• शनिबार-श्रावण-१०-२०८२

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने


 

काठमाडौँ  : नेपाल आयल निगमले रु छ अर्ब ५० करोड लागतमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलस्थित डिपो अन्तरराष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तरपूर्वी गुह्वेश्वरी क्षेत्रमा नयाँ इन्धन डिपो निर्माण गर्ने तयारी अघि बढाएको हो ।

 

    त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान, पूल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवाले सो डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आज निगमलाई हस्तान्तरण गरेको छ ।

 

    सिनामङ्गलस्थित निगमको कार्यालयमा आयोजित कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन प्राडा सुरज लामिछाने र सहप्राध्यापक नारयण गौतमले सिनामङ्गलस्थित डिपोका प्रमख प्रदीकुमार यादव र लेखा प्रमुख प्रचण्ड पाठकलाई हस्तान्तरण गर्नुभयो ।

 

    उक्त प्रतिवेदनमा कुल रु छ अर्ब ५४ करोड २९ लाखको लागतमा डिपो स्थान्तरण गरिने उल्लेख छ । अब बन्ने डिपोमा पेट्रोलियमसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डको पूरा पालना गरिने छ । नयाँ डिपो अमेरिकी पेट्रोलियम इन्स्टिच्युटले तोकेको सुरक्षा मापदण्डको हुने निगमले जनाएको छ ।

 

 

    डिपो स्थानान्तरणसम्बन्धी प्रतिवेदन तयार गर्न निमगले गत मङ्सिर ५ गते त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिएको थियो । सरकारले गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकबाट सिनामङ्गलस्थित हवाई इन्धन डिपो गुह्वेश्वरीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।


    
    नयाँ बन्ने डिपोमा इन्धन भण्डारणका लागि तीन हजार किलोलिटरका पाँच वटा भर्टिकल टयाङ्क निर्माण हुनेछन् । भविश्यमा भण्डारण टयाङ्क निर्माणका लागि थप जग्गा पनि रहनेछ । प्रमुख यादवले आगामी ५० वर्षका लागि हवाई इन्धनको माग धान्न सक्नेगरी नयाँ डिपो निर्माण गरिने जानकारी दिनुभयो ।

 

    डिपो अत्याधुनिक तथा पूर्णरूपमा स्वचालित हुनेछ । हवाई इन्धन ‘लोडिङ’ र ‘अनलोडिङ’का लागि क्रमशः छ र आठ वटा वे, अन्तरराष्ट्रिय उडानका जहाजमा इन्धन भर्न सात वटा ‘हाइड्रेन्ट रिफ्युलर’ रहने निमगले जनाएको छ । डिपोमा अग्नि सुरक्षाका लागि दुई हजार १०० किलोलिटरका दुई वटा पानी टयाङ्क तथा पूर्णस्वचालित अग्नि नियन्त्रक प्रणाली जडान हुने प्रमुख यादवले जानकारी दिनुभयो ।

 

    नेपाल नागरिक उडड्यन प्राधिकरणले जग्गा व्यवस्थापनको काम सम्पन्न गरिदिएमा आगामी भदौमा अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी आगामी मङ्सिरदेखि निर्माण प्रारम्भ गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

 

    जग्गा व्यवस्थापनको काम अत्यन्त ढिलो गतिमा भइरहेको जानकारी दिँदै उहाँले प्राधिकरणबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । निर्माण सुरु भएको दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विसं २०८४ मङ्सिरदेखि नयाँ डिपोबाट इन्धन भर्ने योजना रहेको प्रमुख यादवले सुनाउनुभयो ।

 

    इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन लामिछानेले आफूहरू जस्तोसुकै परियोजनाको पनि डिजाइन गर्न सक्षम रहेको बताउनुभयो । उहाँले निगमसँगको सहकार्यबाट संस्थानको पनि क्षमता वृद्धि हुनुका साथै निर्धारित समयमा डिपिआर हस्तान्तर गरिएको स्पष्ट पार्नुभयो ।


---

प्रतिकृया दिनुहोस