टीकापुर (कैलाली) : कैलालीको टीकापुर–४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन गर्नुभएको छ । धामीले गतवर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट रु ४७ लाखको केरा बिक्री गर्नुभयो । ‘‘समयमै उत्पादन हुँदा रु ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’’, उहाँले भन्नुभयो, ‘‘मैले राम्रो उत्पादन भएका बेला एक बिघामा रु १५ लाखसम्म कमाएको छु ।’’
धामीले १९ बिघामा केराखेती गर्नुभएको छ । यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहनुभएको छ ।
१४ वर्षदेखि केराखेतीमा संलग्न धामीले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आउनुभएको छ । यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले राम्रो साथ दिएको छ । आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ’’, उहाँले भन्नुभयो, ‘‘मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्नका लागि किनिदिने गरेको छ ।’’
केराखेतीमा राम्रो आम्दानी देखेपछि स्वदेशमै भविष्य बनाउन र रोजगारीका अवसर सिर्जना गरिरहेका धामीलाई यो पेसाबाट सन्तुष्टि मिलेको छ । ‘‘आफ्नो जमिन सदुपयोग र बाँकी जमिन लिजमा लिएर खेती गरिरहेको छु’’, उहाँले भन्नुभयो, ‘‘ मल, पोषक तत्व सहजै पाउन भने कठिन हुने गरेको छ । लागतअनुसार बजार नपाउँदा कहिलेकाहीँ समस्या हुन्छ ।’’
किसानले असारमा केरा रोप्ने गर्दछन् । वर्खाको सिजनमा केराको अभाव हुन्छ । केरा किसान धामी मूल्य राम्रो पाउनका लागि किसानको सोचमा पनि परिवर्तन आउनुपर्ने बताउनुहुन्छ । ‘‘हरेक किसानले असारमा केरा रोप्ने चलन छ । यसपटक मैले मङ्सिरमा केरा रोपे, यो केरा साउनमा फुट्छ, तर यसले मल नपाएर समस्या छ’’, उहाँ भन्नुहुन्छ, ‘‘वैशाखमा रोपेको केरा अहिले बजारमा गइरहेको छ ।’’
धामीले केरा खेतीमा बहुबाली खेती गरिरहनुभएको छ । ‘‘केराभित्र तोरीखेती गरेर २४ कुण्टल फल्यो, अहिले केराबारीमा सुर्खानी लटरम्म फलेको छ’’, उहाँले भन्नुभयो, ‘‘कामदार अभावमा टिप्न सकेको छैन । केरासँगै अन्य बाली लगाएर फाइदा लिन सकिन्छ ।’’
धामीसँग नियमित १२ जना कामदारले रोजगार पाएका छन् । त्यसबाहेक सिजनमा ज्यलादारीमा कामदार लगाउने गरिएको छ । ‘‘प्राकृतिक प्रकोपबाट बच्ने र बजार ग्यारेन्टी भएमा केरा जति आम्दानी अरु बालीमा छैन’’, उहाँ भन्नुहुन्छ, ‘‘बाली बिमामा समस्या छ । तोकिएका कम्पनी बिमा गर्न मान्दैनन् । बिमा गरेका किसानले क्षतिपूर्ति नपाएको अवस्था छ । अहिले मैले चाहेर ५० लाखको मात्र बिमा गरेको छु । निकै अनुरोध गरेपछि थोरै बालीको बिमा भएको छ । बाली बिमामा किसानलाई सहज वातावरण बनाइदिनुपर्छ ।’’
अहिले कैलालीका किसानले बारीमा रु ४० देखि ४५ मा केरा बिक्री गरिरहेका छन् तर बजारमा रु ८० बढीमा बिक्री हुन्छ । केरा उत्पादक किसानले पनि मूल्य पाएका छैनन् भने उपभोक्ता महँगोमा परिरहेका छन् । मूल्यबीचका बिचौलियाले पाइरहेको अवस्था छ । नेपालमै केराखेतीको उर्बर भूमिका रुपमा चिनिने टीकापुरमा केराखेती गर्न चाहने किसानले यसवर्ष भने नेपालका ल्यावमा बेर्ना उत्पादन नहुँदा समयमै बेर्ना पाएनन् ।
आयोजनाका कृषि अधिकृत आकृति ठाकुर आयोजनाले केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न थोपा सिँचाइ प्रविधि जडानमा सहयोग, बेर्नामा ५० प्रतिशत, शुक्ष्मपोषक तत्वमा७५ प्रतिशत र प्रविधिमा सघाउने गरेको बताउनुहुन्छ ।
‘‘आयोजनाले कृषिका अन्यबाली जस्तै केरा किसानलाई सघाइरहेको छ । बजारीकरणका लागि आवश्यक क्यारेट लगायतका सामग्री उपलब्ध गराउने गरेको छ’’, कृषि अधिृकत ठाकुर भन्नुहुन्छ, ‘‘आयोजनाको दोस्रो चरणमा दुई सय ५० हेक्टर जमिनमा केराखेती गर्न सघाएको छ । जसमा सय हेक्टर जमिनमा थोपा सिँचाइ प्रविधि जडानमा सघाएको छ ।’’ आयोजनाले आयोजना क्षेत्रका छ सय ८७ किसानलाई केराखेतीका लागि सघाएको छ । आयोजनाले पहिलो चरणमा किसानलाई केराखेतीमा सघाएको थियो ।
आयोजनाको सहयोगपछि कैलालीको टीकापुर र जानकी क्षेत्रका सयौँ किसान केराखेतीमा आकर्षित भएका छन् ।
आयोजनाका प्रमुख भरत कँडेल सरकारको युवालाई कृषिमा संलग्न गराउने नीतिअनुसार आयोजनाले पनि युवा किसानलाई प्रोत्साहन गरिरहेको बताउनुहुन्छ । ‘‘टेकेन्द्र जी जस्तो युवा कृषिमा लाग्नु राम्रो पक्ष हो । किसानहरु केरामा आत्मनिर्भतातर्फ गएको देखिन्छ’’, आयोजना प्रमुख कँडेल भन्नुहुन्छ, ‘‘खाद्यान्नभन्दा फलफूल त्यसमा केरामा राम्रो आम्दानी लिन सकिन्छ । केराका लागि कैलालीको माटो र हावापानी राम्रो छ ।’’
आयोजनाको तेस्रो चरणका कार्यक्रम पनि सुरु भएका छन् । तेस्रो चरणमा केरा किसानलाई सघाउने कार्यक्रम रहेका र बजार विस्तारका लागि सहजीकरण गर्ने गरेका उहाँको भनाइ छ ।
प्रतिकृया दिनुहोस