काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहत रहेको निजामती कितावखाना(निजामती)तर्फले अवकाशमा जान लागेका कर्मचारीहरुको सही विवरण नराखेर चरम लापर्वाही गरेको पाइएको छ । कितावखानाको रेकर्डअनुसार सचिवबाट अवकाश हुन लागेका दुईजना सचिवलाई उसले सहसचिवको दर्जामा राखेको छ । जबकि, उर्जा आयोगमा कार्यरत सचिव मधुप्रसाद भेटवाल र गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम बिष्ट सचिव बढुवा भएर पनि अवकाशको मुखमा रहेका छन् । तर, यी दुई सचिवलाई कितावखानाले सहसचिवको रेकर्डमा राखेर गंभीर त्रुटि गरेको बताइन्छ ।
सचिव भेटवाल २०८२ जेठ ६ गते मंगलबार ५८ वर्षे उमेर हदकाकारण निवृत्त हुँदैछन् । यस्तै सचिव विष्ट पनि सोही कारण २०८२ जेठ २४ गते अवकाशमा जान लागेको सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीहरु सचिव बढुवा भएर उमेर हदका कारण घर जान लाग्दासमेत कितावखानाले भने आफ्नो रेकर्डमा सहसचिव दर्जा दिएको छ । उता, न्याय सेवा समूहका सचिव उदयराज सापकोटा यही जेठ अन्तिम हप्ता अनिवार्य अवकाशमा जाँदैछन् । उनी हाल कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवका रूपमा काम कार्यरत रहेका छन् ।
संघीय संसद् सेवाका सचिव सुदर्शन खड्का पनि २०८२ जेठ ३० गते अनिवार्य अवकाशमा जाँदैछन् । उनी अहिले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा कार्यरत रहेका छन् । परराष्ट्र सेवाकी सचिव सेवा लम्साल भने आगामी २०८२ असार ५ गते अनिवार्य अवकाशमा जाँदैछिन् । तर उनले यसअघि नै सचिव पदबाट राजीनामा दिएर बेल्जियमको राजदूत भएर मस्ती गरिरहेकी छिन् । चालु आर्थिक वर्षमा उमेर हदका कारण अनिवार्य अवकाशमा जाने सहसचिवहरूमा प्रशासन, इन्जिनियरिङ, परराष्ट्र र न्याय सेवाका यस प्रकार रहेका छन् ।
२०८२ जेठ ५ गते सोमवार प्रशासनतर्फका सहसचिव बद्री कार्की अवकाशमा गएका छन् । प्राबिधिक समूहका सहसचिव जक्की अहमत अन्सारी २०८२ जेठ १२ गते अवकाश हुँदैछन । सहसचिव अरुणकुमार झा आगामी २०८२ जेठ २२ र परराष्ट्र सेवाका सहसचिव हरिशचन्द्र घिमिरे भने जेठ २९ गते अवकाशमा जाने भएका छन । आगामी २०८२ असार ४ गते सहसचिव शिवराज चौंलागाई, २०८२ असार ८ गते रामचन्द्र काफ्ले र असार ९ गते तीर्थराज धिताल सेवा निवृत्तको सूचीमा दर्ज हुन पुगेका छन ।
इन्जिनियरिङ समूहका सहसचिव अजय मूल २०८२ असार ११ गते र सोही समूहका राजेश्वर मरहठ्ठा भने २०८२ असार १६ गते सेवा निवृत्त हुँदैछन् । हाल राजश्व अनुसन्धान विभागमा महानिर्देशक रहेका सहसचिव चण्डीप्रसार घिमिरे आगामी २०८२ असार १५, किरण रुपाखेती र नरहरी खतिवडा भने एकैदिन २०८२ असार २४ गते अवकाशमा जाने बताइन्छ । न्याय सेवाका सहसचिव गोबिन्द गौली भने २०८२ असार २८ गते सेवा निवृत्त हुन लागेका छन् । (साँघु साप्ताहिक, २०८२ जेठ ५)
प्रतिकृया दिनुहोस