• बिहीबार-भदौ-१२-२०८२

वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

 


मलेखु (धादिङ) : कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ । तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरी यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन् ।


  
विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी परेको बेला कतिखेर कहाँनेर पहिरोले बाटो थुनिने हो पत्तो हुँदैन । डोजरले खारिएका भित्ताबाट झर्ने ढुङ्गामुढाबाट जोगिन धौधौ पर्छ । 

 

काठमाडाँैदेखि धादिङ सम्मको माइक्रोबस चालक विकास श्रेष्ठ भन्नुहुन्छ, “हिजोआज त सडकको खाल्डोमा भन्दा आँखा पहिरो झर्ने ठाउँमा पु¥याउनुपर्छ ।” बुधबारदेखि यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ । ठाउँ ठाउँमा स–साना पहिरोले सडक थुनिने र सञ्चालन हुने क्रम चलिरहेको छ । घण्टौँ कुर्नुपर्ने गरी भने सडक थुनिएको छैन । त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड बर्खा लागेसँगै जोखिमपूर्ण छ ।

 

सडक फराकिलो बनाउन काटिएका भित्ताबाट खसेको स–साना पहिरोले अधिकांश सडक हिलाम्मे र धुलाम्मे हुने गरेको छ । आधा काम गरेर बाँकी रहेको स्थानका खाल्डाखुल्डीले साना ठूला सबै सवारी साधन गुडाउन गाह्रो छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमाल भन्नुहुन्छ, “पृथ्वी राजमार्ग यतिबेला जोखिमपूर्ण छ । तर, हिँड्नै नसक्ने अवस्थाको छैन ।”

 

पहिरो र गेग्रानले सडक छियाछिया छ । सडकमा हरेकले चालक होसियार भएर ट्राफिक नियमको पालना गर्ने होभने मात्र सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ ।

 

मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ । घाम लागेको बेला अधिकांश स्थान धुलाम्मे हुन्छ । पानी प¥यो भने त्यही धुलो लेदोमा परिणत भएर चिप्लो हुने गर्छ ।

 

“कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन चौबिसै घण्टा हामी खटिरहेका छौंँ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले भन्नुभयो ।

 

नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रुपले थामिएका छैनन् । कृष्णभीरदेखि मुग्लिनसम्मको सडकमा जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्न सक्ने जोखिम छ । नागढुङ्गादेखि मुग्लिनसम्म ९६ किलोमिटर राजमार्गमा हरेक समय कही न कही सडक एकतर्फी बन्छ । निर्माणधीन पुल र सवारी एकतर्फी हुनसक्ने साँघुरा स्थानको दुबैतर्फ प्रहरी तैनाथ गरेर चालकलाई सजग गराइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।


 
नागढुङ्गाको चेकपोष्ट पृथ्वी राजमार्गमा दैनिक कति सवारी काठमाडौँ भित्रिन्छन् र कति बाहिरिन्छन् यकिन तथ्याङ्क छैन । सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वको बेला २० हजारसम्म सवारी आउजाउ हुने प्रहरीको अनुमान छ ।

प्रतिकृया दिनुहोस