• सोमबार-जेठ-७-२०८१

निजामती प्रशासनमा झन्झन् बेथिति : मुख्यसचिव अर्यालको कार्यशैलीप्रति असन्तुष्टि !

मुख्यसचिव डा. बैकुण्ठ अर्याल

 

काठमाडौं । सरकारले २०८१ बैशाख १२ गते बुधवार २८ जना सहसचिवको सरुवा गरेको तर, उक्त सूचीलाई मुख्यसचिव डा. बैकुण्ठ अर्यालले प्रमाणित गरेर ढिलो गरी वैशाख १४ गते मात्र सार्वजनिक  गरेका थिए । सरुवा सूचीमा समावेश नामप्रति केही सहसचिवहरुले असन्तुष्टि जाहेर गरेका छन् । निजामती प्रशासन सेवाको मियोका रुपमा रहेका मुख्यसचिव अर्यालले आफू अनुकूलका कनिष्ठ सहसचिवहरुलाई महत्वपूर्ण मन्त्रालय, विभाग र निकायमा सरुवा गरेर अवसर दिएको तर वरिष्ठहरुलाई अवसरबाट बञ्चित गरेको गुनासो पीडित सहसचिवहरुले गरेका छन् ।


सरुवा सूचीअनुसार प्रशासन सेवाका १८, शिक्षा सेवाका एक र  प्राविधिक सेवाका नौ जना सहसचिवहरुको सरुवा गरिएको थियो । सहसचिव भएको लगभग दुईवर्ष मात्र पुगेकी रेखा दासलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मुख्यसचिव अर्यालकै आशीर्वादमा ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ । ललितपुरमा कार्यरत वीरेन्द्रदेव भारतीलाई भने भरतपुर महानगरमा पठाइएको छ ।


भारतीले अधिकृत हुँदा तत्कालीन जिल्ला विकास समिति, उपसचिव र सचिवमा बढुवा भएसँगै विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिृकत भन्दा बाहिर अन्य कुनै निकायमा सरुवा हुनु परेको छैन । यस्ता केही उदाहरण मात्र हुन् । कर्मचारी सरुवा गर्दा यस्ता विषयमा मुख्यसचिव अर्यालको किन ध्यान जान सकिरहेको छैन भन्दै वरिष्ठ सहसचिवहरुले प्रश्नसमेत गर्दै आएका छन् ।


वरिष्ठलाई पन्छाएर 
कनिष्ठलाई अवसर

दुर्गम जिल्लामा गएर सेवा नगरेका, शक्तिकेन्द्र रिजाएर सुगममा बसेर ‘तर’  मार्न सफल कर्मचारीलाई नै काखी च्यापेर पटक पटक मुख्यसचिव अर्यालले अवसर दिएकोमा पीडितहरुले चित्त दुखाएका छन् । वरिष्ठ र अनुभवी सहसचिवहरुले विभिन्न मन्त्रालयहरुको महाशाखामा सीमित हुनुपर्ने तर कनिष्ठ र अनुभवहीनहरुले महत्वपूर्ण विभागमा अवसर पाएको भन्दै मुख्यसचिवको कार्यशैली प्रति असन्तुष्टि जनाएका छन् ।

 


सहसचिवहरुको सरुवा सूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका देवराज जोशी र रक्षा मन्त्रालयमा कार्यरत बावुराम अधिकारी, वन तथा वातावरण मन्त्रालयका प्राविधिक सहसचिव तारा दत्त भट्ट र अर्थ मन्त्रालय मातहत निकायमा कार्यरत लक्ष्मी प्रसाद निरौलाई  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरूवा गरिएका छ । उक्त मन्त्रालयमा कार्यरत सहसचिव गजेन्द्र ठाकुरलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा गरिएक छ । सोही मन्त्रालयमा कार्यरत सहचिव लीला प्रसाद शर्मालाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । 


लामो समयदेखि उद्योगमा रहेकी वरिष्ठ सहसचिव चन्द्रकला पौडेललाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।  उनी आगामी आर्थिक वर्षको मध्यतिर नै सचिव बढुवा हुने तयारीमा रहेकी छिन । उद्योग मन्त्रालयमा कार्यरत सहसचिव बाबुराम गौतमलाई भने अर्थमा सरुवा गरिएको छ । उनले वीरगंज भन्सार, ठूला करदाता कार्यालय र उद्योग विभागको महानिर्देशकको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।


सञ्चार मन्त्रालयमा कार्यरत सहसचिव नेत्र सुवेदीको गृह मन्त्रालयमा सरुवा गरिएको छ । उनले वाग्मती प्रदेश सचिव र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा रहेर जिम्मेवारी सम्हालिसकेका छन् । बाग्मती प्रदेशमा कार्यरत प्रकाश दाहाललाई भने हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागको महानिर्देशक रहेका चक्रबहादुर बुढालाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरिएको छ ।


