• सोमबार-बैशाख-१७-२०८१

प्रचण्डको सत्ता टिकाउने ‘बेइमान’ राजनीति !

 

‘माल्दिभ्स पछि चीन नेपालमा पनि सरकार परिवर्तन गर्न सफल भएको छ’ २०८० फागुन २१ गते सोमबार (४ मार्च २०२४)को भारतीय अखबार नवभारत टाइम्सले प्रधानमन्त्री प्रचण्डको  स्थान ८९ सिट भएको सबैभन्दा ठूलो संसदीय दल नेपाली कांग्रेस हटाएर दोस्रो सबैभन्दा ठूलो ७८ सिट भएको नेकपा (एमाले) २१ सिट भएको चौथो सबैभन्दा बढी सांसद रहेको रा.स्व.पा, साथै १० सांसद रहेको एकीकृत समाजवादीलाई मिलाएर आफ्नै प्रधानमन्त्रित्वमा सरकार चलाउने निर्णय गरेपछि लेखेको थियो ।


  यसबाट के बुझियो भने भारतीय संस्थापन पक्षलाई नयाँ वामपन्थी गठबन्धन नराम्रो लागेको छ । बुधबार २३ फागुन २०८० को अनलाइनखबरमा नयाँ गठबन्धन बारे चीनको पहिलो प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नेपालमा विकसित घटनाक्रमलाई जानकारीमा लिएको भन्दै भनिन्, ‘हामीले गठबन्धनका सम्बन्धित दलहरु एकताबद्ध भएर नयाँ सरकार गठनसम्बन्धी कामलाई अगाडि बढाउने र राजनीतिक स्थायित्व, आर्थिक वृद्धि तथा जनताको जीविकोपार्जनमा सुधार ल्याउने छन् भन्ने आश लिएका छौं ।’


आठ महिना अघि प्रधानमन्त्री प्रचण्डले काठमाडौंमा कारोबार गर्ने प्रितम सिंह नामक भारतीय व्यापारीले मलाई प्रधानमन्त्री बनाउन ठुलो प्रयास गरेको र कयौं पटक नयाँ दिल्ली गएको भनि सार्वजनिक रुपमा भनेका थिए  भनि ७ जुलाई २०२३ (असार २२ गते २०८०) को ‘द टाइम्स अफ इन्डियामा प्रकाशित छ । त्यसको एक दिन अघि पनि ६ जुलाई (असार २१ गते २०८०) ‘द इन्डियन एक्सप्रेस’ मा प्रधानमन्त्री प्रचण्डको यस्तो भनाईले नेपालको संसदमा हंगामा मच्चिएको कुरा प्रकाशित भएको थियो । 


वि.सं. २००७ को क्रान्तिभन्दा अघि र पछि आजसम्म पनि नेपालको कहिले लोकतान्त्रिक भएन, (-Never Democratized Nepal) भनि V-Dem (भेराइटिज अफ डेमोक्रेसी) स्वीडेनको इन्स्टिच्यूट अफ गोथेनवर्गले सन् २०२३ मा प्रकाशित रिपोर्ट भन्छ । हुन पनि हो अझै नेपालमा आज पनि ब्रिटिश वेस्टमिनिस्टर पार्लियामेन्टरी शासन प्रणाली र प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा छैन । जब कि यस्तै ब्रिटिश मोडलको पार्लियामेन्टरी सिस्टम सन् १९५० मा भारतमा संविधान बनेदेखि आज चलिरहेको देखिन्छ,  सँधै प्रत्यक्ष निर्वाचित लोकसभा रहिरहेको छ र भविष्यमा चलिरहने छ । । तर नेपालमा वि.सं. २०१५ देखि २०१७ पुस १ गते डेढ वर्ष र २०४८ वैशाखदेखि २०५२ फागुनसम्म मात्र थियो । मिश्रित शासन व्यवस्था (मिक्सड रिजिम) र मिसकट निर्वाचन प्रणाली (मिक्सड एलेक्सन्स) पूर्ण लोकतन्त्र र पूर्ण तानाशाही भन्दा अस्थिर र बाधाविघ्न उन्मुख हुन्छ भनि अन्तर्राष्ट्रिय ज्ञाताहरु भन्दछन् ।


