• सोमबार-असार-२३-२०८२

अर्थमा भित्रिन यी सहसचिवहरू जोडबल गर्दै...

 

काठमाडौं । यतिखेर अर्थ मन्त्रालयमा रिक्त रहेका र हुन लागेको महाशाखा प्रमुखको जिम्मेवारीमा भित्रिनको लागि आधा दर्जन भन्दा बढी सहसचिवहरुले जोडबल गर्दै आएको समाचार छ । हाल मन्त्रालयमा तत्काल एक र आगामी साउनदेखि अर्को र एकजना सहसचिवको दरवन्दी थप हुने हुन लागेको बताइन्छ । यी पदहरुमा भित्रिनको लागि विभिन्न मन्त्रालय, प्रदेशमा कार्यरत सहसचिवहरुले रुची राख्दै आएको चर्चा छ । त्यसका लागि उनीहरुले मुख्यसचिवदेखि आफू अनुकूलका राजनीतिक नेतृत्वसँग तीव्र रुपमा लबिङ गरिरहेको बुझिएको छ ।


अर्थमा सरुवा हुनको लागि हाल बिभिन्न प्रदेश मन्त्रालयहरुमा कार्यरत सहसचिवहरुमा लागेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यतिखेर गण्डकी, बागमती, आन्तरिक राजश्व विभागमा कार्यरत कर्मचारीहरुले रुची देखाउँदै आएको स्रोतले दावी गरेको छ । स्रोत भन्छ ‘गण्डकीमा कार्यरत सहसचिवद्वय टंक पाण्डे र बाबुराम गौतमले अर्थ मन्त्रालयमा भित्रिनको लागि ठूलै कसरत गर्दैछन् ।’


यसैगरी, अर्थमा भित्रिनको लागि बागमती प्रदेशका कृष्ण मैनाली  र आन्तरिक राजश्व विभागमा कार्यरत सहसचिव तीर्थराज चिलुवालले पनि जोडबल लगाइरहेको बताइन्छ । सहसचिव गौतम ठूला करदाता कार्यालय प्रमुखदेखि उद्योग विभागको महानिर्देशकको जिम्मेवारीमा रहेर नेतृत्व गरिसकेका छन् । सहसचिव मैनाली भने २०८२ असार १ गते प्रदेश अर्थमन्त्री कुन्दनराज काफ्लेसँग बजेट जारी गर्ने विषयमा सम्वन्धमा विवाद उत्पन्न भएपछि त्यहाँबाट सरुवा भएर हिंड्न लागेका हुन् ।


आन्तरिक राजश्व बिभागको उप महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचि चिलुवाल अर्थ बुझेका अनुभवी कर्मचारी मानिन्छन् । सहसचिव पाण्डे, गौतम दुवैजना विगतमा लामो समय अर्थ मन्त्रालयमातहत निकायमा रहेका काम गरेकोले पनि दुवै अनुभवी रहेको  स्रोतले बताएको छ । अर्थमा भित्रिनको लागि यीलगायत अन्य सहसचिवहरुले पनि राजनीतिक रुपमा लबिङ गर्दै आएको कर्मचारी स्रोत बताउछ ।

(साँघु साप्ताहिक, २०८२ असार २३) 
 

प्रतिकृया दिनुहोस