(रानाभाट नेपाली कांग्रेसका पुराना नेता हुनुहुन्छ । पंचायती व्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएका उहाँ नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै महामन्त्रीको जिम्मेवारीसमेत संहाल्नु भएको थियो । २०४६ सालमा नेपाली काँग्रेससहित बाममोर्चा मिलेर पंचायतको अन्त्यका लागि जनआन्दोलन भएको थियो । जनताको आन्दोलनको बलवाट मुलुकमा प्रजातन्त्र स्थापना भयो । त्यसपछि ०४८ सालमा आम निर्वाचन हुँदा उहाँ कास्की क्षेत्र नम्बर १ बाट पहिलो पटक निर्वाचन जितेर संसदीय यात्रा तयगर्न सफल हुनुभयो । यो निर्वाचनमा नेपाली काँग्रेसले बहुमत पनि ल्यायो । त्यसबखत राणाभााटलाई पहिलो पटक कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत बन्ने अवसर मिलेको थियो । तर, बहुमतको सरकार लामो समय टिक्ने सकेन । पार्टीभित्र आन्तरिक किचलो बढ्दा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले संसद विघटन गर्नुभयो । त्यसपछि २०५१ सालमा मध्यावधि निर्वाचन गरियो तर उहाँ भने पराजित हुनु भयो । २०५६ सालको आम निर्वाचतमा भने राणाभाट कास्केली जनताको मन जितेर पुनः निर्वाचित हुँदै दोश्रो पटक संसदीय यात्रा तय गर्न सफल हुनुभयो । यसपटक भने उहाँलाई संसदको सभामुख बन्ने अवसर जुरेको थियो । हाल, नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भूमिकामा नरहेतापनि मुलुकको राजनीतिक अवस्थालाई भने आफूले नजिकबाट नियालीरहेको उहाँ बताउनु हुन्छ । मुलुकको पछिल्लो अवस्था, गणतन्त्रविरुद्ध उठेका आवाज, राजनीतिक घटनाक्रम, दलहरुको गतिविधिलगायत मुलुकको समसामयिक राजनीतिमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि रामहरी चौंलागाईंले राणाभाटसँग २०८२ जेठ १५ गते गरेको कुराकानीको सम्पादित अंशः सम्पादक)
० मुलुकको वर्तमान राजनीतिलाई तपाईंले कसरी नियालिरहनु भएको छ ?
सामान्य रुपमा भन्नुपर्दा देशको अवस्था सन्तोषजनक छैन । हामी सार्वभौम सम्पन्न स्वतन्त्र मुलुकका नागरिक पनि हौँ । जसले गर्दा हामी स् भाग्यमानी पनि हौं । नेपाल जहिले पनि स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको रुपमा रहेको थियो । त्यसबखत पनि विदेशी शासकबाट जोगाएर राख्न हाम्रा पितापुर्खाले लडेका थिए । इतिहासमा पनि एउटा गोरखाली भनेर मान्यताप्राप्त ‘बहादुरी’को नाम, सान हामीसंगै छ । जहाँ गएपनि युद्ध जितेर आएको गौरवमय इतिहास हाम्रो छ । यीबाहेक हाम्रो मुलुक अझ प्राकृतिक हिसावले सुन्दरता बोकेको पनि छ । यति हुँदा पनि मुलुक निर्माणमा राजनीतिक दलका नेताहरुले जोश, जाँगरका साथ तत्परता देखाएकै छैनन् । जसले गर्दा नेपाली जनतामा आशा जगाउने भन्दा पनि निराशा बढाउने कार्य बढी हुन पुगेको छ ।
० राजनीतिक नेतृत्वले सर्भिस डेलिभरी विषयमा ध्यान नपु¥याउँदा आम नागरिकमा थप निराशा बढेको गुनासाहरु बढेका छन, तपाईंको बिचारमा अब राजनीतिक कसरी बढ्नु पर्ला ?
