• शनिबार-जेठ-२४-२०८२

‘अन्तर्बोधः जीवन चेतना र अनुभूति’ : मन रुपी उपहार लाई नबिर्साैं कि ?

 

परिवारका लागि गर्वको विषय हो–हाम्रा आदरणीय गुरु, बुबा दशरथमान सिंह र हजुरबुबा रामकृष्ण श्रेष्ठसँगको पारिवारिक सम्बन्धका कारण प्रा. डा. श्रीकृष्ण श्रेष्ठ हामीका ‘दाइ’ हुन् । प्रा. श्रेष्ठ र उनकी शिष्या शर्मिला बगालेद्वारा संयुक्त रूपमा लिखित पुस्तक ‘अन्तर्बोधः जीवन चेतना र अनुभूति’ हालै विशेष समारोहबीच लोकार्पण गरिएको थियो । विद्वानहरूको सहभागिता र गहिरो समालोचनाले कार्यक्रमलाई विशेष बनायो ।


पुस्तकको अंग्रेजी अनुवाद Intuition, Life Consciousness and Feeling हो । सत्रवटा खण्डमा बाँडिएको यो कृति विशुद्ध आध्यात्मिक चिन्तनमात्र होइन, जीवन दर्शन, चेतना, विवेक, बुद्धि, विचार र मानव अस्तित्वसँग जोडिएका सूक्ष्म अनुभूतिहरूको लेखाजोखा हो ।


“सहज मन एक पवित्र उपहार हो, र तर्कसंगत मन एक सेवक” भन्ने भनाइ (प्रायः आइन्स्टाइनसँग जोडिने) पुस्तकको मूल मर्मसँग मेल खान्छ । अन्तर्बोधले यिनै दुईको सन्तुलन खोज्ने प्रयत्न गर्छ–जहाँ ज्ञान बाह्यतामा होइन, आन्तरिक अनुभूतिमा पत्ता लाग्छ ।


प्रा. डा. कृष्ण खनालले ‘पाठकीय अनुभूति’ शीर्षकमा लेख्दै पुस्तकलाई गुरुकुल परम्पराको जीवन्त प्रमाण भनेका छन् । उनी यसमा तथ्यपरक शोधभन्दा गहिरो जीवनदर्शनको विमर्श भएको बताउँछन् । तथापि फुटनोट र उद्धरणको अभाव जस्ता सम्पादन पक्षमा काम गर्नुपर्ने सुझाव पनि दिएका छन् ।समीक्षाका क्रममा पुस्तक पढ्दा रजनीश (ओशो) र निचिरेन दैशोनिनका शिक्षाहरू सम्झन लायक लाग्छ । निचिरेनले भनेका थिए, “यदि मन अशुद्ध छ भने, परिवेश पनि अशुद्ध हुन्छ”अन्तर्बोध यही मनको शुद्धता खोज्ने यात्रा हो ।


पुस्तकले जीवनका मूलभूत प्रश्नहरू–अस्तित्व, चेतना, विवेक, विचार, दुःख–सुखको आत्मीय बुझाइमार्फत खोतल्ने प्रयास गर्छ । ‘पुस्तकको रचना गर्भ’ शीर्षकमा लेखिएको छ, “अध्ययन, अवलोकन र अनुभवबाट निचोरिएको भावलाई अन्तरमनले स्वीकार्नु नै बोध हो ।” यसले दर्शनलाई दुरूह सिद्धान्त होइन, व्यवहारमा अनुभूत गर्न सकिने यात्राको रूपमा प्रस्तुत गरेको छ ।
शब्दावलीमा कतिपय क्लिष्टता देखिए पनि–जस्तै Philosophical Background या Research, Dimensions या the Question आदि–शोधका विद्यार्थीलाई उपयोगी लाग्न सक्छ, तर सामान्य पाठकका लागि सजिलो पाराले राखिएको भए अझ राम्रो हुन्थ्यो भन्ने अनुभव भयाु ।


पुस्तकका खण्डहरूमा ‘जगत जीवनः यथार्थ र अनुभवको संगम’, ‘चेतनाः मानवमा अन्तर्निहित अनन्त तत्व’, ‘विवेकः सद्गुणको आधार’, ‘विचारः जीवनको सकारात्मक ऊर्जा’ आदि विषय समेटिएका छन् । यसले अध्यात्म र व्यवस्थापनलाई समाहित गर्ने शैली अपनाएको छ, जुन दुर्लभ संयोजन हो ।


प्रा. श्रीकृष्ण श्रेष्ठ व्यवस्थापनका अध्यापक हुन् भन्ने बुझाइ थियो तर दर्शनशास्त्रमा पनि यति गहिरो प्रवेश रहेको देख्दा अचम्म लाग्यो । उहाँको नेवार पृष्ठभूमिबाट यस्तो सूक्ष्म, जीवन्त र सशक्त कृति आउनु आफैमा प्रेरक छ । तानसेन, पाल्पा र कीर्तिपुरवासीका लागि यो गर्वको विषय हो ।


एआई प्रविधिको युगमा यो पुस्तक अन्य भाषा र स्वरूपमा पनि आउने आशा गरिन्छ । यसले चेतनाको उज्यालो अझ धेरै मनसम्म पु¥याउन सक्नेछ ।


यस कृतिले ‘शोधनिर्देशन’ भन्ने शब्दलाई विषय र विधिमा सीमित नराखी, सोच, अनुभूति र चेतनाको रूपान्तरणमा आधारित बनाएको छ । पारम्परिक दृष्टिकोण राख्ने समीक्षक वा शोध विद्यार्थीलाई यो पुस्तक केही क्लिष्ट लाग्न सक्छ । तर, अध्यात्ममा रुचि राख्नेका लागि यो गहिरो सन्दर्भ सामाग्री बन्न सक्छ ।


