धरान (सुनसरी), १७ साउन : सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार राति करिब ९ः१० बजे सुनसरीको दुहबीमा को६प ५२४१ नम्बरको मोटरसाइकल र को३२प १५०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा बेलुका १०ः३० बजे मृत्यु भएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा मियाँसँगै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय सबाद आलम घाइते हुनुभएको छ । उहाँको विराट नर्सिङहोममै उपचार भइरहेको छ ।
त्यसैगरी, अर्को मोटरसाइकलको ६प ५२४१ का चालक गढी गाउँपालिका–२ निवासी २२ वर्षीय विश्वजित चौधरी गम्भीर घाइते हुनुभएको छ । घाइते चौधरीको विराटनगरको विराट नर्सिङहोमको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि सोही मोटरसाइकलमा सवार महेश चौधरी भने फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
---
प्रतिकृया दिनुहोस