हामीकहाँ धेरै धर्मालम्बीहरुको बसोबास रहेको छ । जुनसुकै धर्म माने पनि हामी सबै एकाघरका दाजुभाई सरह मिलेर बसेका छौँ । सबै सुखदुःख मर्दाका मलामी र पर्दाका साथीसंगीहरु भएर बसेका छौँ । यो विश्वकै दुर्लभ संस्कार र संस्कृति आजको पनि होइन, हजारौं वर्षदेखिको हो । यस्ता संस्कारबाट हामी हुर्केका हौं । विगतमा पनि हाम्रा पिता र पुर्खाहरु साम्राज्यवादीको अण्डरमा कहिल्यै पर्नु परेन । सुख समृद्धिको विषयमा भन्नुपर्दा विश्वका धेरै देशका मानिसहरुको आकर्षण नेपालप्रति देखिन्छ । यी कारण पनि हामी सबैभन्दा उच्च स्वाभिमान बोकेका नागरिक रुपमा स्थापित छौँ । हाम्रो मुलुक मन्दिरै मन्दिरको धनी मात्रै होइन, हिमाल, जलस्रोत, प्राकृतिक सम्पदा र प्राकृतिक स्रोतको अथाह धनी मुलुक मानिन्छ ।
० यी विषयमा सरकारको नेतृत्व गरेका दलहरुले किन ख्याल नगरेका होलान् त ?
वैज्ञानिकहरु भन्छन् ः नेपालको भू–गर्वमा अथाह सम्भावनाहरु छन् । वन जंगल बहुमूल्य जडिबुटी र औषधीजन्य गुण भएका बनस्पतिहरुले भरीपूर्ण छ । त्यति हुँदा पनि विदेशी शक्तिले नेपाललाई आँखा लगाउने गरेका छैनन् । यस्तो स्वीजरल्याण्डको उपमा पाएको मुलुक हो नेपाल । राज्य सञ्चालन गर्नेहरुले प्रणालीमा ध्यान नदिंदा स्वीजरल्याण्ड जस्तो प्रगति गर्नै सकेनौँ । छिमेकी देश भारत र चीन विश्व सर्वमान अर्थतन्त्रमा लम्किरहँदा नेपाल आन्तरिक राजनीतिक अस्थिरतामा रुमलियो । तरपनि हाम्रो भू–राजनीतिक सन्तुलन भने यथास्थानमा नै रहन सकेको छ । नेपाललाई प्राकृतिले सबैथोक उपहार दिंदादिंदै पनि नेपालीको दुर्भाग्य राजनीतिक नेतृत्वले विचार पु¥याउन सकेन् । उद्योग धन्दा, कलकारखाना स्थापनामा जोड दिइएको छैन । जसका कारण युवाशक्तिले रोजगारी नपाउँदा लगातार विदेशिनेक्रम बढिरहेको छ ।
० यसको मतलव सरकारले युवा जनशक्तिलाई मुलुकभित्र रोजगारी दिन नसक्दा विदेश पलायन भएका हुन् हो ?
हाम्रा युवाहरुले जतिसुकै अध्ययन गरेपनि विदेश जानैपर्ने नियति विकसित भइरहेको छ । यो नियति कहिलेसम्म भन्ने गम्भीर प्रश्नसमेत उठिरहेको छ । हामीले भन्दा, गफ दिंदा विकासोन्मुख मुलुक भनेर भन्छौं तरपनि सो स्थिति र अवस्थामा सुधार ल्याउन असग्रर हुन किन सकिरहेका छैनौ ? प्रविधिको विकाससंगै युवापुस्तामा लहलहै र देखासेखी गर्ने अवस्थामा बढोत्तरी हुँदै गएको पनि छ । सामाजिक संजालले गर्दा हरेक कुरालाई नजिकबाट र सहज रुपमा अध्ययन, नियाल्न सकिने अवस्था पनि बनाइ दिएको छ । तरपनि हाम्रो आर्थिक अवस्थामा सुधार भने आएको छैन् । यथार्थमा हाम्रो आधार र धरातल के हो, अरु देशसंग तुलना गर्ने भन्नेतिर हामी गएनौ । हाम्रो नीति मात्र समाजवाद रह्यो तर अवस्था भने जहाँको त्यहीँ जकडिएर बसिरहेको छ ।
० तपाईंको भनाई वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र सत्ता साझेदार नेपाली कांग्रेसले पनि आम नेपाली जनतामा भरोसा र आशा जगाउन नसकेको भन्ने हो ?
