• मंगलबार-बैशाख-१८-२०८१

भ्रष्ट गडफादरको राज्यमा सुशासनको सपना !

 

धर्मपिता (God Father) ५५ वर्ष पहिले प्रकाशित मारियो पुजो (Mario Puzo) ले लेखेको उपन्याश युवा उमेरमा पढेको थिएँ । कुनै जमानामा न्यूयोर्क शहरमा अपराधका संगठित ठूला, सुदृढ ग्याङहरु थिए, जसको आम्दानी कमाई हत्या, विध्वंस, ज्यानको धम्की र ठूलो नाश गरिदिने सन्देश पठाएर व्यापारी, ठेकेदार र जनताको सम्पत्ति असुल गरेर आफू र आफ्ना संगठनमा कारोबारीहरुलाई धनी बनाउनु थियो । 


आधा शताब्दी पहिले पढेको यो उपन्यास र यसका पात्रहरुको याद मलाई आज हाम्रो देश नेपालका राजनीतिक दलका शीर्षस्थ सरदार सभापति र अध्यक्षहरु र उनका संगठित सहभ्रष्ट उपनेताहरु देख्दा लाग्दछ । उनीहरु माफिया ग्याङका भ्रष्ट गडफादर जस्तै भई पतन भइसकेका छन् । तर, उनीहरु नै सर्वशक्तिमान छन् । 


कतिपय राजनीतिक दलमा रहनुभएका इमान्दार व्यक्तिहरुले भन्नुहोला, ‘यसरी त्यति सारो नभन्नुस् न हामी पनि त छौं राजनीतिमा ।’ कांग्रेसका सांसद चन्द भण्डारीले भनेको पढें, ‘३२ वर्षमा १२ जना धनी भए ।’


होला, २०४८ देखि २०८५ सम्मका १२ जना पार्टी सभापति, अध्यक्ष र ठूला नेताहरुले अर्बाैं कमाए । कमाएको सम्पत्ति त नेपालमै पनि फेला पार्न सकिएला । तर, कयौं अरुहरु पनि छन् जो संगठित ठगी गरेर, लाखौं निम्न मध्यमवर्ग, मध्यमवर्गलगायतहरु लाखौं निम्न आय भएका जनता ठगेर, लुटेर उनको सर्वश्वहरण गरेर अर्बौं खरबौंको हुण्डी कारोबार, मनि लाउन्डरिङ गरेर विदेशी अफसोर बैंकहरु स्वीस बैंकलगायतका कर–स्वर्ग (Tax Heaven) हरुमा कति रकम जम्मा छ ? नेपालमै पनि बेनामी सम्पत्ति अर्थात् अरुका नाममा राखेका सम्पत्ति कति छ, अथाह बेपत्ता छ । भगवान छ कि छैन थाहा छैन । तर भगवान भए पनि थाहा पाउने नसक्ने गरी पशुपतिनाथको सुन चोरिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति नाथको सुन चोरी भएको ठहर गरेर मुद्दा दायर गरेको पनि पढेकै हौं । तर, सुन तस्करीको जाँच गरेको आयोगको प्रतिवेदन भने गायब पारिएको अवस्था छ । 


नेपालका महाराजाहरु प्रायः आफ्नो सार्वजनिक सम्बोधनमा भन्थे, ‘आगे पशुपतिनाथले हामी सबैको रक्षा गरुन् ।’ अब जमाना कति उल्टी गुल्टी सकेछ कि आगे नेपालका जनताले रक्षा नगरे पशुपतिनाथ समेत टुहुरो अनाथ भएको देखिएका छन् । उनको सुन समेत लुटेराहरुले लुटे खाए । 


नागरिक चैत २४, २०८० मा पढें, ‘दाहाल, देउवा र ओलीको भूमिकाप्रति आरोपपत्र मौन’ । ‘वाइडवडी खरिद प्रकरण’ । वाइडबडी विमान खरिद सम्झौता र भुक्तानी तत्कालीन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, केपी शर्मा ओली र शेरबहादुर देउवाको समयमा भएपनि अभियोगपत्रमा उनीहरुको भूमिकाबारे अख्तियार मौन छ ।’ आज प्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओलीको पार्टी सरकारमा छ । शेरबहादुर देउवाले संसद ठप्प पारेका छन् । 


