काठमाडौं । सँधै चाडपर्वको मुखमा भरिभराउ हुने काठमाडौंको पर्यटकीय हब ठमेल केही दिनयता सुनसान छ । कोभिडपछि तग्रिदै गएको पर्यटन आन्दोलनले पुनः प्रभावित भएको छ ।
जसको प्रत्यक्ष मार ठमेलका होटल, लज, रेष्टुरेन्ट, पब, दोहोरी, ट्राभल एजेन्सीदेखि फुटपातका व्यापारीले खेपिरहेका छन् ।
चाडपर्वको मौसम घुमघामका लागि उपयुक्त हुने भएकाले हिमाल चढ्न र ट्रेकिङमा जाने विदेशी पर्यटकहरुका कारण खचाखच हुने गरेको थियो । तर नेपालको अस्थिर राजनीतिका कारण पर्यटकहरुले होटल र ट्रेकिङको बुकिङ समेत क्यान्सिल गर्न थालेको व्यवसायीहरु बताउँछन् ।
केही दिन यता जेन–जी आन्दोलनका नाममा भएको विध्वंशले नेपालको पर्यटन क्षेत्रमा नराम्ररी असर परेको छ । त्यसको मारमा परेको छ ठमेल र दरबारमार्ग क्षेत्र ।
तर ठमेलका व्यापारीहरुका मनमा आज होला कि भोलि होला भन्ने आश मारेका छैनन् । कोभिडपछि व्यापार व्यवसाय फस्टाउनै नसकेको व्यवसाय थोरै राम्रो होला जस्तो थियो तर आन्दोलनका कारण व्यवसाय ओरालो लागेको ठमेलका कपडा पसले जीवन रुवाली बताँउछन् ।
नेपाल न्यूज बैकंसँगको कुराकानीमा उनले आन्दोलनपछि आवातजावतमा कडाइ भएपछि व्यवसाय ठप्प भएको बताए ।
‘३० बर्षको अवधीमा धेरै कठिनाइहरु भोगेका छौं । तर हिम्मत हारेका थिएनौं तर यो चाडपर्वकै मुखमा आन्दोलन हुँदा ठूलो मारमा परेका छौं । कर्फयु लागेपछि व्यापार व्यवसायमा धेरै फरक आएको छ । एक त कोभिडपछि व्यापार फस्टाउनै सकेको थिएन । थोरै राम्रो हुन लागेको मात्र थियो । अहिले फेरि आन्दोलनले नकरात्मक असर पुग्यो,’ उनले भने ।
त्यस्तै उनले नेताहरुका कारण देशमा भ्रष्टाचारले सिमा नाघेका कारणले पनि युवाहरुले युवाहरु आक्रोशित भएर हालको अवस्था सिर्जना भएको उनको बुझाइ छ ।
आन्दोलनका क्रममा सम्पदाहरु, ट्रेकिङ रुटहरु, प्राकृतिक दृश्यहरु जस्ताको त्यस्तै भएकाले फेर व्यवसाय फस्टाउनेमा आफू विश्वस्त रहेको उनले बताए । ‘यतिबेला पर्यटनहरु आउने सिजन सुरु भएको थियो । तर विचैमा आन्दोलन हुँदा असर पुगेको छ ।
हाल ग्राह नभएपनि पसल खोलेर बसेका छौं । यसो गर्नुको उद्देश्य पर्यटकहरुमा गलत सन्देश नजावोस् र चहलपहल बढोस् भन्नका लागि हो,’ उनले भने ।
त्यस्तै अर्का कार्गो व्यवसायी दिनेश आचार्यले माओवादीको द्वन्द्वदेखि नै व्यवसायीहरु मर्कामा परिरहेको बताउँछन् । उनले आज होला भोली होला भन्दाभन्दै दशक वितेपनि व्यवसायमा सुधार नभएको गुनासो गरे ।
‘आज राम्रो होला कि भोलि राम्रो होला भन्दै दशक विताइसकियो । द्वन्द्वदेखि ०७२ सालको भुकम्प त्यसपछि कोभिडका कारण व्यवसाय शिथिल छ । यो आन्दोलनले झनै आक्रान्त पार्यो । देश एकपछि अर्को अन्योलमा फसेको छ ।
एक दिन देशमा शान्ति होला, हामीलाई सहज होला भन्दै विदेश नगई नेपालमै केही गर्नुपर्छ भनेर व्यवसाय सुरु गरेको तर कहिलेपनि सोचेजस्तो भएन् । २५ बर्षदेखि यो व्यवसाय समाल्दै आएपनि कहिल्यै त्यस्ता सुर्वण दिन आएनन्,’उनले भने ।
पर्यटन क्षेत्रमा भर्खरै मात्रमा सिजन सुरु हुन लागेको बेला निषेधाज्ञा भएकाले पर्यटन व्यवसायीलाई कठिनाई भएको बताए ।
प्रतिकृया दिनुहोस