२०८२ जेठ ३ गते शनिवार हायात होटलको हरियाली मैदान, गर्मीयामको साँझ, हजारौं दर्शकको हुटिङ अनि मञ्चमा उत्रिन–बलिउडको ‘डान्स क्विन’ नोरा फतेही ।
भारतको फिल्म उद्योगमा आफैंलाई नृत्यको नयाँ मुहार बनाएकी नोराले नेपालमा पहिलोपटक च्यारिटी प्रस्तुति दिँदा काठमाडौंको सांगीतिक आकाश नयाँ ढंगले रोशन भयो ।
जादु मात्र नाचको थिएन
भावनाको पनि थियो
नोरा फतेहीको यो प्रस्तुति न त केवल चमकधमक थियो, न केवल व्यवसायिक ‘शो’ । यो एक भावनात्मक सांस्कृतिक सेतुजस्तै थियो । उनले खुलेर नेपाली दर्शकको माया स्वीकार गरिन्, ‘मेरा गीतहरूमा नेपाली कलाकारहरूको नृत्य भिडियोहरू देख्दा म अचम्म मान्छु, उनीहरूको प्रतिभा अविश्वसनीय छ ।’ दर्शकदीर्घाबाट हुटिङ आयो–‘‘हामी तिमीलाई माया गर्छौं !’’
नोरा फतेहीको काठमाडौं यात्रा केवल नृत्यको ‘टूर’ थिएन, यो एक सांस्कृतिक बयान र सन्देश थियो । नेपाली दर्शकको भव्य स्वागत, मञ्चको ऊर्जाशीलता र कलाकारबीचको अन्तर्राष्ट्रिय सहकार्यले यो कार्यक्रमलाई केवल ‘इभेन्ट’ होइन–‘माइलस्टोन’ बनाइदिएको छ ।
उनीले नेपाली कलाकार सुशान्त खत्रीलाई ‘सरप्राइज गेस्ट’का रूपमा मञ्चमा बोलाउनु, अनि कन्टेन्ट क्रिएटर गौरव सिटौलासँग ‘दिलबर’मा नृत्य गर्नु–यी क्षणहरू नेपाली युवाहरूको सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा जोड्ने दुर्लभ अवसर थिए ।
आलोचनाका छायाँ पनि थिए...
सामाजिक सञ्जालमा धेरैले प्रश्न उठाए–‘नोरा फतेहीजस्तो महँगो सेलिब्रिटीलाई बोलाउने पैसा किन च्यारिटीका नाममा खर्च गरियो ?’ कतिपयले भने–‘यो त सांस्कृतिक दिखावा मात्र हो ।’ तर आलोचकहरूले नबुझ्न खोजेको कुरा के हो भने–यस्ता कार्यक्रमहरू केवल मनोरञ्जन मात्र होइन, सांस्कृतिक कूटनीति पनि हुन् ।
नेपालले सधैं भारतीय फिल्म, नृत्य, भाषा र कलाकारलाई हृदयदेखि स्थान दिएको छ । नोरा फतेहीको प्रस्तुतिले यो ‘भावनात्मक पुल’ झन बलियो बनाएको छ । खासगरी यस्ता सांस्कृतिक आदान–प्रदानले दुई देशबीचको सहिष्णुताको वातावरण बनाउँछ–जुन राजनीतिक भाषणभन्दा बलियो कूटनीतिक शक्ति हो ।
‘डान्स क्विन’को बहुरंगी पृष्ठभूमि
क्यानडामा जन्मिएकी नोरा फतेहीको मोरक्कन र भारतीय जरा छ । बहुसांस्कृतिक परिवेशमा हुर्किएकी उनी हिन्दी, अरबी, फ्रेन्च भाषा धाराप्रवाह बोल्छिन् । बेली डान्स जस्तो कलामा उनी आफ्नै प्रयासमा दक्ष बनिन–न कुनै गुरु, न प्रशिक्षण । केवल युट्युब भिडियो हेरेर उनी आजको ‘डान्स आयकन’ बनेकी हुन् ।
उनको पहिलो सफल उपस्थिति बिग बोसको सिजन– ९ मा भयो । त्यसपछि ‘दिलबर’, ‘कमरिया’, ‘साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता गीतहरूले उनलाई स्टार बनाइदिए । उनले झलक दिखला जा जस्ता डान्स शोहरूमा प्रतिस्पर्धा गरिन्, टी–सिरीजसँग विशेष सम्झौता गरिन्, र आज उनी बलिउड संगीत भिडियोको सबैभन्दा ‘बैंकएबल फेस’(आर्थिक रूपमा सफल बनाउने अनुहार) मानिन्छिन् ।
नेपाली मञ्चमा भारतीय प्रभाव
यसपटक नोराको नेपाल आगमनले नेपाल–भारत सांस्कृतिक सम्बन्धलाई थप ऊर्जा पनि दिएको छ । काठमाडौंको मञ्चमा बलिउड संगीत, भारतीय स्टार र नेपाली कलाकारबीचको सहकार्य गज्जब देखियो । सुशान्त खत्री, गौरव सिटौलाजस्ता नेपाली युवाहरूले नोरा जस्ता अन्तर्राष्ट्रिय सेलिब्रिटीसँग नृत्य गर्नु–प्रेरणादायी छ, विशेषतः सिर्जनशील पुस्ताका लागि ।
कार्यक्रमको उद्देश्य पनि नबिर्सौं
‘ह्युमन रिस्पेक्ट नेपाल’ र ‘वल्र्डवाइड फिल्म्स नेटवर्क प्रा. लि.’को सहकार्यमा आयोजना भएको यो च्यारिटी शो विपन्न बालबालिकाको शिक्षाका लागि समर्पित थियो । यसले सामाजिक उद्देश्यलाई मनोरञ्जनसँग जोड्ने प्रयास ग¥यो । हो, खर्च बढी देखिन सक्छ, आलोचना पनि स्वाभाविक हो । तर, एउटै कार्यक्रममा हजारौं दर्शकलाई प्रेरित गर्ने, उत्साहित बनाउने र सन्देश दिन सक्ने क्षमता–यसमा छ ।
नोराकाे डान्स हेर्न भेला भएका नेपाली तन्नेरीहरू माझ २३ सदस्यीय नृत्य टोलीसहित करिब ४० मिनेटसम्म नोरा फतेहीले ‘स्नेक डान्स’ बाट कार्यक्रम सुरु गरी ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ लगायतका गीतमा दर्शकलाई नचाउन सफल भइन्, धेरै आत्ममीय मित्रहरू बनाएर नेपाली दर्शकहरूमा अमिट छाप छाडेर स्वदेश फिर्ता भइन् ।
निष्कर्षः चमकभित्रको चेतना
नोरा फतेहीको काठमाडौं यात्रा केवल नृत्यको ‘टूर’ थिएन, यो एक सांस्कृतिक बयान र सन्देश थियो । नेपाली दर्शकको भव्य स्वागत, मञ्चको ऊर्जाशीलता र कलाकारबीचको अन्तर्राष्ट्रिय सहकार्यले यो कार्यक्रमलाई केवल ‘इभेन्ट’ होइन–‘माइलस्टोन’ बनाइदिएको छ ।
नेपालले यस्तो कार्यक्रममार्फत सन्देश दिएको छ–हामी केवल ‘डाकिएका दर्शक’ होइनौं, हामी सांस्कृतिक साझेदार हौं ।
प्रतिकृया दिनुहोस