पुस्तकले जीवनलाई सम्हाल्ने आत्मिक दिशाहरूको खाका कोर्छ । यसले पाठकलाई नयाँ दृष्टिकोण, आत्मचिन्तन र जीवन बोधमा मार्गदर्शन गर्छ । अन्तर्बोधका थालनीसँगै पाठकले आफ्नै जीवनप्रति नयाँ अर्थ खोज्न थाल्न सक्छ ।


ओरियन्टल पब्लिकेशनबाट प्रकाशित १८१ पृष्ठको यो पुस्तकको मूल्य रु. ४९५ मात्र छ । विषयवस्तु, भाषा र गहिराइ हेर्दा मूल्य अत्यन्त सस्तो लाग्छ । पुस्तक समर्पणमा लेखिकाको घरपरिवार विशेष गरी भाउजु सुमित्रा–जो सहनशीलता र संयमको मूर्ति हुन–को स्नेह र समर्थन उल्लेखनीय छ । यस्तो वातावरण बिना यो आध्यात्मिक अभिव्यक्ति सम्भव हुने थिएन ।


अन्तर्बोध केवल एक पुस्तक होइन, यो जीवन बुझ्ने, अनुभूति गर्ने र चेतनालाई सम्हाल्ने साधन हो । संग्रहणीय, अध्ययनयोग्य र प्रेरणादायी यात्राको दस्तावेज हो ।


यो पुस्तक कस्तो पाठकका लागि उपयुक्त छ ?
‘अन्तर्बोधः जीवन चेतना र अनुभूति’ पुस्तक निम्न प्रकारका पाठकहरूका लागि विशेष उपयुक्त छः


 १. आत्म–अन्वेषण र अध्यात्ममा रुचि राख्ने पाठक
यो पुस्तकले बाह्य संसारभन्दा भित्री अनुभूतिमा केन्द्रित चेतना, विवेक र अनुभूतिको गहिरो विश्लेषण गर्छ । अतः जीवनलाई भित्रैबाट बुझ्न चाहने, ध्यान, साधना, आत्मबोध र आध्यात्मिक यात्रामा रुचि राख्ने पाठकका लागि अत्यन्त उपयोगी छ ।


 २. दर्शनशास्त्र र मानव चेतनाको अध्ययन गर्ने विद्यार्थी र अनुसन्धानकर्ता
पुस्तकमा दर्शन, बौद्धिकता, विवेक र विचारका आयामहरू सूक्ष्म ढंगले समेटिएका छन् । शोध प्रविधिका केही पक्ष पनि समावेश छन् । दर्शनशास्त्र, मानव चेतना, व्यवहार मनोविज्ञान, व्यवस्थापन र जीवनदर्शनमा अनुसन्धान गर्नेका लागि उपयोगी सन्दर्भ सामग्री बन्न सक्छ ।


 ३. शिक्षण–प्रशिक्षण, थेसिस लेखन वा पाठ्यक्रम निर्माणमा संलग्न विद्वानहरू
शब्दावली, व्याख्या र खण्डगत संरचना यस्तो किसिमको छ कि शिक्षण, प्रस्तुति वा पाठ्य योजना निर्माणमा संलग्न व्यक्तिहरूले यसबाट दृष्टिकोण र संदर्भ दुवै पाउन सक्छन् ।


जीवनका गहिरा प्रश्नहरूबारे सोच्न चाहने सचेत पाठक
“म को हुँ ?”, “जीवनको सार के हो ?”, “वास्तविक सुख के मा छ ?” जस्ता प्रश्नहरूमा रुचि राख्ने पाठकका लागि यो पुस्तक एउटा गहिरो विमर्शको माध्यम हो ।


५. व्यवस्थापन र नेतृत्व अध्ययमा ‘सॉफ्ट स्किल’ र ‘इनर ग्रोथ’का पक्ष बुझ्न चाहनेहरू
यद्यपि पुस्तक दर्शनप्रधान छ, यसले विवेक, चेतना, आत्मनियन्त्रण र जीवनप्रतिको दृष्टिकोण जस्ता विषयमा पनि प्रकाश पार्दछ, जसले व्यवस्थापन, नेतृत्व वा जीवन सीप सिकाउने पाठ्यक्रमहरूमा पूरक सामग्रीको काम गर्न सक्छ । 


तर, कस्ता पाठकका लागि उपयुक्त नहुन सक्छ ?
विशुद्ध प्राविधिक, तथ्यपरक, डेटा–केन्द्रित अध्ययन चाहने पाठकका लागि यो पुस्तक केही अमूर्त वा अत्यधिक भावनात्मक लाग्न सक्छ ।


शब्द र शैलीमा सहजता खोज्ने सर्वसाधारण पाठकलाई कतिपय ठाउँमा क्लिष्ट भाषा वा दर्शनको गहिराइ अपच्य हुन सक्छ ।


निष्कर्षः
‘अन्तर्बोध’ गहिरो चिन्तन र अनुभूतिप्रधान चेतनाको खोजी गर्ने पाठकका लागि सन्दर्भयुक्त, अध्ययनयोग्य र प्रेरणादायी पुस्तक हो । यो ती सबैका लागि सान्दर्भिक छ, जो बाहिरी सफलता मात्र होइन, भित्री शान्ति र जीवनको गहिरो अर्थ पनि खोजिरहेका छन् । (साँघु साप्ताहिक, २०८२ जेठ १९)
 

प्रतिकृया दिनुहोस