• आइतबार-असार-८-२०८२

भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याउने तयारी, ठगीमा संलग्न तीन जना पक्राउ

‘मटन–चिकेन खुवाउँछु भन्थ्यो, आलु र बेसार–पानी खुवायो’


काठमाडौं । आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक संभवत मंगलबार नेपाल फर्काउने तयारी गरिएको छ । 


गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको थियो ।

 

निर्देशक जोशीका अनुसार अदालती र प्रशासनीक प्रक्रिया पूरा गरेर उनीहरुलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको छ । ‘एक महिनासम्म निरन्तर खटिएर ठूलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सक्षम भएका छौं । नेपालीलाई फसाउने गिरोहमध्ये एक नेपाली र दुई भारतीयलाई पक्राउ गरिएको छ र थप अनुसन्धान जारी छ,’ निर्देशक जोशीले भने ।

पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पु¥याई बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो । पीडित मध्येका इलामको महमाइ–८ का सौगात काफ्लेका अनुसार एकजना विरेन्द्र शाही भन्ने ब्यक्तिले आफ्नो अंकलको फेक आईडी बनाएर महिनाको ३८ हजार दिन्छु भनेर काशिपुरमा ल्याएर फसाएको बताए ।

 

‘मैंले केही थाहा पाइँन मेरो दिनेश अंकलको फेक आईडी बनाएको रहेछ । अंकलले नै भनिसकेपछि राम्रो पैसा कमाइने रहेछ भनेर पैसा बुझाएर आएँ । लगभग चार लाख ऋण नै लाग्यो । विश्वासमा परेर यता आइयो तर फसियो,’ उनले भने,‘यता रहनुभएको अकंलसँग भेट पनि भएन । खानेकुरा पनि सुरुमा चिकेन–मटन दिने र राम्रो काम लगाइदिने भनियो । तर विभिन्न बाहानामा कोठा थुनेर राखे । यातना दिए । खानेकुरा पनि आलु, बेसार–पानी दिए । ज्यादै दुःख पायौं ।’

घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले उत्तराखण्ड प्रहरीले स्थानीय सामाजिक संस्था केन इन्डियाको सहयोगमा असार ५ गते उनीहरुको उद्धार कार्य सम्पन्न गरेको थियो ।
केन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरुबाट ४० देखि ७० हजार रुपैंयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरुमार्फत महिनामा ५० जना नेपालीहरु भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने ।

जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचविखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन् । नेपालका गाउँहरुबाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका  वा अलपत्र पारिएकाहरुलाई जोशीको नेतृत्वको संस्थाले उद्धार गर्दै आइरहेको छ । 

 

 

प्रतिकृया दिनुहोस