• शनिबार-श्रावण-१७-२०८२

शेखर कोइरालाको चेतावनी : युवा पुस्तालाई कांग्रेससँग नजोडे पार्टी धरासयी बन्ने खतरा

 

बिराटनगर, साउन १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जेनेरेसन जेड (Gen-Z) भनिने अहिलेको युवा पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै संकटमा पर्ने चेतावनी दिएका छन्। उनले बलियो कांग्रेसबिनाको लोकतन्त्र सम्भव नरहेको बताउँदै लोकतन्त्र कमजोर भए देशै अस्थिर हुने धारणा व्यक्त गरे।

नेता कोइरालाले नेपाली कांग्रेस विराटनगर महानगरपालिका–४ कार्यसमितिद्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै भने, “लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न सक्दैनन्। त्यसैले लोकतन्त्रको रक्षा गर्ने बलियो कांग्रेस चाहिन्छ र त्यसका लागि युवा पुस्तालाई पार्टीसँग जोड्नैपर्छ।”

उनले लोकतन्त्रको स्थायित्व र देशको समुन्नतिको लागि कांग्रेसको ऐतिहासिक योगदानलाई युवापुस्ताले बुझ्न आवश्यक रहेको औँल्याउँदै भने, “राजनीतिप्रति अहिलेको युवामा गहिरो वितृष्णा देखिएको छ। यस वितृष्णालाई राजनीतिक चेतनामा र आकर्षणमा बदल्नु हाम्रो प्रमुख चुनौती हो।”

कोइरालाले वर्तमान राजनीतिक अविश्वास र निराशाको वातावरणलाई तोड्न कांग्रेसभित्रैबाट युवामुखी नीतिहरू ल्याउन जरुरी रहेको तर्क राखे। उनले दलभित्रको नविन नेतृत्व विकास र युवाप्रतिको सम्मानजनक समावेशीकरणबिना कांग्रेस बलियो बन्न नसक्ने उल्लेख गरे।

कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरू, ज्येष्ठ नागरिक, समाजसेवी तथा विभिन्न क्षेत्रका युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमले कांग्रेसको जेष्ठ नागरिकप्रति सम्मान र युवा पुस्ताप्रतिको जिम्मेवारीबोध दुवै सन्देश दिएको सहभागिहरूको धारणा थियो।

प्रतिकृया दिनुहोस