काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को डिएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक-२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले मध्यपुर ठिमी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो ।
मध्यपुर ठिमी नगरपालिका-५ कमेरोटार बस्दै आएका थापाले सीआईबीको डिएसपी भन्दै जबरजस्ती करणीको मुद्दा मिलाइदिने बहानामा एक जनाबाट ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिन थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ । थापा २०७५ सालमा समेत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका थिए ।
यस्तै, सीआईडी प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर थाहा नगरपालिका-७ का ३४ वर्षीय रामकुमार सापकोटा र बाजुरा बुढिनन्दा नगरपालिका-३ का २८ वर्षीय ओब्जन चदारालाई कीर्तिपुर ट्याङ्लाफाँटबाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूले वैदेशिक रोजगारीका लागि दुबई जाने प्रयोजनमा ३० लाख ठगी भएका व्यक्तिको पैसा उठाइदिने भन्दै ४ लाख ५० हजार ठगी गरेको उक्त कार्यालयले जनाएको छ । नगद लिएपछि ग्लोबल आईएमई बैंकको २ लाख ५० हजार रुपैयाँको चेक कटाएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
दुबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ ।
प्रतिकृया दिनुहोस