वर्तमान सरकार मात्रै भन्दा पनि धेरै अघिबाट चल्दै आएको शासनका अभ्यासहरु गतिशील हुन सकेनन् । युवा जनशक्ति दिनहुँजसो अध्ययन वा रोजगारीका नाममा विदेशिनुपर्ने कारण के हो र यसको जिम्मेवारी कसले लिने यसको समीक्षा गर्नु जरुरी भइसकेको छ । मलाई लाग्छ यसको कारण हामी आफै नै हौँ भन्ने लाग्छ । अझ यस्तो अवस्था आउनुको हाम्रै सामन्त सोच बोकेका राजनीतिक दलहरुकै असक्षमताले गर्दा हो । हिजो राणा शासनकालमा पनि मुलुकलाई पराई साम्राज्यवादबाट जोगाएका थिए । तर, विकास निर्माणको गतिलाई अहिलेको नेतृत्वले जस्तो दिन सकेको थिएन् । प्रजातन्त्रमा हामी जनताको मत लिएर शासन गर्ने भन्छौँ । तरपनि एकले अर्को दलसंग नमिल्ने प्रवृत्ति पनि देखिन्छ । प्रजातन्त्रमा एकले अर्को दलसंग मिलेर सरकार बनाउने कुरा उचित र स्वभाविक पनि मानिन्छ ।
० नेपाली काँग्रेसले राणाशासनदेखि पंचायत फाल्न पनि ठूलै राजनीतिक लडाईं त लड्यो तर मुलुकको सर्वाङ्गीण विकासमा भने ध्यान किन नदिएको होला ?
नेपाली काँग्रेस, जसले प्रजातन्त्रको सपना देख्यो । राणाशासन फालेर प्रजातन्त्रको बिजारोपण ग¥यो, चुनाव पनि भयो । नेपाली जनताले श्रद्धा पनि देखाए र दुई तिहाई जनमत त्यसबखत प्राप्त ग¥यो । नेपाली जनताले पत्याएका र विश्वास गरेर जननायक बीपी कोइराला जस्ता नेताहरु पनि मुलुकमा थिए । राणा शासनको अन्त्य गरेर आफ्नै देशभित्र विकास निर्माणलाई तीव्रता दिने, मुलुकभित्रै रोजगारी पाउने अवस्थाको प्रारम्भ पनि भयो । तर, सामन्तवादी शासन व्यवस्थाले प्राजातन्त्र नै खाइदियो । अनि २०१७ सालमा पञ्चायत व्यवस्था आयो । त्यसपछिको ३० वर्ष मुलुकको गौरवमय समय पञ्चहरुले खाइदिए । यतिखेर केही नेपालीहरु गरिब होलान, तरपनि आफ्नो बालबच्चा उनीहरु स्वयम्ले पढाएका छन् ।
० यतिखेर मुलुकमा केही पनि भएन र गरिएन भन्ने भाष्य सिर्जना गरिएको छ यो कुरा सही हो त ?
हिजोको देशको अवस्थामा केही सुधार त भएको छ नै । तर, जुन किसिमले मुलुकमा उद्योग, कलकारखानाको स्थापना गरी विकास गर्नुपर्ने थियो, त्यो भने हुन सकिरहेको छैन । हाम्रो देशको वन जंगल र पाखा पखेरामा जडिबुटी र बनस्पतिहरुको अथाह खानी रहेको छ । समयमै त्यसको पहिचान गर्न हामीले सकेनौ । यीलगायत राज्यले समयमै विकास निर्माणका कामहरु अगाडि बढाउन सकेन । जसमा राज्य संचालकहरुको ठूलो कमी कमजोरी रहेको छ नै । पछिल्लो समय सरकार संचालन गर्ने राजनीतिक दलहरु स्वयम्मा सामन्ती सोच हावी भएको देखिन्छ । जसको परिणाम आम जनतामा निराशाबाहेक अरु केही छैन् ।
० मुलुकका ठूला राजनीतिक दलहरुले राम्रो काम नगरेका कारण यतिखेर इतिहासको पानामा थन्केको राजतन्त्रको पक्षमा वकालत गर्नेक्रम बढेको हो त ?
त्यो पनि होइन् । हिजो प्रजातन्त्रको स्थापना गर्दा जुन किसिमको सपना नेपाली जनतालाई देखाइएको थियो, त्यो हिसाबमा मुलुक अघि बढ्न सकेन । हिजोको दिनमा नेपाली जनतामा गरिएको बाचा अनुसार सरकार र शक्तिशाली दलहरु अगाडि बढ्न सकेको भए आज मुलुक स्वर्ग बन्ने थियो । तर, विडम्बना हामीकहाँ सामन्तवादी सोच बोकेकाहरु नै बढी हावी हुन पुगेका छन् ।
बिचौलिया, दलाल, सामन्ती सोच भएकाहरु सरकारमा हावी हुँदा अर्कोलाई टाउको उठाउनै नदिने प्रवृत्ति मौलाएको छ । आफू मात्र कमाउने र अरुलाई नोकर सरह नै सम्झिने सामन्तवादी सोचका कारण पनि मुलुकको स्थिति कमजोर भएको हो । यो सोच तपाईं हामीबाट अझै पनि हट्न सकेको छैन । अझै पनि आफूलाई त्यही स्तरको सम्झिने र ठान्नेहरुमो जमात ठूलै छ ।
० आश्वासन त दलहरुले नेपाली जनतालाई गुलिया र मिठा बाँडेका छन्, होइन र ?
