काठमाडौं, बैशाख २१ गते । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ अभियान अन्तर्गत साउथ सुडान (UNMISS) जाने नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) को १२औं डफ्फालाई बिदाई गर्नुभएको छ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आयोजित विशेष समारोहमा आईजीपी अर्यालले शान्ति स्थापनार्थ जाँदै गरेका १२औं डफ्फाका सदस्यहरूलाई औपचारिक रूपमा बिदाई गर्नुभएको हो।
उक्त डफ्फा संयुक्त राष्ट्रसंघको अनुरोधअनुसार साउथ सुडानमा शान्ति सुरक्षा, मानवअधिकार संरक्षण तथा स्थायित्वका लागि नेपाल सरकारको तर्फबाट खटिन लागेको हो। बिदाई कार्यक्रममा महानिरीक्षक अर्यालले शान्ति स्थापनार्थ जाँदै गरेका सुरक्षाकर्मीहरूलाई नेपालको गौरव उच्च राख्न, अनुशासित र व्यावसायिक भूमिकामा समर्पित हुन निर्देशन दिनुभयो।
उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व अन्तर्राष्ट्रिय जगतमा गरिरहेको यो मिशन हाम्रो पेशागत क्षमताको अन्तर्राष्ट्रिय मान्यताको प्रतीक हो। तपाईंहरूले आफ्नो कार्यदक्षता, अनुशासन र कर्तव्यपरायणताबाट नेपाल र संगठन दुवैको प्रतिष्ठा अझ उच्च बनाउन सक्नुहुन्छ।”
एफपीयू टोलीमा उच्च प्रशिक्षित अधिकारी तथा जवानहरूको सहभागिता रहेको छ। यो टोलीले संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार विभिन्न चरणका तालिमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
नेपाल सन् १९५८ देखि नै संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सक्रिय सहभागी रहँदै आएको छ। अहिले पनि विभिन्न राष्ट्रहरूमा नेपालका सुरक्षाकर्मीहरू शान्ति स्थापनार्थ कार्यरत छन्।
कार्यक्रममा सशस्त्र प्रहरी बलका एआईजीपीहरू नारायण पाैडेल, बंशी दाहाललगायत उच्च अधिकारी, कर्मचारीका परिवार तथा पत्रकारहरूको उपस्थिति रहेकाे थियो ।
प्रतिकृया दिनुहोस