• सोमबार-असार-२३-२०८२

सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदन, माओवादीको असन्तुष्टि

 

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको संसदीय अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

 

उनले भनिन्, ‘आजको बैठकमा न्याय परिषद्को चलानी नम्बर २९ को पत्रअनुसार  मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरी नेपालको संविधानको धारा २९२ को उपधार १ बमोजिम संसदीय सुनुवाइका लागि नाम प्राप्त भएकोमा संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० बमोजिम समितिले सुनुवाइ गर्दा योग्यता क्षमता, र अनुभव सहितको आधारमा सोहि नियमावलीको नियम २६ को उपनियम ५ बमोजिम मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि अनुमोदन गर्ने निर्णय भएको छ ।’

 

यस्तै, न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपाललाई समेत अनुमोदन गरेको उनले बताइन् । यसैगरी नेकपा (माओवादी केन्द्र) ले भने बैठक नै बहिष्कार गरेको थियो । व्यक्तिका नाममा आपत्ति नभएपनि समावेशी हुनुपर्ने माग माओवादीको थियो ।

 

माओवादी सांसद जनार्दन शर्माले सिफारिस गर्दा न्याय परिषद्बाट गरिएको सिफारिस समावेशिताको मूल्यलाई एकदमै उल्लंघन गरिएको बताए ।

 

उनले भने, ‘सिफारिस गर्दा न्याय परिषद्बाट गरिएको सिफारिस समावेशिताको मूल्यलाई एकदमै उल्लंघन गरिएको छ । योग्यता पुगेका पात्र हुँदाहुँदै एउटा कोटा खाली गरेर सिफारिस गरिएन ।  यसरी एउटा उत्पीडित समुदायबाट आउन सक्ने व्यक्तिहरु आउन सक्नु भएन । एउटा दलित समुदायबाट प्रतिनिधित्वको राम्रो सम्भावना थियो तर त्यस्तो व्यक्तिलाई सिफारिस नगरी प्रस्तावित न्यायाधीशहरूको संसदीय अनुमोदन भएको छ ।’

प्रतिकृया दिनुहोस