काठमाडौं, २०८२, जेठ १४गते । नेपाल र अमेरिकाबीचको आर्थिक सहकार्यको एउटा नयाँ अध्याय सुरु भएको छ। अमेरिकी राजदूत डीन आर. थोम्पसनले जेठ १४ गते बुधबार ललितपुरको झम्सिखेलमा अमेरिकी विश्वप्रसिद्ध बेकरी ब्रान्ड Cinnabon (सिनाबन) को पहिलो स्टोरको औपचारिक उद्घाटन गरेका छन्।
राजदूत थोम्पसनले उद्घाटन समारोहमा नेपालमा अमेरिकी लगानी र उपस्थिति बढ्दै गएको उल्लेख गर्दै सिनाबनको आगमनले दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। “सिनाबनजस्ता प्रतिष्ठित अमेरिकी ब्रान्डहरू नेपालमा भित्रिनुले यहाँको स्थानीय व्यापारमा नयाँ उर्जा थप्नुका साथै रोजगारीका अवसर सिर्जना गर्नेछ,” राजदूत थोम्पसनले उद्घाटन कार्यक्रमका क्रममा भने।
विश्वस्तरीय स्वाद अब झम्सिखेलमा
सिनाबन संसारभर आफ्ना बेजोड सिनामन रोल (दालचिनी परिकार) का लागि प्रसिद्ध छ। अब सो स्वाद नेपाली उपभोक्ताले पनि झम्सिखेलमा अवस्थित नयाँ स्टोरमार्फत अनुभव गर्न पाउने भएका छन्। स्वादमा मात्र होइन, ब्रान्डको व्यवसायिक मोडेलले आसपासका स्थानीय व्यवसायहरूमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा भनिएको छ, “सिनाबन-विश्वस्तरीय दालचिनी रोलका लागि प्रसिद्ध-संयुक्त राज्य अमेरिका र नेपालको व्यापारिक सम्बन्ध र साझा अवसरको प्रतिनिधित्व गर्दछ। यस्ता ब्रान्डहरूको उपस्थिति स्थानीय व्यवसायहरूलाई सहयोग, रोजगारी सिर्जना र दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ गहिरो बनाउने कार्यमा महत्वपूर्ण हुन्छ।”
नेपाल–अमेरिका व्यापार सम्बन्धको सुदृढीकरण
अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपाल भित्रनु केवल उपभोक्ताको स्वादमा विविधता ल्याउने मात्रै होइन, दीर्घकालीन रूपमा नेपालको बजारमा विदेशी लगानी भित्र्याउने सन्देश पनि हो। सिनाबनको उपस्थितिले नेपाली बजारमा अमेरिका लगायतका अन्य मुलुकका प्रतिष्ठित ब्रान्डहरू आकर्षित गर्ने वातावरण बनाउन सक्ने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।
उद्घाटन कार्यक्रममा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, नेपाली व्यवसायी, खाद्य तथा पेय क्षेत्रका विशेषज्ञ, र आम ग्राहकहरूको उपस्थिति रहेको थियो। झम्सिखेलस्थित सिनाबन स्टोर पूर्णरूपमा सञ्चालनमा आइसकेको छ र दैनिक ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।
अब तपाईं पनि झम्सिखेल पुगेर विश्वविख्यात सिनाबनको स्वाद चाख्न सक्नुहुन्छ। तपाईंले चाख्नुभयो त?
प्रतिकृया दिनुहोस