काठमाडाैं । अमेरिका पुग्ने सपना कति नेपाली युवाको मुटुमा छ। राम्राे तलब, सुविधा, भविष्यको चम्किलो बाटो-यही आकांक्षाले सयौंले ऋण लिएर, जग्गा राखेर एजेन्टका ढोका ढकढक्याउँछन्। तर ती ढोकाहरू झुटका कारखाना साबित हुन्छन् ।
ठ्याक्कै यस्तै भयो रुकुम पश्चिमका शक्ति खड्का नाम गरेका व्यक्तिले बेचेको सपनामा । उनले राजधानी काठमाडौंमा एक युवालाई अमेरिका पठाइदिने भनेर ५५ लाख रुपैयाँ असुले-न त भिसा आयो, न त टिकट । पैसा लिएर सम्पर्कविहीन बनेका खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अन्ततः पक्राउ गर्यो।
कसरी पर्दाफास भयो योजना ?
प्रहरी उपरीक्षक तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार, पीडितबाट जाहेरी प्राप्त भएपछि खड्काको गतिविधिबारे निगरानी थालियो।
“हामीले पहिलो चरणमा पीडितसँग सम्पूर्ण विवरण लियौं -पैसा कसरी बुझायो, कति बुझायो, कस्तो आश्वासन दिएको थियो। त्यसपछि उनको सम्भावित बसोबास स्थानमा सूचना संकलन गर्दै गयौं,” आचार्यले भने।
उनी अनुसार, शक्ति खड्का काठमाडौँ महानगरपालिका-२६, नयाँ बसपार्क क्षेत्रमै लुकेर बसिरहेका थिए। २०८२ जेठ ९ गते विशेष निगरानीपछि खटिएको टोलीले उनलाई नियन्त्रणमा लिन सफल भयो।
सपना देखाउने तर सपना चोर्ने
३० वर्षीय शक्ति खड्का, स्थायी रूपमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–४, पोखरीका बासिन्दा हुन् । केही समयदेखि काठमाडौंमा नयाँ बसपार्कमा बस्दै आएका उनले आफूलाई ‘एजेन्ट’का रूपमा प्रस्तुत गर्दै अमेरिका रोजगारीको सुनौलो सपना देखाउँथे।
प्रलोभन दिने उनको शैली यस्तो थियो –
“तपाईंको अमेरिका भिसा लगभग पक्का छ।”
“अब मेडिकल जानुपर्छ।”
“तीन लाख अब, बाँकी पछि।”
तर पैसा बुझेपछि खड्का हराए । पीडितले सम्पर्क गर्न खोज्दा फोन उठेन। कहिले मोबाइल बन्द, कहिले झुटा बहाना ।
एक जना उजुरीकर्ता, अरू कति ?
यस घटनामा एक जना पीडितले उजुरी दिएका छन्। तर प्रहरी अधिकारी आचार्य भन्छन्- “त्यो संख्या बढी हुन सक्छ। यस्ता व्यक्तिहरू एउटै शैलीमा धेरैलाई ठग्ने गर्छन्। हामी अनुसन्धान गरिरहेका छौं, यदि अन्य पीडितहरू हुनुहुन्छ भने हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ।”
‘रोजगारीको नाममा ठगीविरुद्ध अभियान जारी छ’
सूचना अधिकारी आचार्यले बताउँछन्- “यस्ता ठगी गतिविधिका विरुद्ध हाम्रो कार्यालयले निरन्तर निगरानी राखिरहेको छ। रोजगारीको नाममा हुने ठगी, शोषण रोक्न हामी प्रतिबद्ध छौं।”
शक्ति खड्कालाई अहिले वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको छ र कानूनी प्रक्रिया अघि बढाइएको छ।
सबक : सजक बनौं, कानूनी प्रक्रिया अपनाऔं
शक्ति खड्काको घटनाले फेरि देखायो-केवल सपनामात्रै हो, त्यो सपनाको बाटो सही हाे र विश्वासिलो हुन्छ भनेर नपत्याउनुस् । वैदेशिक रोजगारीको नाममा न त मध्यस्थकर्ता भरोसायोग्य हुन्छन्, न त सजिलो बाटो। ठगहरूबाट सजग रहनु, प्रमाण खोज्नु, राेजगारी खुलेका कुनै देशका बारेमा अनुमति प्राप्त एजेन्टमार्फत मात्र अघि बढ्नु आजको प्रमुख शिक्षा हो ।
प्रतिकृया दिनुहोस