• शुक्रबार-बैशाख-२६-२०८२

गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत : रेड क्रस


जेनेभा, २५ वैशाख (रासस/एएफपी) : अन्तर्राष्ट्रिय रेड क्रस समितिले गाजामा जारी द्वन्द्वका कारण उत्पन्न भइरहेको मानवीय अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै इजरायलद्वारा सबै प्रकारका मानवीय सहायता प्रवेशमा लगाइएको प्रतिबन्धलाई ‘अस्वीकार्य’ भएको बताएको छ ।

 

रेड क्रसका महासचिव पिएर क्राहेनबुहले जेनेभामा पत्रकार सम्मेलनमार्फत भन्नुभयो, “गाजा पट्टीमा मानवीय सहायता प्रवेश गर्न नदिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत हो र यो तत्काल परिवर्तन आवश्यक रहेको विषय हो ।”

 

उहाँले वर्तमान परिस्थिति अत्यन्तै नाजुक रहेको जनाउँदै भन्नुभयो,“अबको केही दिन अत्यन्त निर्णायक छन् । हाम्रोमा सीमित औषधि तथा आवश्यक सामग्री रहेका छन्, जुन चाँडै समाप्त हुन सक्छ ।”

 

इजरायलले मार्च १८ देखि पुनः सैन्य कारबाही सुरु गरेपछि सहायता आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको हो । इजरायलले भने गाजामा मानवीय सङ्कटको अवस्थालाई अस्वीकार गर्दै हमासविरुद्ध थप कारबाहीको योजना बनाइरहेको बताइएको छ ।

 

महासचिव क्राहेनबुहले भन्नुभयो,“यदि अहिलेको अवस्था भविष्यको युद्धको नमूना हो भने, यसले हाम्रो मानवता र अन्तर्राष्ट्रिय मूल्यहरूमा गम्भीर प्रश्न खडा गर्छ । सबैले यस अवस्थालाई गम्भीरतापूर्वक लिनु जरुरी छ ।”

 

उहाँले सबै प्रकारका सहायता प्रयासहरूलाई सकारात्मक रूपमा हेर्न र सहयोग पुगोस् भन्ने आशयले अवरोध हटाउन आग्रह गर्नुभयो । “गाजाको सिमानामा ठूलो परिमाणमा सहायता सामग्री तयार अवस्थामा रहेको छ, जुन तत्काल प्रवेश गराउन सकिनेछ,” उहाँले स्पष्ट गर्नुभयो ।
---

प्रतिकृया दिनुहोस