• मंगलबार-जेठ-२७-२०८२

गुप्तचरका अधिकृतहरूको मनलाग्दी सरूवा : सूचनाविहीन अनुसन्धान विभाग किन  पाल्ने ? 

 

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले छोराको विवाहकै समयमा जिल्लाका गुप्तचर प्रमुख डिएसपी र एसपीहरूको सरुवा किन गरे ? भन्ने कुरा चर्चाको विषय बनेको छ । आगामी २०८२ भदौ तेस्रो साता अवकास हुन लागेका प्रमुख थापाले अवकासको मुखमा ठुलो संख्यामा डिएसपी र एसपीको मनपरी सरूवा गरेको बरफबाग स्रोतले जानकारी दिएको छ । 
थापाले अवकास हुनु भन्दा दुई महिना अगाडि विवादास्पद र अन्यायपूर्वक उनीहरुको सरूवा गरेको गुनासो प्राप्त भएको छ ।


 सरुवापछि अब अनुसन्धान अधिकृत र त्योभन्दा तलका पदमा पनि आफू निकटलाई पायक पर्नेगरी सरूवा र मनपरी बढुवा पनि गर्न लागेको जानकार स्रोत बताउँछ । चार महिना अगाडि नै गर्नुपर्ने डिएसपी र एसपीको सरूवा छोराको विवाहपछि मात्रै गरिएको भन्दै स्रोतले आशंका गरेको छ । गुप्तचरका एसपीसम्मको सरूवा गर्ने अधिकार प्रमुखमा रहेको छ । तरपनि उनले समयमा सरूवा नगरी बिचौलिया प्रयोग गर्दै छोराको विवाह भोजका लागि खर्चको जोहो गरेको चर्चा पनि छ ।


०८२ जेठ २२ गते ठूलो संख्यामा मनपरी सरूवा गरेको विभागभित्र चर्चा चल्ने गरेको छ । संखुवासभा डिएसपी उमेश पाण्डे र ताप्लेजुङका सञ्जय मण्डल एसपीमा बढुवा भएका थिए । तरपनि समयमा सरूवा नहुँदा चार महिना भन्दा बढी समयदेखि डिएसपीकै दरबन्दीमा काम गर्न बाध्य हुँदै आएका थिए । उता, सई इन्चार्ज हुने बौद्धसेक्टरमा पनि डिएसपी प्रमुख रहेको बरफबाग भित्र चर्चा चल्ने गरेको छ । उनको पनि चितवन सरूवा भएपनि रमानापत्र समयमा नदिएको कारण सई प्रमुख रहनेमा उनी नै इन्चार्ज भएर बस्नु परेको थियो ।


डिएसपी र एसपीहरुको सरुवामा विभाग प्रमुख थापाले मुख्यसचिव एकनारायण अर्याल, प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बजाचार्य र प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सल्लाह सहमति नलिएको स्रोत बताउँछ । भरखरै मात्र उद्योग मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएर भित्रिएका सचिव गोविन्द बहादुर कार्कीलाई गलत ब्रिफिङ गरेर एकलौटी ढंगले मनपरी सरुवा सूची निकालेको स्रोतले दावी गरेको छ । राष्ट्रिय अनुसन्धान विभागका डीएसपी र एसपीहरुको सरुवा सूचीमा निर्णय गर्नुअघि प्रमुख थापाले प्रधानमन्त्री मुख्यसचिव अर्याललाई रु. २५ हजार पर्ने जुत्ता उपहार दिएको चर्चाले गुप्तचर विभागमा हल्लीखल्ली छ । 


 थापाले कमजोर क्षमता भएका एसपीलाई महत्वपूर्ण जिल्लाको प्रमुखमा सरूवा गरेको स्रोतको दावी छ । थापाको चाकडी नगर्ने र कोसेलीपात नबुझाउने एआईजी ओमराज जोशी निकटहरूलाई भने अपायक र दुर्गम जिल्ला लखेटेको आरोप लागेको छ । नेपाली कांग्रेसको सूचना एकलौटी ढंगले ल्याउने एसपी टेकराज तिमल्सिनालाई भने भक्तपुरमा नै थमौती गरिएको बताइन्छ ।


उनी बर्दियाका कांग्रेसका नेताका भाइसमेत हुन् । आगामी भदौमा ओमराज जोशी प्रमुख भएपछि विभागको हर्ताकर्ता बनाउने गरी उनलाई भक्तपुरबाट अन्यत्र सरुवा नगरिएको स्रोतको दावी छ । उनी प्रशासन महाशाखाबाट भक्तपुर सरूवा भएका थिए । संखुवासभाबाट झापाको एसपीमा उमेश पाण्डे सरुवा भएका छन् । विभागको पिएशाखाबाट राजन शर्मा सापकोटा मोरङमा पुगेका छन् । विमल घिमिरेलाई सुनसरी, तिलक प्रसाईंलाई धनुषामा सरुवा गरिएको बताइन्छ ।