‘रवि लामिछानेलाई गृहमन्त्रीबाट निकाला नहुञ्जेल संसद चल्न दिँदैनौं, कुनै कानून बनाउन संसदमा दिँदैनौं’ भनेर प्रतिनिधिसभालाई बन्दक बनाएका छन् । अहिले कांग्रेसको भित्री भाग र मनसाय स्पष्ट बुझिन्छ कि हाम्रो ठूलो नेताहरुलाई नक्कली भुटानी शरणार्थी काण्डबाट नजोगाई थुन्ने ? तँ माथि भ्रष्टाचारको मुद्दा नचलाई तलाइँ छाड्दैनौं ।’


हो, ‘संसद नचले नचलोस्, कानून नबने नबनोस् देशै नचले पनि केही छैन, तर ठूला हाम्रा नेताहरुलाई छुने तँलाईं निकाला नगरुन्जेल छाड्दैनौं’ प्रजातन्त्रको दुहाई दिने नेपाली कांग्रेसले यसरी प्रजातन्त्रको अभ्यास गर्ने थलोलाई बन्दक बनाएर राखेको छ ।  


प्रधानमनत्रीहरु भइसकेका पार्टी सभापति वा अध्यक्षहरु वास्तवमा पार्टीभित्रको लोकतन्त्र र वैचारिक स्वतन्त्रताको विनाश भएर नेपालका राजनीतिक दलहरुका धर्मपिता (द गडफादर) हरु भइसकेका छन् । 


पानामा पेपर्स, प्याराडाइज पेपर्सजस्ता एक सय सात मिडिया संगठनहरुको इन्टरनेशनल कन्सोर्टियम अफ जर्नलिस्ट (IEIJ)द्वारा आठ वर्ष अघि सन् २०१६ अप्रिलमा प्रकाशित कागजहरुमा नेपाल र भ्रष्ट नेपालीहरुको पनि नाम छ । त्यसपछि ‘द बिजनेश स्ट्याण्र्डड र ‘द बिजनेश टाइम्स’ मा एकजना नेपाली प्रधानमन्त्री र उनकी पत्नीको नाममा जेनेभाको स्वीस बैंकमा लाखौं अमेरिकन डलर जम्मा रहेको कुरा पनि प्रकाशित छ । हालै अर्काे क्रान्तिकारी कम्युनिष्ट प्रधानमन्त्रीको चर्चा द कुकुल्याण्डमा इन्भेस्टिगेटिभ पत्रकार र लेखक टम बर्जिजको पुस्तकमा आएको समाचार छ । 


‘दाहाल, देउवा र होलीको भूमिकाप्रति आरोपपत्र मौन’ चैत २४, २०८० को नागरिक दैनिकमा टपेन्द्र कार्कीको संवाद पढें–वाइडबडी खरिद सम्झौता र भुक्तानी तत्कालीन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, केपी शर्मा ओली र शेरबहादुर देउवाको समयमा भए पनि अभियोगपत्रमा उनीहरुको भूमिकाबारे अख्तियार मौन छ ।’


२०७४ वैशाख ७ गते दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले संचय कोष र नागरिक लगानी कोषबाट ऋण लिने निर्णय, २०७४ जेठ २३ गते देउवा प्रधानमन्त्री हुँदा पहिलो किस्ता सात करोड ९० लाख डलर दिँदा उनी स्वयं पर्यटनमन्त्री पनि थिए, २०७५ असार ३ गते ओली प्रधानमन्त्री हुँदा दोस्रो किस्ता भुक्तानी भयो । 


टेण्डर भएको चाहिं २४२ मेट्रिक टन क्षमताको वाईडबडी हवाई जहाजको साटो २३० मेट्रिक टनको वाईडबडी हवाई जहाज काठमाडौं आयो । २०८० चैत गते लगभग डेढ अर्ब भ्रष्टाचारको मुद्दा ३२ जना माथि दायर भयो । तर लुट, भ्रष्टाचारका भ्रष्ट गडफादरहरुलाई उन्मुक्ति दिइयो । सुशासन (Good Governance) नेपालमा आजसम्म कहिले भएन । कुनै पनि प्रधानमन्त्रीले सुशासनका लागि काम गरेको अनुभूति पनि भएन । कानूनको राज्य (The Rule of Law) कहिले पनि भएन । सुशासन सँधै सपनाको पनि सपना भयो । कहिले विपना भएन । 


आशा गरौं देशभक्त पुस्ताले जन्म लिनेछन् र तिनै भावी पुस्ताले यो गरिब मुलुकमा एक दिन न एक दिन सुशासनका लागि लड्ने छन् र हाम्रो देशमा पनि भ्रष्टाचारको कुशासन, दुशासन, अवशासनको साटो अपेक्षा गरौं सुशासन पक्कै ल्याउने छन् । (साँघु साप्ताहिक, २०८१ वैशाख ३)

प्रतिकृया दिनुहोस