बाँडेर मात्र भएन व्यवहारमा पनि उतारेर देखाउनु प¥यो अनि जनताले पत्याउलान् । प्रजातन्त्र भनेर नक्कल त गरेका छौँ, तर जनताले दलहरुका यी सबै कुरा बुझिसकेका छन् । पहिला पहिला नेताहरु विदेशमा पढ्न गएपनि स्वदेश फर्किएर केही गरौं भन्ने भावना राख्थे । अहिले त यता पढेर पनि झनै विदेश जानुपर्ने बाध्यात्मक अवस्था छ । यो कसका कारणले भयो भनेर दलहरुले आत्मसमीक्षा गर्नैपर्छ । आफू अलिकति माथि पुग्यो भने अरुलाई हेपिहाल्ने संस्कारमा बढोत्तरी भइरहेको छ । यही कारण समाजका आफ्नै दाजुभाईमासमेत विभेद बढ्दै गएको देखिन्छ । यही सामन्ती सोच ठूला राजनीतिक दलमा बढेपछि मुलुकको अवस्था खस्किएको हो जस्तो लाग्छ ।
० आम निर्वाचबाट उदाएका नयाँ राजनीतिक दलहरुलाई माथि उठ्न नदिने खेल यतिखेर हावी हुनुको कारण पनि यही नै हो त ?
हिजोका दिनमा राणा शासनको विरुद्धमा हाम्रो पुर्खाहरुले खबरदारी गर्दा भोलिका दिनमा उनीहरु शासनको अन्त्य हुन्छ भन्ने सोचेका पनि थिएनन् । तरपनि राणा शासनको अन्त्य भएर नै मुलुकमा प्रजातन्त्रको सुरुवात भएको थियो । प्रजातन्त्र पछिका एकदशकभित्र जसरी कानून निर्माण, विकास निर्माणले जनताको अवस्थाले फड्को मार्नुपर्ने थियो, त्यो विषयमा राजनीतिज्ञहरुमा सोच आउन सकेन् । यतिखेर हामी हाम्रै बलबुताबाट यहाँसम्म आइपुगेका हौँ । व्यवस्था परिवर्तन भयो तर अवस्थाको परिवर्तन हुन सकेन् । त्यसकारणले पनि नेपाली जनतामा नयाँ दलहरुप्रति आकर्षण बढेको देखियो । तर, नयाँ दलहरु नै एकपछि अर्कोगरी विभिन्न नयाँ किसिमका विवादमा फसेका कारण जनता झनै दोधारमा परेको पाइएको छ ।
० धर्म निरपेक्षता होइन, मुलुकलाई हिन्दु राज्य कायम गर्नुपर्ने माग भइरहेको छ, यो मागलाई तपाईंले कसरी लिनु भएको छ ?
हिन्दुराज्य त हिन्दुराज्य नै हो नि नेपाल । हिन्दु धर्म, यो सन्देश विश्वव्यापी भइसकेको छ । अहिले हिन्दु धर्मको ग्रन्थ विश्वका धेरै मुलकका मानिसहरुले अध्ययन र अनुसन्धान सुरु गरिसकेका छन् । कतिपय विदेशी मुलुकहरु पनि हिन्दु धर्ममा आकर्षित हुँदै गइरहेका छन् । हाम्रो संस्कार, संस्कृति, धर्मको आकर्षणको प्रभाव कतिपय विदेशी मुलुकमा पनि पर्दै गएको छ । तर, हामी ठ्याक्कै उल्टो दिशामा गएका छौँ । हामी आफ्नो संस्कृतिको जर्गेना गर्न नसक्ने र नक्कल गरे पनि जस्ताको त्यस्तै कार्यान्वयन गर्न पनि नसक्ने अवस्थामा रहेका छौं ।
० यसको मतलव हामी अर्कोको नक्कल गर्ने अग्रसर हुने तर कार्यान्वयन गर्न नसक्ने भन्ने हो ?
