परिचय
हालसालै चीनले अघि सारेको एउटा नयाँ रणनीतिक अवधारणाले विश्वको ध्यान तानेको छ-यो प्रतिरोध (deterrence) परम्परागत आणविक वा सैन्य शक्तिमा मात्र नभई, ग्रे जोन अपरेसन मा आधारित छ। यद्यपि चीनले यो औपचारिक रूपमा घोषणा गरेको छैन, विभिन्न घटनाक्रमहरू जोड्दा प्रष्ट देखिन्छ कि चीनले यस्तो रणनीतिक प्रणाली निर्माण गरिसकेको छ, विशेषतः भारतसँगको सन् २०२० को लद्दाख तनावपछि।
ग्रे जोन अपरेसन के हो ?
ग्रे जोन अपरेसन भन्नाले यस्तो गतिविधिलाई जनाइन्छ जुन खुला युद्धको सिमा मुनि रहन्छ। यस्ता अपरेसनहरूमा गोली हान्न आवश्यक हुँदैन, तर तिनीहरूको रणनीतिक प्रभाव गम्भीर हुन्छ। यो अवधारणा चिनियाँ दार्शनिक सुन त्जुको विचारसँग मेल खान्छ-"विजयी लडाकुहरू पहिले नै जित्छन् अनि मात्र लड्न जान्छन्"। चीनको पीएलए (People’s Liberation Army) यस्ता असमान युद्ध (asymmetric warfare) रणनीतिमा प्रवीण छ र हाल पश्चिम प्रशान्त क्षेत्र तथा हिमालयमा यस्ता गतिविधिमा संलग्न छ। २०औं पार्टी कांग्रेस र सैन्य सुधार
अक्टोबर २०२२ मा भएको चिनियाँ कम्युनिष्ट पार्टीको २०औं कांग्रेसमा राष्ट्रपति सी जिनपिङले पीएलएलाई सबल रणनीतिक प्रतिरोध प्रणाली निर्माण गर्न निर्देशन दिए। त्यसको फलस्वरूप, अप्रिल २०२४ मा दोस्रो चरणको सैन्य सुधार घोषणा गरियो (पहिलो सुधार सन् २०१५ मा भएको थियो)। यी सुधारहरूले चीनको रणनीतिक सोच र कार्यान्वयनको स्पष्ट दिशा देखाउँछन्, विशेष गरी गैर-सैन्य (non-kinetic) उपायहरूको प्रयोगमार्फत।
आधुनिक युद्धको अवधारणा: दुई क्षेत्रहरू
चीनले आधुनिक युद्धलाई दुईवटा मुख्य क्षेत्रहरूमा विभाजित गरेको छ:
कम्ब्याट जोन (Combat Zone) – परम्परागत युद्ध क्षेत्र हो, जहाँ भूमि, समुद्र र आकाशमा सशस्त्र द्वन्द्व हुन्छ। यो क्षेत्रमा जिम्मेवारी Joint Staff Department ले लिन्छ, जसले परम्परागत र आणविक युद्धको योजना बनाउँछ।
वार जोन (War Zone)-यो सम्पूर्ण राष्ट्रलाई समेट्ने गैर-सैन्य युद्ध क्षेत्र हो, जसमा साइबर, अन्तरिक्ष, मनोवैज्ञानिक तथा वैचारिक युद्ध पर्दछ। यसको नेतृत्व Political Work Department ले गर्दछ, जुन सीधै केन्द्रीय सैन्य आयोग (CMC) अन्तर्गत पर्छ।
साइबर र अन्तरिक्ष यी दुई प्रमुख क्षमताहरू दुबै क्षेत्रमा प्रयोग गर्न सकिने भएकाले, चीनले अन्तरिक्ष (Aerospace) र साइबरस्पेस (Cyberspace) विभागहरू गठन गरिसकेको छ, जसले रणनीतिक र प्राविधिक स्तरमा सँगसँगै काम गर्छन्।
प्रतिरोधको पुनःपरिभाषा
परम्परागत रूपमा प्रतिरोध भन्नाले शत्रुलाई कुनै कार्य गर्नबाट रोक्ने बुझिन्छ। तर, चिनियाँ विज्ञहरू अब यसमा दबाब (coercion) पनि समावेश गर्छन्-अर्थात् शत्रुलाई कुनै कार्य गर्न बाध्य पार्ने।
भारत-चीन सन्दर्भमा हेर्दा, २०२० मा पीएलएले लद्दाख क्षेत्रमा भारतीय भूमि अतिक्रमण गर्यो र भारतीय नेतृत्व प्रत्यक्ष प्रतिक्रिया दिनबाट टाढा रह्यो। पछि, गलवानको हिंसापछि प्रधानमन्त्रीले “कसैले हाम्रो भूमिमा कब्जा गरेको छैन” भन्ने सार्वजनिक अभिव्यक्ति दिए, जुन चीनका लागि एक कूटनीतिक विजयको रुपमा विश्लेषण गरियो। यसबाट चीनले बुझ्यो कि उचित ग्रे जोन रणनीति प्रयोग गरेर प्रतिस्पर्धी राष्ट्रलाई मनोवैज्ञानिक स्तरमा नियन्त्रण गर्न सकिन्छ।