‘नेपालका आन्तरिक कारणहरु मात्र होइन’, त्रिचन्द्र कलेजका प्राध्यापक सान्तबहादुर थापा ‘द फ्यासेट्स अफ पोलिटिकल इन्स्टाबिलिटी इन नेपाल (नेपालमा राजनीतिक अस्थिरताका पक्षहरु’ नामक लेखमा लेख्नुहुन्छ, ‘दोस्रो कुरा भारत, चीन र अमेरिकाको नेपालको राजनीतिमा हस्तक्षेप गर्ने र हात हाल्ने कामले आन्तरिक फ्याक्टरहरुका साथै नेपालमा राजनीतिक अस्थिरता र अनुमान गर्न नसकिने अनिश्चितताको कारक हुन्छन् ।


ठिक भन्नुहुन्छ, किनभने बेला बेला अनुमान गर्न नसकिने (अनप्रेडिक्टेबल) समय र रुपमा सरकार परिवर्तनहरु, सत्ता समीकरणमा उलटफेरहरु, व्यवस्था परिवर्तन (रिजिम चेन्ज), विद्रोह, इन्सरजेन्सी, आन्दोलनहरुको पृष्ठभूमि खोतल्दै जाँदा नेपालका राजनीतिक दलका नेताहरुको माझ गुप्त सम्झौता र समझदारीको निर्माणमा समेत विदेशी गुप्तचर एजेन्सीहरु र राजदूतहरुको दौडधुप र खेलहरुसमेत सहतमै देखिन्छ । 


गत साता २०८० फागुन २१ गते सोमबार प्रचण्डले गरेको यो सरकार पुनर्गठन १४ महिनामा १३ पटक हो । प्रचण्ड सरकारबाट एक्कासी नेपाली कांग्रेस निष्काशन बारे नेपाली कांग्रेसको आधिकारिक निष्कर्ष छ– ‘माओवादी अस्थिर, प्रचण्ड राजनीतिक बेइमान’ लिलु डुम्रेको संवाद अनलाइनखबरमा पढें । नेपाली कांग्रेसकै शेरबहादुरलाई चुनौती दिने अर्का नेता शेखर कोइरालाको भनाई पढें, ‘यो घटना सानो होइन, प्रचण्ड अस्थिर, माओवादी कमजोर र सत्ता टिकाउन जे पनि गर्ने भएकाले कांग्रेसलाई महंगो परेको हो ।’


अर्का नेता डा.शशांक कोइरालाले भने, ‘गठबन्धने टुटेकोमा खुसी छु ।’ (रातोपाटी) । अर्कातिर स्वयं रवि लामिछानेको पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सरकारमा जाने कुराको विरोध प्रकट गर्दै असहमति दर्ता गराउनु भएको छ । अर्का नेता शोभिता गौतमको पनि असहमति छ भनि प्रकाशित छ । पुराना अरु पार्टीहरु र नेताहरुको विगत जनता सामु भ्रष्ट नेता भएका पार्टीहरुको रुपमा छ । तर भ्रष्टाचार विरोधी र सुशासनको घण्टी बजाउने रवि लामिछाने प्रचण्ड मातहत उपप्रधान र गृहमन्त्री हुँदा मुखले मात्र होइन, पद र शक्तिलाई पनि भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध कामले पनि देखाउने हुन् वा होइनन् हेर्न जनता उत्सुकता र उत्साहका साथ प्रतिक्षारत छन् ।


हेरौं समयले के देखाउँछ ? रास्वपाका रवि लामिछाने र उनका मन्त्रीहरु भ्रष्ट पटके पुराना रैथाने नेताहरु झैं हुने हुन् वा उनीहरुभन्दा फरक इमान्दार जनताको लागि लड्ने देशभक्त हुने हु्न् परीक्षा जनता समक्ष २०८०, फागुन २१ गतेदेखि नै प्रारम्भ भइसकेको छ । अंग्रेजीमा उखान छ, मोर्निङ सोज द डे (बिहानले दिन देखाउँछ) । हेरौं रास्वपाको माओवादीसँगको हनिमुन पिरियडको पहिलो सय दिन कस्तो जाने छ ? (साँघु साप्ताहिक, २०८० फागुन २८)
 

प्रतिकृया दिनुहोस