हामीले नक्कल नै गर्ने हो भने युरोपका मुलुकहरु जस्तै विकास गर्न सक्नुप¥यो नि । अहिले त नक्कलको नाममा केवल सोच, कला, संस्कृति रहनसहन मात्र परिवर्तन भएको छ । तर, मुलुकको अर्थतन्त्रमा कुनै उल्लेखनीय सुधार हुन सकिरहेको छैन । वर्तमान अवस्थामा युवापुस्ताका कक्षा १२ अध्ययन पूरा गर्नासाथ विदेश जानुपर्ने बाध्यात्मक अवस्था रहेको छ । हिजोका दिनमा मुलुकको राजनीतिक परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको हो । तर, अवस्था परिवर्तनको नेतृत्व अहिलेसम्म कुनै पनि राजनीतिक दलबाट उचित ढंगले हुन सकेको छैन ।
० तपाईंको विचारमा हाल मुलुकलाई अभिभावकीय रुपमा राजसंस्थाको खाँचो छकि छैन ?
इतिहासको अध्ययन गर्दा जुन समयमा राणा शासनको युग थियो, त्यो समयमा कसैले पनि नयाँ र आधुनिक युगको परिकल्पना गरेको थिएन । तर, समयले माग ग¥यो, राणा शासन पनि ढल्नुपर्ने अवस्थामा पुग्यो । यदि, हामी पनि समय अनुकूल, जनभावना अनुकूल, विश्वपरिस्थति अनुकूल चल्न सकेनौ भने के हुन्छ, भन्न सकिंदैन । नयाँ परिवर्तन भयो तर सो प्रणाली अनुकूल, संस्कृति र व्यवहारहरुमा परिवर्तन आउन सकेन । जसका कारण व्यवस्था माथि असन्तुष्टिहरु बढेका छन् । हामीले जनभावना अनुसार परिवर्तन गर्न सकेनौ भने त्यो अवस्था आउँन पनि सक्छ ।
० हाम्रा छिमेकी मुलुकहरुको भ्ूमिका चाहिं कस्तो देख्नु हुन्छ ?
आज हाम्रा विशाल छिमेकी मुलुक भारत र चीनले विश्व अर्थतन्त्रमा अग्रमामी छलाङ् मारिरहेका छन् । तर, नेपाल अझै पनि आन्तरिक राजनीतिक विवादमा रुमलिइरहनु दुखद विषय पनि छ । दलहरुबाट नेपाली नागरिकले चरम निराशा भोगिरहेका छन् । यही कारण राजसंस्थाको पक्षमा भन्दा पनि दलहरुको व्यवहारको विपक्षमा जनता उभिन खोजेको देखिन्छ । तरपनि तत्काल यो सम्भव पनि छैन । हिजोका सामन्त र शासकहरु जस्तै आजका राजनीतिक दलहरु नसुध्रिएको खण्डमा भने यसै भन्न सकिन्न ।
० तपाईं आफैं संसदीय व्यवस्थाको सभामुख भएर संसदको नेतृत्व गर्नुभयो, पहिले र अहिले संघीय गणतान्त्रिकको संसदमा के फरक देख्नु भएको छ ?
व्यवस्था परिवर्तन भएपनि पात्र उनै छन् । त्यसकारण पनि स्वभाविक रुपमा अहिलेको व्यवस्थाले जनअपेक्षा अनुसारको काम गर्न सकेको छैन । यही कारण मुलुकमा आशातित परिवर्तन हुन सकेन् । प्रकृतिको हिसावले अरु देश भन्दा नेपाल धेरै धनीे छ । आम्दानीका हिसावले स्रोतहरुको कुनै कमी छैन । तरपनि सरकारको नेतृत्वहरुमा रहनेहरुमा सामन्ती सोच, शैली, व्यवहार हट्न सकेन । उनीहरु अस्वस्थ प्रतिस्पर्धा, विदेशीको प्रभाव र स्वार्थमा परेको देखिन्छ । नेपाली जनता विभाजित हुँदा, विचार र सिद्धान्तमा भिन्नता रहेकाले मुलुक निकै पछि परिरहेको छ । केही विदेशी शक्तिहरु त नेपाललाई यस्तै अस्थिर अवस्थामा राख्न सकेको खण्डमा यहाँ मज्जाले खेल्न पाइन्छ भन्ने चाहना राख्दै आएका पनि छन् ।
० नेपाललाई एकजुट राख्न त हाम्रै भूमिका र जिम्मेवारी होइन र ?
