प्रतिवाद गर्न सक्ने ल्याकत र नैतिक बल कसैसँग देखिँदैन । वैचारिक मात्र होइन नैतिक रुपमै कांग्रेस टाट पल्टिने अवस्थाबाट गुज्रिएको छ । दुखद् नै भन्नुपर्छ, गोदावरीको महासमिति–२०८० कुम्भ मेलाले पनि आन्तरिक रुपमा ग्रस्त यो उकुजको निदान दिन सकेन ।  


यस्तो संकटको डिलमा उभिएको कांग्रेसले के अझै पनि सुध्रेर भविष्यका लागि स्पष्ट कार्यनीति र दृष्टिकोण बनाएर अघि बढ्ला ? समयसापेक्ष अनि युग सुहाउँदो विचार लिएर कांग्रेस पार्टीलाई गति देला ? देश र जनताको भलाईमा दिव्य चेत खुल्ला ? (साँघु साप्ताहिक, २०८० फागुन १४)
 

प्रतिकृया दिनुहोस