• बुधबार-असार-११-२०८२

एमालेमा सत्तरी वर्षे मुद्दा चर्किदै : वरिष्ठ नेताहरूमा कित्ताकाट सुरु 

 

काठमाडौं । एमालेको आन्तरिक राजनीतिक निकै रोचक बन्न थालेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको राजनीतिक विरासतमा प्रश्न उठाउने कोही नभएको भन्दै आलोचना भइरहेका बेलामा उपकेन्द्रहरु खडा हुन थालेका छन् । अध्यक्ष ओलीलाई काउन्टर गर्नेगरी केही नेताहरु भित्रभित्रै सक्रिय हुन थालेपछि त्यसले थप पेचिलो बनाउन खोजेको देखिन्छ । 


एमालेभित्र अध्यक्ष ओलीलाई मन नपराउने वा ओलीसँग रुष्ट हुने एमाले नेताहरुले विकल्प खोज्न थालेका छन् । वैकल्पिक नेतृत्वका लागि एमाले नेताहरुमात्र होेइन, एमालेनिकट बुद्धिजीवी र नागरिक समाजका अगुवाहरु पनि ओली सक्रिय हुन थालेका छन् । 


एमालेमा त्यसको प्रत्यक्ष आवाज भने ७० वर्षे उमेर हदको कुरा र दुई कार्यकालको नेतृत्व भन्ने विषय निकै चर्चामा रहेको छ । त्यही विषयमा कित्ताकाट हुने क्रममा अध्यक्ष ओलीको  विकल्प खोज्न थालिएको हो । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतका नेताहरुले प्रष्टसँग ७० वर्षे उमेर हद र दुई कार्यकालमा अडान रहेका छन् । त्यसमा उपाध्यक्ष युवराज ज्ञवालीमा पनि दृढ देखिएका छन् । साथै, सुरेन्द्र पाण्डे पनि त्यही लाइनमा रहेको बताइन्छ । तर, उनले औपचारिक रुपमा कतै बोलेका भने छैनन् । ७० बर्षे उमेर हद र दुई कार्यकालको पक्षमा रहेका एमाले नेताहरुले पूर्व राष्ट्रपति विद्या भण्डारीको नेतृत्वका लागि प्रयास पनि गरिरहेकाछन् ।

 

तर, ओली पक्षधरहरु यो विषयको विपक्षमा रहेका छन् । आउँदो विधान अधिवेशन(२०८२ भदौ) बाट त्यसलाई हटाउने पक्षमा रहेका छन् । त्यसै अनुसार एमाले पार्टीभित्र लाइन बनाउने र निर्णायक हुने गरी काम गर्न खोजिरहेका छन् । पदाधिकारी नै त्यसरी विभाजित भएको अवस्था छ । महासचिव शंकर पोखरेल भने अहिलेसम्म अध्यक्ष ओलीकै लाइनमा देखिएका छन् । उपाध्यक्ष विष्णु पौडेल भने वीच धारमा बस्न खोजिरेका छन् । उनले अहिले कार्यकर्तालाई विभाजित नहुन आग्रह गरिसकेका छन् । 


यता केन्द्रीय तहका नेताहरु भने विभाजित भइसकेका छन् । गोकुल बाँसकोटा, कर्णबहादुर थापा, विनोद ढकाललगायतका नेताहरु पहिलादेखि नै ७० बर्षे उमेर हद र दुई कार्यकालको पक्षमा रहेका थिए । उनीहरुलाई काउन्टर गर्न शेरबहादुर तामाङलगायतका केही नेताहरु सक्रिय भइरहेका छन् । उनीहरु सार्वजनिक मञ्चमै आलोचना गरिरहेका देखिन्छन् । त्यसैले, एमालेका पदाधिकारीहरु को कता लाग्छन् भन्ने आंकलन हुन थालेको छ  । सचिव, उपमहासचिवहरुको को कता लाग्लान भन्ने आंकलन पनि हुन थालेको छ ।

 

उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सचिव पद्मा अर्याल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका ७० बर्षे उमेर हद र दुई कार्यकालको पक्षमा रहेकाहरुको टीममा लाग्ने अनुमान अहिले नै गर्न थालिएको छ । उनीहरुको गतिविधि र अभिव्यक्ति पनि त्यसरी नै केन्द्रित हुन थालेको एमाले स्रोतहरुको भनाई । (साँघु साप्ताहिक, २०८२ असार ९) 

प्रतिकृया दिनुहोस