हामीमा एकता भएन्, स्वस्थ्य प्रतिशस्पर्धाबाट अगाडि बढ्न सकिएन पनि कमजोरी हाम्रै हुन्छ । तर, यो भएन, चुनाव केन्द्रित राजनीति गर्ने काम भएको खण्डमा असर पर्छ नै । सामन्तवादी सोच बोकेकाहरुले अहिले पनि आफू अनुकूल काम गरिरहेका छन् । आज शिक्षाको गुणस्तर खस्किंदै गएको छ, मुलुकमा रोजगारी सिर्जना गर्न सकिरहेको छैन । यी सबै विषयलाई मध्यनजर गर्दै राजनीतिक रुपमा हावी हुन बन्द गरेर सबै मिलेर मुलुक बनाउने अभियानमा लागेको अवस्थामा पक्कै कोल्टे फेर्नेछ ।
० प्राकृतिक खनिजको उपयोग र धार्मिक पर्यटनको विकास गर्न सकेमात्र पनि नेपालले फड्को मार्न सक्छ भन्ने भनाईहरु बाहिर आइरहेका छन् तर यसतर्फ तपाईंको अनुमानमा सरकारको ध्यान किन जान नसकेको होला ?
विदेशीले दिएको सहयोग रकमको उचित प्रयोग गरिएको छैन । औद्योगिक मुलुक बनाउँदै, प्रकृतिले हामीलाई उपहार दिएको बस्तुलाई उत्खनन् गरेर उपयोग गर्न सकियो भने हामी समुन्नत मुलुक सजिलै बन्न सक्छौं । सरकारले पनि त्यसरी सोच र योजना बनाएर अगाडि बढ्न सकेको अवस्थामा साँच्चिकै मुलुकलाई स्वर्ग बनाउन सकिन्छ । स्वीजरल्याण्ड भन्दा पनि नेपाललाई राम्रो र समुन्नत बनाउन सकिन्छ । हिमाल, प्राकृतिक सम्पदाहरु, बहुमूल्य जडिबुटी, जलविद्युतको सदुपयोग गर्न सकियो भने देशमा कायापलट गर्न धेरै समय लाग्दैन । यस्तो स्वर्ग जस्तो मुलुकलाई आज केही गलत सोच भएका भ्रष्ट, लोभीपापी, बिचौलियाहरुले आफ्नो इसारामा चलाइरहेका छन् । यसको अन्त्य गर्दै विकास निर्माणको नयाँ सुरुवात गर्ने विषयमा अब ढिलाई गर्नु हुँदैन ।
० सिंहदरवारको अधिकार गाउँघरमा पु¥याएको डिङ् हाँकेपनि नेपाली जनताले त्यस्तो अनुभव गर्न नपाएको गुनासो गरिरहेका छन, यी विषयमा तपाईंको धारणा के छ ?
मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रहेको छ । संघीयताको खाकासहितको २०७२ सालको संविधानले केन्द्रीय सरकारसंगै सात प्रदेश सरकार र ७ सय ५३ वटा स्थानीय सरकारको परिकल्पना गरेको थियो । यो व्यवस्था कार्यान्वयनमा आएतापनि नेपाली जनता सन्तुष्ट हुन सकिरहेका छैनन् । तीन तहका सरकारले आ–आफ्नो क्षेत्रमा विभिन्न योजना, कामहरुलाई अघि बढाइराखेका छन् । तरपनि जनताको अवस्था परिवर्तन र विकास निर्माणले गति लिन सकेको छैन । केन्द्रमा सरकार परिवर्तन हुनासाथ प्रदेशमा पनि राजनीतिक दलहरु ढाल्ने र गठन गर्ने चलखेलमा व्यस्त हुने गरेका छन् ।
अझ गाउँघरको सिंहदरवार भनिएका स्थानीय तहमा भ्रष्टाचार, अनियमिताताको केन्द्र बन्दै गएका छन् । जसले गर्दा आम नेपाली जनतामा निराशा बढ्दै गएको छ । मुलुकमा प्रजातन्त्र स्थापनापछि जतिपनि राजनीतिक दलहरुले सरकारको नेतृत्व गरेका छन, उनीहरुमा पनि राणा, पूर्व राजाहरुमा जस्तै गरी सामन्ती सोच हावी हुँदै गएको छ । यही कारण जनताको अवस्थामा परिवर्तन आउन सकेको छैन । (साँघु साप्ताहिक, २०८२ जेठ १९)
प्रतिकृया दिनुहोस