कपिलवस्तु । बुद्धभूमि नगरपालिका–४, बुढ्ढीस्थित श्री भृकुटी माध्यमिक विद्यालयका कक्षा १२ का जीवविज्ञान (Biology) विषयका विद्यार्थीहरूले यस वर्षको परीक्षामा पनि शतप्रतिशत (१००%) सफलता हासिल गरेका छन्। यो उपलब्धि विद्यालयका बाली विज्ञान शिक्षक अंकुश कुमार श्रीवास्तवको लगातार चौथो पटकको उत्कृष्ट परिणाम हो।
विगत छ वर्षदेखि +२ तहमा बाली विज्ञान संकायअन्तर्गत जीवविज्ञान विषय अध्यापन गर्दै आएका श्रीवास्तव घरदेखि करिब ३५ किलोमिटर टाढा रहेको यस गाउँको सरकारी विद्यालयमा नियमित मोटरसाइकलमार्फत पुगेर पढाउने गर्छन्। यस अवधिमा उनले चार पटक कक्षा १२ मा शतप्रतिशत नतिजा दिलाउनुका साथै, माध्यमिक शिक्षा परीक्षा (SEE) तहमा पनि विज्ञान विषयमा समान सफलता हासिल गराएका छन्।
श्रीवास्तवले बायोटेक्नोलोजी विषयमा अध्ययनका लागि साउथ एसियन युनिभर्सिटी, दिल्ली (SAARC देशहरूको साझा विश्वविद्यालय) बाट प्राप्त पूर्ण छात्रवृत्ति (Full Scholarship) त्यागेर शिक्षण पेशा रोजेका हुन्। विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ उनी निरन्तर परिश्रम गर्दै आएका छन्।
"राम्रो नतिजा मेहनत, अनुशासन र उत्तरदायित्वको प्रतिफल हो," श्रीवास्तवले भने, "विद्यार्थीको भविष्य उज्यालो बनाउन म आफ्नो पेशागत प्रतिबद्धतामा कहिल्यै सम्झौता गर्दिन।"
स्थानीय समुदायका अनुसार, उनका निरन्तरका उपलब्धिले विद्यालयको शैक्षिक स्तरमा उल्लेखनीय सुधार आएको छ र उनी प्रेरणादायी शिक्षकका रूपमा परिचित भएका छन्।
प्रतिकृया दिनुहोस