कास्की, २७ भदौ : पोखरा महानगर क्षेत्रभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गरी पोखराको वडा नं १ देखि ३३ वडासम्मका सम्पूर्ण क्षेत्रहरूमा सो आदेश गरिएको जनाएको हो ।
पोखरामा आज बिहानदेखि बेलुकासम्म निषेधाज्ञा जारी गरिएको थियो । वर्तमान अवस्थामा देखिएको घटनाक्रमबाट हुन सक्ने विरोध, प्रदर्शन, तोडफोड, हुलदङ्गाका कारण शान्ति सुव्यवस्थालाई मध्येनजर गर्दै सो आदेश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
आदेश जारी गरिएको सम्पूर्र्ण क्षेत्रहरूमा कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उहाँले जानकारी दिनुभयो । कर्फ्यु का अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ ।
यसैगरी भदौ २८ गते बिहान ५ बजेदेखि बिहान १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ । पोखरामा गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका कारण सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।
यहाँका अधिकांश सरकारी कार्यालयमा आगजनी गरिएको छ । प्रशासनले थप क्षति हुन नदिनका लागि भदौ २४ देखि दिउँसो निषेधाज्ञा तथा रातको समयमा कर्फ्यू लगाउँदै आएको छ ।
---
प्रतिकृया दिनुहोस