• मंगलबार-श्रावण-२७-२०८२

स्वाभिमान बेच्ने कि जोगाउने ? : माग्ने मानसिकता र नेपालको नीति !

 

काठमाण्डौको ‘रत्नपार्क–भद्रकाली शहीदद्वार–वायुसेवा निगम–रत्नपार्क–परिक्रमापथ’लगायतका मानिसहरूको भिडभाड हुने ठाउँमा सडकको पेटीमा वा आकासे पुलहरूमा वा मन्दिर आदिको प्रांगणमा एक छेउमा बसेर बाटोमा ओहोरदोहोर गर्ने मानिसहरूसँग वा मन्दिरमा दर्शन गर्न पुग्ने मानिसहरूसँग ५÷१० रुपैयाँ माग्ने गरेका केही मानिसहरू र बालबालिकाहरूमा धेरै मानिसको आँखा परेको हुनसक्छ ।


१. सडकका भिखारी : अपमान र बाँच्ने संघर्ष
धेरैजसो बटुवा वा यात्रीहरूले त्यसरी सडक पेटी वा मन्दिरको प्राङ्गण आदिमा बसेर ओहोरदोहोर गर्ने यात्रीहरूसँग आफूलाई २÷४ रुपैयाँ दिन अनुरोध गर्ने मानिसहरूको मुखमा समेत हेर्दैनन्, राम्रो वा आदरयुक्त दृष्टिले पनि हेर्न चाहँदैनन् । एकाध मानिसहरूले ५÷१० रुपियाँ दिए पनि अरूहरूको अगिल्तिर त्यसरी हात पसार्ने मानिसहरूलाई उनीहरूले समेत जाती मान्दैनन्, कतिपयले त अपमानजनक टिप्पणी समेत गर्छन् ।


कुनै ठुलै विदेशी पाहुनाहरू आएको बेलामा सबैभन्दा पहिले सुरक्षाकर्मीहरूले उनीहरूलाई बसेका ठाउँबाट निर्दयतापूर्वक लखेट्छन् र अर्को ठाउँ वा बस्तीतिर धपाउने वा पक्राउ गरेर थुनामा राख्नेसम्मको काम गर्छन् भनिन्छ ।


त्यसैगरी मानिसको घर–घरमा गएर खानेकुरा वा पैसा माग्ने मानिसहरूलाई अरू मानिसहरूले आफू सरहको आफ्नो मित्र वा साथी वा समान हैसियतको छिमेकीसँगजस्तो व्यवहार गर्दैनन् र माग्दै हिँड्ने कामको प्रशंसा पनि कसैले गर्दैनन् ।  माग्ने मानिसहरूले पनि अरूको अपमान सहेर, आफ्नो स्वाभिमान मारेर मात्रै त्यसरी सडक पेटीमा बसेर वा घर–घरमा गएर माग्न सक्छन्, नत्र सक्दैनन् ।


२. नेताहरूको विदेश भ्रमण र स्वाभिमानको सवाल
मानिसका घर–घरमा गएर बाटाघाटामा बसेर मानिसहरूसँग दानदक्षिणा मागेर जीवन चलाउने मानिसहरूको अवस्था र अरू देशहरूसँग हात पसारेर ऋण वा अनुदान सहयोग लिएर शासन चलाउने सपना बोकेर हिँड्ने नेताहरूको हैसियत र अवस्थामा खासै फरक हुँदैन ।


मलाई वा हामीलाई निम्ताको कृपा होस् न हजुर भनेर तारन्तार निम्तो मागेर गरिने विदेश भ्रमणले देशको इज्जत, प्रतिष्ठा बढाउँदैन, देशले कुनै ठोंस उपलब्धि हासिल गर्ने सम्भावना पनि सामान्यतया रहँदैन र गुमाउनुपर्ने वा गुमाउने सम्भावना अधिक रहन्छ ।


त्यसरी गरिने भ्रमणले भ्रमणमा जाने मान्छेकै इज्जत प्रतिष्ठा पनि बढाउँदैन, देशको खर्चमा २÷४ दिन घुमफिर गर्दैमा कोही गति नपर्ने कुरा त स्पष्टै छ ।


३. ठोस कार्यसूची बिना निम्ता माग्ने प्रवृत्ति रोकौं
त्यसैले हाम्रा देशका नेताहरूले कुनै ठोंस कार्यसूची र आवश्यकताको अनुभव नभएसम्म अर्को मुलुकका सरकारसँग आफूलाई ती मुलुकको भ्रमणमा बोलाउन आग्रह गर्ने प्रवृत्तिबाट आफूलाई अलग बनाउन जरुरी देखिन्छ ।


विदेश भ्रमणमा जाने अवस्थामा पनि विदेशी राष्ट्रले आफ्नो स्वार्थ र चाहना अनुसार अघि सारेका कार्यसूचीमा आधारित रहेर होइन, द्विपक्षीय आवश्यकता र समस्यामा केन्द्रित रहेर पारस्परिक सहमतिका आधारमा तयार पारिएका कार्यसूचीमा आधारित भएर त्यस्ता भ्रमणमा जाने र छलफल गर्ने परम्परा बसाल्ने साहस गर्न जरुरी छ ।