अतिरिक्तमा दरवन्दी तर आकर्षक निकाय
प्रधानमन्त्री कार्यालयमा कार्यरत सहसचिव संगीता ओझालाई सामान्य प्रशासन अतिरिक्त समूहमा राखेर नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको कार्यकारी निर्देशकमा सरूवा गरिएको छ । उनलाई पर्यटन सचिव डा. दीपक काफ्लेको रोजाईमा प्रतिष्ठानमा सरुवा गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रतिष्ठानलाई मन्त्रालय मातहतको आकर्षक निकायको रुपमा लिने गरिएको छ ।


भरतपुर महानगरपालिकामा कार्यरत नरेन्द्रकुमार राना मेयर रेनु दाहालको सिफारिसमा मालदार मानिने अर्थ मन्त्रालयमा भित्रिन सफल भएएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत रामकृष्ण लामिछानेको सरुवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गरिएको थियो । तर, उनलाई मन्त्रालयले सिधै श्रम कार्यालय काठमाडौं ताहाचलमा खटाइएको छ । त्यहाँ कार्यरत सहसचिवलाई भने मन्त्रालयमा तानिएको छ ।


महिला मन्त्रालयकी सहचिव इन्दु घिमिरेलाई मुख्यसचिव अर्यालको रोजाईमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा खटाइएको छ । सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका राजेश गौतमलाई भने राष्ट्रिय योजना आयोगमा खटाइएको छ । कर्णाली प्रदेशबाट सहसचिव रमेश न्यौपानेलाई बाग्मती प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा खटाइएको छ ।


शिक्षा सेवा समूहका सहसचिव रुद्र अधिकारीलाई मधेश प्रदेशबाट संघीय युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिव प्रेमकुमार सिंहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । मेलम्ची खानेपानी विकास समितिमा कार्यरत प्राविधिक सहसचिव जक्की अहमद अन्सारीलाई भने मधेश प्रदेशको उर्जा मन्त्रालयमा सरुवा गरिएको छ ।


सहसचिव विपिन राजभण्डारीलाई संघीय भौतिक पूर्वाधार मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । मधेश प्रदेशमा कार्यरत दीपक दासलाई भने शहरी विकास मन्त्रालयमा भित्र्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत डा. प्रवीण श्रेष्ठलाई बाग्मती प्रदेश मन्त्रालयमा खटाइएको छ ।


३३ उपसचिवको सरुवा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई चरणमा गरी ३३ जना उपसचिवहरुको सरुवा गरेको छ । गएको बैशाख १७ गते २९ जना र त्यसअघि मन्त्रालयले चारजनाको सरुवा गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविता फुयाँल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव गोविन्द प्रसाद घिमिरेलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका दीपक ढकालको राष्ट्रिय योजना आयोग, गृह मन्त्रालयका हुमनाथ पराजुली र रक्षा मन्त्रालयमा कार्यरत केशर बहादुर पण्डितलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा खटाइएको छ । गृहका रेवती रमण शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरेश राज जोशीलाई पनि सोही मन्त्रालयमा खटाइएको छ ।


कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सुशीला अधिकारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकै उपसचिव कृष्ण प्रसाद शर्मा सुवेदीको शहरी विकास मन्त्रालय, सोही मन्त्रालयमा कार्यरत उपसचिव नारायण प्रसाद मैनालीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ । 


शहरी विकास मन्त्रालयकै डिल्लीराज श्रेष्ठलाई राष्ट्रिय योजना आयोग  र आयोगका उपसचिव नारायण खतिवडालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रहनेगरी निजामती कर्मचारी अस्पतालमा काज सरुवा गरिएको छ ।


शहरी विकास मन्त्रालयमा कार्यरत सिडिईद्वय विजय रानाको गृह मन्त्रालयमा  र सुरेश कुमार वाग्लेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । गृहका मोहदत्त भट्टको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालयका जितेन्द्र प्रसाद शर्मालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय खटाइएको मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सृजन जोगिजुलाई खानेपानी मन्त्रालयमा खटाइएको छ ।


गृहका निरोज बहादुर भुजेललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत गोविन्दराम पनेरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत तुलसीराम पोखरेललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।


अतिरिक्तमा दरवन्दी प्रदेशमा कामकाज
मन्त्रालयले कतिपय उपसचिवहरुलाई मन्त्रालयको अतिरिक्त समूहमा राखेर प्रदेश मन्त्रालयमा काजमा खटाइएको खबर छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत सुवर्णकुमार खड्का र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रकाश प्रसाद पोखरेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रहने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशमा काजमा खटाएको छ ।


गृहमा कार्यरत उपसचिव सुरेश सुनारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजु कुँवरलाई भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा खटाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निर्मला न्यौपानेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत रामकृष्ण अर्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयम कार्यरत जमुना मिश्रको राष्ट्रिय महिला आयोगमा र आयोगमा कार्यरत सिता निरौला फुयाँललाई महिला मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । (साँघु साप्ताहिक, २०८१ वैशाख २४)
 

प्रतिकृया दिनुहोस