काठमाडौँ । गृह मन्त्रालयले गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सहसचिव विष्णु कोइरालालाई खटाएको छ । उनलाई २०८२ जेठमा पाँचथरको प्रजिअबाट त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रमुखमा सरूवा गरिएको थियो । उक्त कार्यालयबाट विनाकारण करिब एक महिना अघि मन्त्रालयमा तानिएका सहसचिव कोइरालाई गुल्मीमा खटाइएसँगै मन्त्रालयका कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । एकातिर मन्त्रालयमा करिब ६ महिनादेखि केही सहसचिवहरुलाई जिम्मेवारीविहीन बनाएर बरण्डामा थन्काएको छ ।
अर्कोतिर, ६ महिनाको अवधिमा मन्त्रालयले एकजना सहसचिवलाई तीनवटा निकायमा सरुवा गरेर फुटबल नै बनाएको गुनासो बढेको छ । मन्त्री रमेश लेखक र सचिव गोर्कणमणि दुवाडीको यस्तो कार्यशैलीले कर्मचारीको मनोवल मात्र गिराएको छैनकि, सिङ्गो मन्त्रालय नै यतिखेर बद्नाम भइरहेको छ । सहसचिव कोइरालालाई विमानस्थल कार्यालयबाट सरुवा गर्नुको मुख्य कारण उनीभन्दा कनिष्ठ सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकमा खटाउनुबाहेक अन्य कुनै कारण देखिंदैन ।
सिनियर सहसचिव कोइरालालाई मन्त्रालय तानेर खोटाङको प्रजिअमा कार्यरत रहेकै बखत नरहरि घिमिरेलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा खटाइएको थियो । जबकि, विभागमा महानिर्देशकको जिम्मेवारीमा रहँदा तटस्थ भूमिका, निष्कलंक रहेका गोबिन्द प्रसाद रिजाललाई भने मन्त्रालयमा तानिएको थियो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा पर्दासमेत निवर्तमान महानिर्देशक रिजालको नाम भने आजका दिनसम्म पनि कतै जोडिएको सुनिदैन ।
अझ पछिल्लो समय मन्त्रालयको नेतृत्वले गृह प्रशासनमा रहेका सहसचिवहरुको खटनपटनमा ढिलाई मात्र गर्दै आएको छैननकि, कार्यक्षमता र वरिष्ठतालाईसमेत बेवास्ता गरको टिकाटिप्पणीहरू सार्वजनिक रूपमा भइरहेका छन् । मुलुकको शान्ति सुरक्षा जस्तो अति संवेदनशील र जिम्मेवारी बोकेकोे मन्त्रालयले यस्ता विषयप्रति गम्भीर ध्यान दिन नसकेको भन्दै प्रधानमन्त्री कार्यालय र सरोकारवाला निकायहरू बाराम्वार झक्झकाई रहेका छन् । तरपनि मन्त्रालयको नेतृत्वको कानमा बतास लाग्न नसकिरहेको गुनासो सुनिन्छ । जसले गर्दा मातहत निकायमा कार्यरत कर्मचारीहरुमा निराशा बढ्दै गइरहेको बताउछन् ।
अघिल्लो साता मन्त्रालयले तीन सहसचिवको जिम्मेवारीमा हेरफेर गरेको छ । जसमा नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाट सहसचिव आनन्द काफ्लेलाई रिक्त सुरक्षा तथा समन्वय प्रमुखको जिम्मेवारीमा खटाइएको छ । यो महाशाखाको जिम्मेवारीबहन गर्ने सहसचिव मन्त्रालयको प्रवक्तासमेत रहने गरेको छ । सहसचिव काफ्ले गृह सम्वन्धी अनुभवी कर्मचारी मानिदैनन् । उनी राजस्व प्रशासनका अनुभवी कर्मचारी हुन् । यसअघि उनी पाल्पाको सिडिओबाट मन्त्रालय सरूवा भएर पनि लामो समय बरण्डामा थन्किएका थिए । त्यसपछि मात्र नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी पाएका थिए ।
यसअघि उक्त महाशाखा प्रमुख रहेका सहसचिव तिवारीलाई अध्यागमन विभागको नेतृत्वमा खटाइएसँगै प्रवक्तासमेत रिक्त रहेको थियो । सो महाशाखाले मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सूचना समन्वय तथा विश्लेषण, सीमा तथा अध्यागमन प्रशासन, साथै स्थानीय प्रशासन तथा प्रदेश समन्वयसम्बन्धी कार्यहरू हेर्दै आएको छ । त्यसैले मन्त्रालयको सबै भन्दा महत्वपूर्ण र आकर्षक उक्त महाशाखालाई मानिन्छ । केही समय अघि मात्र अध्यागमनबाट मन्त्रालयमा सरुवा गरिएका सहसचिव रिजाललाई भने विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
उक्त महाशाखाले विपत् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ, शान्ति प्रवद्र्धन, विपत् पूर्व तयारी तथा प्रतिकार्य÷राहत तथा तथ्यांक व्यवस्थापन जस्ता कार्यहरू हेर्दै आएको छ । यो महाशाखाको जिम्मेवारी यसअघि सहसचिव डा. टोकराज पाण्डेले संहालेका थिए । उनलाई रूपन्देही जिल्लाको प्रजिअको जिम्मेवारीमा खटाइएसँगै सहसचिव रिजाललाई भने उक्त महाशाखाको जिम्मेवारी दिइएको बताइन्छ । गृहका क्षमतावान र अनुभवी प्रशासक रिजालले भने प्रशासन महाशाखा ताकेका थिए ।
तर, त्यहाँ छवि रिजालले लामो समयदेखि जरा गाडेर बसिरहेका छन् । त्यसकारण मन्त्रालयको पेण्डुलम महाशाखाका रूपमा हेरिएको विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा रिजाललाई थन्काइएको छ । सहसचिव रिजाललाई उक्त माहाशाखामा थन्काएर महत्वपूर्ण सुरक्षा तथा समन्वय महाशाखा सहसचिव काफ्लेलाई दिइएको छ । काठमाडौंको प्रजिअसमेतको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका सहसचिव रिजाल नै शान्ति सुरक्षा महाशाखामा उपयुक्त हुने मन्त्रालय स्रोतको भनाई रहेको छ । (साँघु साप्ताहिक, २०८२ साउन २६)
प्रतिकृया दिनुहोस