• शनिबार-श्रावण-१७-२०८२

लहानमा खानेपानी संकट : बोलेरोमै ट्याङ्की बोकेर घरघरमा पानी वितरण

“छ दशकमा यस्तो खडेरी देखिएको थिएन, सलहेस फूलबारी र सरस्वती खोला पनि सुकिसके”

 

सिरहा, १७ साउन : यहाँको लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि शुक्रबार साँझदेखि ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको छ । 

 

खासगरि उत्तरी भेगका बस्तीमा चापाकल सुकेपछि दैनिक उपभोगका लागि पानीको अभाव भोगिरहेका स्थानीयलाई लक्षित गर्दै बोलेरोमा पानीको ट्याङ्की बोकेर गाउँमै पु¥याएर वितरण गर्न थालिएको हो ।

 

‘विकन परियोजना’ र ‘वाटरएड’ को सहयोगमा दलित जनकल्याण युवा क्लब लहानले खानेपानीको धारा जडान हुन बाँकी रहेका बस्तीमा लहान खानेपानी संस्थानसँग समन्वय गरेर दुई हजार लिटर क्षमताको ट्याङ्कीमार्फत पानी वितरण सुरु गरेको हो । नगरप्रमुख महेशप्रसाद चौधरीले स्वयं गाउँ पुगेर पानी वितरण गर्दै भन्नुभयो, “खानेपानी मानव जीवनको आधार हो । तीन महिनासम्म प्रत्येक व्यक्तिलाई दैनिक चार लिटर पानी निःशुल्क उपलब्ध गराइनेछ । आवश्यक परेको खण्डमा यो कार्यक्रम थप लम्ब्याउने तयारी गरिरहेका छौँ ।” नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानीको धारा पु¥याउने योजना सार्वजनिक गरिसकेको उहाँले जानकारी दिनुभयो । 

 

बस्तीमा करिब ६० घरपरिवार छन् । उनीहरूलाई गाग्री र बाल्टिनमा पानी भरिदिने व्यवस्था गरिएको छ । दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विसुङ्केले भन्नुभयो, “विकन परियोजनाले रु २० लाख विनियोजन गरिसकेको छ । लहान नगरपालिका र खानेपानी कार्यालयसँग समन्वय गर्दै तीन महिनासम्म यो काम निरन्तर गरिनेछ ।”

 

स्थानीय पूर्णबहादुर सार्कीले पानी पाउँदा राहत मिलेको बताउनुभयो । “शुद्ध पिउने पानीले अहिले बाँच्ने आधार जस्तै भएको छ । तर, लुगा धुन, नुहाउन, गाईभैँसीलाई पानी खुवाउन अझै गाह्रो छ । त्यसका लागि आकाशे पानीको प्रतिक्षा गरिरहेका छौँ ।” खानेपानी सङ्कट लहान–१३, १५, १६, १७ र १८ वडामा  देखिएको छ । नगरपालिकाले अब आवश्यकताअनुसार अन्य प्रभावित टोलमा पानी वितरण गर्ने योजना बनाएको छ ।

 

खडेरीको असरले इनार, पोखरी, हाते कल, सिँचाइका मोटरहरू सबै सुक्न थालेका छन् । लहान–१३ का ६५ वर्षीय कृषक जगबीर यादव भन्छन्, “छ दशकमा यस्तो खडेरी देखिएको थिएन । सलहेस फूलबारी र सरस्वती खोला पनि सुकिसके ।” पानीको दीर्घकालीन समाधानका लागि चुरे संरक्षण अत्यावश्यक रहेको पर्यावरणविद् दिनेश यादवको भनाइ छ । 
---

 

प्रतिकृया दिनुहोस