आणविक र परम्परागत प्रतिरोध: फरक र आवश्यक
चीनले आणविक र परम्परागत प्रतिरोधलाई छुट्टाछुट्टै, तर समान महत्वका रूपमा लिन्छ:
आणविक प्रतिरोध युद्धलाई सीमित राख्नका लागि हो, तर युद्ध रोक्न सक्दैन। चीनको आणविक भण्डार तीव्र गतिमा बढ्दो छ-सन् २०२७ सम्ममा ७००, र सन् २०३० सम्ममा १००० कार्यशील वॉरहेड हुने अनुमान छ।
२०२१ मा चीनले फ्र्याक्सनल अर्बिटल बम्बार्डमेन्ट सिस्टम परीक्षण गर्यो, जहाँ अन्तरिक्षबाट पुनःवायुमण्डलमा प्रवेश गर्ने Hypersonic Glide Vehicle को सफल परीक्षण गरियो। यो प्रविधिले चीनलाई अमेरिका भन्दा एक कदम अगाडि पु-यायो, किनभने यसले लक्ष्य कहाँ प्रहार हुने हो भन्ने कुरामा स्पष्टता नदिइ रणनीतिक लाभ दिन्छ।
साइबर प्रतिरोध: रणनीति र अभ्यास
चीनले भारतविरुद्ध साइबर रणनीति अन्तर्गत तीन चरणमा काम गरिरहेको छ:
साइबर टोह (Reconnaissance) – भारतको अत्यधिक डिजिटल नागरिक संरचना (बैंक, अस्पताल, कार्यालय) पहिचान। साइबर आक्रमण – प्रधानमन्त्री कार्यालय, एम्स जस्ता संस्थानहरूमा साइबर आक्रमण; २०२० मा मुम्बईमा भएको ४८ घण्टा लामो विद्युत अवरोध।
नुक्सान मूल्यांकन (Battle Damage Assessment) – कुन सफ्टवेयर हतियार कति प्रभावकारी भयो भन्ने मूल्यांकन गर्दै भविष्यका लागि साइबर हतियार विकास।
चीनले यस क्षेत्रमा सफलता पाउन तीन प्रमुख शर्तहरू पूरा गरिसकेको छ—मिनीचुराइजेशन, सुपरकम्प्युटिङ शक्ति, र उच्चस्तरीय प्राविधिक जनशक्ति।
अन्तरिक्ष प्रतिरोध: नयाँ रणभूमि
अन्तरिक्ष पनि चीनको रणनीतिक प्रतिरोधको महत्वपूर्ण भाग हो:
मिनी स्याटेलाइटहरू, जुन सामान्य मलबाजस्तो देखिन्छन् तर शत्रुका स्याटेलाइटहरूलाई निष्क्रिय पार्न सक्ने क्षमता राख्छन्।
साइबर-स्पेस हतियारहरू, जसले पृथ्वीबाटै अन्तरिक्षका सञ्जालहरू अवरुद्ध गर्न सक्छन्।
यी क्षमताले अमेरिकालाई पनि चिन्तित बनाएको छ। त्यसैले, सन् २०१९ मा राष्ट्रपति ट्रम्पले U.S. Space Force स्थापना गरे, मुख्यतः चीनको बढ्दो अन्तरिक्ष क्षमतालाई मध्यनजर राखेर।
रणनीतिक प्रतिरोध प्रणाली: समग्र स्वरूप
चीनले बनाएको रणनीतिक प्रतिरोध प्रणालीमा निम्नलिखित मुख्य अवयवहरू छन्:
आणविक प्रतिरोध – युद्धको सीमाना निर्धारणका लागि।
साइबर प्रतिरोध – शत्रु राष्ट्रलाई अव्यवस्थित बनाउने, सूचना प्रणाली ध्वस्त पार्ने।
अन्तरिक्ष प्रतिरोध – रणनीतिक निगरानी र सञ्चार प्रणाली निष्क्रिय पार्ने।
साइबर र अन्तरिक्ष प्रतिरोध प्रयोग गर्न सकिने (usable) क्षमताहरू हुन्। ती युद्ध नभए पनि प्रयोग गर्न सकिन्छ, जसले मनोवैज्ञानिक वा वैचारिक द्वन्द्व (Cognitive Confrontation) सिर्जना गर्न सहयोग पुर्याउँछ।
निष्कर्ष
चीनले अब युद्ध जित्ने तरिका मात्र होइन, युद्ध बिना विजय प्राप्त गर्ने रणनीति अपनाएको देखिन्छ। रणनीतिक प्रतिरोधको नयाँ अवधारणा-ग्रे जोन अपरेसन, साइबर र अन्तरिक्ष क्षमतामा आधारित-आजको युगमा अत्यन्त प्रभावकारी हतियार बन्दैछ।
भारतका लागि यो गम्भीर सन्देश हो। आणविक प्रतिरोध त सुदृढ छ, तर साइबर र अन्तरिक्ष क्षेत्रमा रणनीतिक सोच र संरचना अझै विकास गर्न आवश्यक छ। भविष्यको लडाइँ अब केवल युद्धभूमिमा होइन, डिजिटल र मानसिक रणभूमिमा पनि लडिनेछ-जहाँ देखिने भन्दा नदेखिने खतरा धेरै छन्।
प्रतिकृया दिनुहोस