• शुक्रबार-बैशाख-२६-२०८२

फेवातालमा बोट पल्टिँदा ७ जना फसे,  सेना र सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार 


पोखरा, बैशाख २५ — पोखराको फेवातालमा वैशाख २५ गते बिहीबार अपराह्न आएको हावाहुरीका कारण डबल प्याडल बोट पल्टिँदा तालमा फसेका सात जना पर्यटकलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ।

लेकसाइडस्थित पोखरा–६ को फेवातालमा बोटिङ गरिरहेको बेला एक्कासि आएको हावाहुरीले बोट पल्टाएको हो। तालको बीचमा फसेकाहरूमध्ये २५ वर्षीय सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रविण दिक्षित र २४ वर्षीय श्याम प्रजापति भारतीय नागरिक हुन्। उनीहरूसँगै पोखराको गुरुङ गाउँ निवासी नन्दबहादुर गुरुङ पनि बोटमा थिए।

 

घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट ताल नजिकैको फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोरसहितको टोली तुरुन्त परिचालित भएको थियो। उद्दारपछि नन्दबहादुर गुरुङको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई गण्डकी मेडिकल कलेज पठाइएको छ। अन्य यात्रुहरूको अवस्था सामान्य रहेको छ।

 

सुरक्षाकर्मीहरूका अनुसार, जलयात्राका क्रममा मौसमप्रति सतर्कता अपनाउन आवश्यक छ, विशेषगरी अप्रत्याशित हावाहुरी र मौसम परिवर्तनका समयमा।

प्रतिकृया दिनुहोस