महेन्द्रनगर (धनुषा) : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सरोकार भएका निकायसँग छलफल गर्नुपर्ने बताउनुभएको छ ।
आज जनकपुरधाम विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले उखुको उत्पादन बढाउने विषयमा सरकारले सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्नुपर्ने सुझाव दिनुभयो । सरकारले आन्दोलनमा रहेका उखु किसानका माग तत्कालै सम्बोधन गरी उहाँहरूलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषि मन्त्रालयले किसानलाई अनुदानबापतको ७० रुपैयाँ उपलब्ध गराउन महामन्त्री थापाले आग्रह गर्नुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसको सहकार्यमा बनेको वर्तमान सरकारमा केही असमानता रहे पनि सरकार परिवर्तन नहुने उल्लेख गर्नुभयो ।
उखुको मूल्य तोक्न ढिलाइ गर्ने, भुक्तानीमा समस्या हुने, अनुदान नपाउनेलगायत किसानसँग जोडिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्न तत्काल छलफलका माध्यमबाट उपाय खोज्नुपर्ने उहाँको भनाइ छ । उखु किसानद्वारा गरिएको आन्दोलनलाई प्रधानमन्त्री र अर्थमन्त्रीले कुनै प्रतिष्ठाको विषय नबनाउने हो आजै समस्या समाधान हुने उहाँले धारणा राख्नुभयो ।
“चालु आर्थिक वर्षमा अनुदानका लागि रु दुई अर्ब बजेट छुट्याइएको छ । कृषकलाई अनुदान उपलब्ध गराउन उक्त रकम छुट्याइएकाले समस्या समाधान गर्न कुनै द्विविधा छैन”, थापाले भन्नुभयो । उहाँले किसानका माग पूरा गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारले छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस