काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालय लगायत अत्यावश्यक सेवा प्रदान गर्ने भवनहरूमा भएको क्षति अहिले राष्ट्रकै चिन्ताको विषय बनेको छ ।
यस्ता संरचनाहरू पुनः सञ्चालनमा ढिला हुँदा जनताको दैनिक जीवन प्रभावित भइरहेका बेला घर निर्माण फाउण्डेशनले राष्ट्रकै पुनर्निर्माणका लागि हात अघि बढाउने घोषणा गरेको छ ।
फाउण्डेशनले स्कील सेवा प्रालीसँगको सहकार्यमा देशभरका क्षतिग्रस्त भवनहरूको मर्मत तथा पुनर्निर्माण गर्ने विशेष अभियान सुरु गर्ने तयारी गरेको छ । फाउण्डेशनले सार्वजनिक अपिल जारी गर्दै भनेको छ, “देशको लागि भत्किएका संरचना पुनः सञ्चालनका लागि हामी गर्छौं ।”
फाउण्डेशनका निर्देशक महेश तिमिल्सिना, सताक्षी मिश्र र प्रशान्त प्रधानको नेतृत्वमा अघि बढ्न लागेको यो परियोजना केवल मर्मतको काम मात्र नभई राष्ट्र पुनःनिर्माणको अभियान भएको बताइएको छ ।
अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालय, एनजीओजस्ता सार्वजनिक सेवामा अत्यावश्यक भवनहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्पूर्ण सीप र जनशक्ति प्रयोग गरिने बताइएको छ ।
निर्देशकहरूले संयुक्त रूपमा बताएका छन्, “हामीसँग यस किसिमको कामका लागि आवश्यक सम्पूर्ण दक्ष जनशक्ति उपलब्ध छ । विद्युतीय मर्मत, प्लम्बिङ, सुरक्षा प्रणाली, ढोका–झ्याल, फर्निचरदेखि लिएर सम्पूर्ण संरचनागत नवीकरणसम्मका काममा हामी सक्षम छौं। हाम्रो उद्देश्य देशलाई सेवा गर्न हाम्रो अनुभव र जनशक्ति प्रयोग गर्नु हो ।”
फाउण्डेशनले हालै क्षतिग्रस्त भएका भवनहरूका सम्बन्धित निकायलाई आफ्नो सहयोगका लागि सम्पर्क गर्न आग्रह गरेको छ । ‘हामीलाई तपाईंहरूको आवश्यकता बताउनुहोस्, हाम्रो टोली निःसंकोच मर्मत तथा मूल्यांकन गर्न तयार छ,’ फाउण्डेशनले जनाएको छ ।
भावुक हुँदै निर्देशकहरूले भनेका छन्, ‘यी भवनहरू केवल इटा र सिमेन्टका संरचना मात्र होइनन्, यी त देशको सेवा, जनताको आशा र विश्वासका प्रतीक हुन् । यिनको पुनःनिर्माण हाम्रो कर्तव्य हो ।’
यो अभियानमार्फत छिटो मूल्यांकन, मर्मत तथा नवीकरणको काम अगाडि बढाइने र जनताको स्वास्थ्य, सुरक्षा तथा प्रशासनिक सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्य राखिएको छ । ‘देशलाई चाहिन्छ छिटो समाधान, हामीसँग छ अनुभव र जनशक्ति — अब समय हो, राष्ट्रका लागि काम गर्ने,’ फाउण्डेशनले थप जोड दिएको छ ।
फाउण्डेशनले यो पहललाई राष्ट्रप्रति समर्पित सेवा भन्दै देशका सबै जिम्मेवार निकायलाई हातेमालो गर्न आह्वान गरेको छ ।
प्रतिकृया दिनुहोस