४. भारत भ्रमणमा पारदर्शिता र राष्ट्रहितको प्राथमिकता
नेपालका प्रधानमन्त्रीको बहुचर्चित भारत भ्रमणका सन्दर्भमा पनि सरकारले दुईपक्षका साझा समस्या र आवश्यकताका विषयमा छलफल गर्ने कुरालाई मात्र भ्रमणको कार्यसूचीमा स्थान दिने साहसको प्रदर्शन गर्न जरुरी छ ।


“वन टु वन वार्ता“को नाममा अपारदर्शी भेट र वार्ताबाट आफूलाई अलग राख्नुपर्छ र सीमा समस्या, प्रवुद्ध समूहको प्रतिवेदनको सार्वजनिकरण र कार्यान्वयन तथा अन्तर्राष्ट्रिय उडानको निम्ति हवाई रुटको उपलब्धता जस्ता कुरामा छलफल केन्द्रित हुनुपर्छ ।


विगतमा भएका सन्धि सम्झौताहरूको कार्यान्वयन नभएसम्म अर्को नयाँ परियोजना सम्बन्धी सम्झौता गरेर मुलुकका थप प्राकृतिक सम्पदा र स्रोतको जिम्मा भारतलाई दिने काम राष्ट्रहितमा हुँदैन भन्ने कुरामा सरकार सचेत हुन जरुरी छ । “अधिकार गुमाएर सम्झौता गर्नु उपलब्धि होइन, केही नगुमाइकन समस्याको पहिचान नै ठूलो उपलब्धि हो ।’’


५. प्राकृतिक स्रोत र सम्झौतामा सावधानी
प्राकृतिक स्रोतको उपयोग सम्बन्धी सम्झौता गर्नु अघि अन्य सम्भाव्य विकल्पको पहिचान र लाभ–हानीको समीक्षा गर्न जरुरी हुन्छ र त्यस्तो समीक्षा नगरी गरिने सम्झौता राष्ट्रहितमा हुँदैन भन्ने कुरामा पनि सरकार सचेत हुनुपर्छ ।


विगतमा भएका सन्धि सम्झौतामा राष्ट्रहितमा आघात पुग्ने कुनै दफा परेका छन् भने तिनमा सुधार गर्ने जस्ता विषयलाई कार्यसूचीमा राख्न पनि जरुरी हुन्छ । भारतले विगतमा नेपालसँग गरेका सहमति कार्यान्वयन नगरेको कारणले नेपालले अनुभव गरेका कुनै समस्या छन् भने ती समस्याका कुरा पनि कार्यसूचीमा रहनुपर्छ ।


“सडकका भिखारी र सिंहदरबारका भिखारीबीचको फर्क केवल कपडाको हो, मानसिकता उस्तै ।’’


“अधिकार गुमाएर सम्झौता गर्नु उपलब्धि होइन, केही नगुमाइकन समस्याको पहिचान नै ठूलो उपलब्धि हो ।’’


नेपालमा उत्पादित विद्युतको संकलन र वितरण केन्द्र नेपालमा नराखेर भारतमा राख्ने जस्ता असमान र अपमानजनक सम्झौताहरूको परिमार्जन गर्न प्रस्ताव गर्ने स्तरको साहस समेत सरकारले देखाउनुपर्छ ।


६. ठेक्का सम्झौता, चीनसँगको सम्बन्ध र राष्ट्रिय चनाखोपन
भारतीय कम्पनीसँग भएका ठेक्का सम्झौताहरू म्यादभित्र कार्यान्वयन नहुँदा पनि बारम्बार नवीकरण गर्ने काम अब नेपालले गर्दैन भन्ने कुराको जानकारी समेत भारतीय पक्षलाई गराउनुपर्छ ।
भारतको चाहना पूरा गर्नका निम्ति चीनलाई असन्तुष्ट बनाउने जस्ता काम नेपालले गर्न हुँदैन भन्ने कुरामा समेत नेपाली पक्ष चनाखो हुनुपर्छ ।


मुस्ताङ्गलगायतका उत्तरी सीमावर्ती क्षेत्रमा कुनै सामाजिक, शैक्षिक वा धार्मिक संघ–संस्था वा परियोजनाको निर्माण, स्थापना वा सञ्चालन गर्ने जस्ता प्रस्ताव आएमा त्यस्ता प्रस्ताव स्वीकार गर्नु अघि त्यसबाट चीनसँगको सम्बन्धमा पर्ने असरको लेखाजोखा समेत गर्न जरुरी छ ।


७. उपलब्धि भनेको अधिकार जोगाउनु हो
भ्रमण गरेपछि केही न केही लेनदेन गर्नैपर्छ भन्ने दरिद्र मानसिकताबाट हामीहरू मुक्त हुनुपर्छ र आफ्नो अधिकार गुमाएर अनावश्यक सम्झौता गर्नु उपलब्धि हुँदैन । केही नगुमाइकन गरिने समस्याको पहिचान र छलफल ठूलो उपलब्धि हुन्छ भन्ने सोच र संस्कारको विकास गर्नुपर्छ ।


नेपालको स्रोत–साधन र अधिकार गुमाउने गरी भ्रमण गर्नु भन्दा भ्रमण नगर्नु ठूलो उपलब्धि हुनसक्छ भन्ने कुरामा सम्बन्धित सबै सचेत हुन जरुरी छ । (साँघु साप्ताहिक, २०८२ साउन २६)
 

प्रतिकृया दिनुहोस