यसैगरी, झापाबाट कुलचन्द्र नेपालको सप्तरीमा सरुवा भएको छ भने हेमन्त कार्की मकवानपुरमा खटिएका छन् । काभ्रेमा दीपक खड्का, चितवनमा सुरेश तिवारी, तनहुँमा मनोज ढकाल खटिएका छन् ।


कास्कीमा मोहन कुँवर, प्रशासन महाशाखाका प्रकाश आचार्यलाई रूपन्देहीमा सरुवा गरिएको छ भने हरिश विष्ट बाँकेमा खटिएका छन । कपिलवस्तुमा हिरण्य कुँवर, बर्दियामा रमेश सिंह डाँगी र महेश बोहरालाई कैलाली जिल्ला प्रमुखमा सरूवा भएको स्रोतले जानकारी दिएको छ । आगामी भदौमा विभागको प्रमुख हुन एआईजी ओमराज जोशी र टेकराज कार्कीकाबीचमा तीव्र्र प्रतिस्पर्धा हुने देखिएको छ । थापा प्रमुख हुँदा नै जोशी प्रमुखका प्रतिस्पर्धी रहेका थिए । सुदूर पश्चिम बैतडीका जोशी गृहमन्त्री रमेश लेखकका आफन्त र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रहेको बताइन्छ ।


त्यसैले विभागको भावी प्रमुख जोशी बन्ने लाइनमा रहेको बुझिएको छ । विभागभित्र तुलानात्मक रुपमा इमान्दार मानिने जोशी नै विभागको भावी प्रमुख हुने स्रोतको दावी छ । जोशी डेढ वर्ष प्रमुख रहनेछन् । त्यसपछि पनि कार्की प्रमुख हुने भएकाले अहिले जोशीलाई अन्याय हुन नदिने आश्वासन गृहमन्त्री लेखक र सभापति देउवाले दिएको बताइन्छ । जोशी र कार्की दुबै कांग्रेस निकट रहेको जानकार स्रोत बताउँछ । कार्कीलाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको आशीर्वाद रहेको बताइएको छ ।


वर्तमान प्रमुख थापा अवकास भएसँगै अप्रेशन विभाग प्रमुख रहेका जोशीको चिफमा बढुवा हुने अड्कलबाजी हुन थालेको छ । तर, रिक्त एक एआईजी पदमा बढुवा हुन गण्डकी प्रदेशका प्रमुख प्रजेशसिंह हमाल र कन्ट्रोलका डिआईजी कृष्ण खनालबीचमा प्रतिस्पर्धा रहेको बताइन्छ । हमाल बाँकेका र खनाल इलाम निवासी हुन् । प्रधानमन्त्री कार्यालयमातहतको गुप्तचर विभागमा कांग्रेसले भावी प्रमुख र उपप्रमुखमै हिस्सा खोजेपछि अर्थ मन्त्रालयमा जस्तै प्रधानमन्त्री कार्यालयमा पनि कांग्रेसको हस्तक्षेप बढ्ने अनुमान भइरहेको छ ।


 उच्च तहका कर्मचारीहरूले नै थापाको आलोचना गर्ने गरेको बताइन्छ । यसअघि दिलीप रेग्मी, गणेश अधिकारी, यदुनाथ खरेल र थापाले विभिन्न पार्टी र संघ–संस्थामा काम गर्ने कभरका एजेन्टहरूलाई बाहिर निकालेका थिए । गोपनियता खुल्ने डर र भयले अधिकांशले राजीनामा दिएर बाहिरिदा राजनीतिक दल र विभिन्न संघ–संस्थाका सूचनामा विभागको पकड गुमाएको बताइन्छ ।


खुला रूपमा काम गर्ने गुप्तचरहरूले कति बजे के कार्यक्रम भयो, कति उपस्थित थिए भन्नेबाहेक गुप्त र भरपर्दो सूचना ल्याउन सक्दैनन् । को प्रमुख अतिथि थिए र कति बजे कार्यक्रम सम्पन्न भयो यो बाहेक अरू सूचना दिन नसक्ने भएकोले पनि विभाग यतिखेर संवेदनशील गुप्त सूचना संकलन गर्न असफल हुँदै आएको ठहर प्रधानमन्त्री कार्यालयको रहेको छ । त्यसैले विभागको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ । त्यसकारण पनि विभागलाई नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलको गाभेर महाशाखा वा विभागमा बनाउनुपर्ने विषय बारम्बार उठ्ने गरेको छ । (साँघु साप्ताहिक, २०८२ जेठ २६)
 

प्रतिकृया दिनुहोस