काठमाडौं, ७ असार । गत चैत १५ गते तीनकुनेमा राजतन्त्रवादीहरुको आन्दोलनमा रिपोर्टिङ गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा मानवीय सहयोगको आधारमा उक्त रकम उपलब्ध गराइएको हो । रास्वपाले पत्रकारहरूको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दलहरू र आन्दोलनकारीहरू जिम्मेवार बन्नुपर्ने माग समेत गरेको छ ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल संयुक्तरूपमा मृतक पत्रकार रजकको घरमै पुगेर उक्त सहयोगस्वरूपको चेक हस्तान्तरण गरेका हुन् ।
रास्वपाले पत्रकार र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि संवेदनशील बन्न आग्रह गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न राज्यले तत्काल ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस